‘मैले खोजेको देश’ : संक्षिप्त टिप्पणी
कवि राजेश ढुङ्गानाद्वारा रचना गरिएको ‘मैले खोजेको देश’ कविता संग्रह २०८१ वैशाखमा मीना ढुङ्गानाले प्रकाशनमा ल्याउनुभएको छ । यस कविता संग्रहमा ६९ वटा कवितालाई ११८ पृष्ठमा बिटो कस्ने काम भएको छ । अबि खरेलले नेपालीपन झल्किने आकर्षक आवरण प्रस्तुत गर्नुभएको छ । यस पुस्तकमा हरि अधिकारी र कृष्ण धरावासीको भूमिका, विमल पोख्रेल र प्रमोद प्रधानको कवितासम्बन्धी टिप्पणी रहेको छ । भूमिकाकारहरूले कवि राजेशलाई स्वतन्त्रताप्रेमी, प्रजातन्त्रप्रेमी, राजनीतिकर्मी, पत्रकार र सफल कविका रूपमा परिचय गराउने काम गर्नुभएको छ ।
राजेशको यो कविता संग्रह अघिल्लो ‘सुकिला मान्छेको सामूहिक मृत्यु’ कविता संंग्रहकै जुम्ल्याहा भाइका रूपमा आएको छ । भाषा, भावशैली, शिल्प र विषय सबै उस्तै–उस्तै लाग्छन् । पछिल्लो संग्रहमा विम्ब, प्रतीक, कलात्मकता, सूच्य प्रस्तुति अझै निखारिएर तिखारिएर आएको छ; काव्यात्मक उचाइ पनि अग्लिँदै गएको छ ।
स्वतन्त्रताका निम्ति बम बन्दुक होइन, आवाज र हात उठ्नुपर्छ भन्ने राजेशका प्रायःजसो कवितामा देशको विकृत राजनीतिको पानीछाप देख्न सकिन्छ । राजनीतिकको लीला चर्तिकला कपट बेइमानी स्वार्थबाट वाक्कदिक्क भएर पत्रकारितातिर र त्यहाँको पनि झोले धुपौरे प्रवृत्ति बुझेपछि कवितातर्फ लहसिएका कवि राजेशका कवितामा मन–मुटुका कुरा आएका छन् ।
यस संग्रहभित्रका केही दुई–चार कविता अमूर्त र मनोगत जस्ता लागे पनि प्रायः सबै कविताहरूमा विद्रोह र चेतावनीको स्वर उर्लिएको छ । कवि भन्छन्– देशले हारिसक्यो, अब हार्न केही बाँकी छैन । तर हारेकाहरू सबै उठेर आए भने तिमी रहने छैनौ भनेर राजनीतिक नेतृत्वतर्फ कटाक्ष गरिएको छ ।
राजनीतिका तन्त्रै तन्त्रको खात लगाइसक्ता पनि, पुस्तौँ पुस्तासम्म राजनीतिक लडाइँ लड्दा पनि भ्रष्ट चंखे, चतुरे, तिघ्रे र पाखुरेहरूकै मात्र दश औँला घिउमा चोबियो । जनताले बाँच्नु भनेको नमर्नु मात्रै होइन, केही गर्नु र हुनु हो भन्ने जस्ता विचार कवितामा आएका छन् । हत्या–हिंसाबाट उम्रिएको राजनीतिमा सुख, शान्ति र समृद्धिको फल नलाग्ने भयो । राजनीति जुवातास जस्तै भयो; जहाँ बेइमानी, ठगी, लुट–झुट र अनैतिकता स्वाभाविक हुन्छ भनेर कवितामा व्यङ्ग्यको बन्चरो बजारिएको छ ।
राजेशको यो कविता संग्रह अघिल्लो ‘सुकिला मान्छेको सामूहिक मृत्यु’ कविता संंग्रहकै जुम्ल्याहा भाइका रूपमा आएको छ । पछिल्लो संग्रहमा विम्ब, प्रतीक, कलात्मकता, सूच्य प्रस्तुति अझै निखारिएर तिखारिएर आएको छ; काव्यात्मक उचाइ पनि अग्लिँदै गएको छ ।
विभिन्न देशको आन्तरिक मामलामा सियो बनेर छिर्ने, लडाइँ झगडाको बिउ रोप्ने अनि मुसल बनेर निस्कने प्रवृत्ति भएका बम–बारुद र हातहतियार बेचेर खाइजिओ गर्ने देशहरूप्रति रोष प्रकट गर्दै तिनलाई मान्छे बन्न सिक भनेर व्यङ्ग्य प्रक्षेपण गरिएको छ ।
हामी आफूलाई बहादुर भनेर आफैँलाई ढाँटिरहेका छौँ । बरु दुनियाँले पूजा गरेको देखेर ढुङ्गो लजाउला, तर हामी जति नै पछारिए पनि कहिल्यै चेतेनौँ । यति विघ्न विसंगति, विकृति र अन्याय भइरहँदा पनि विद्रोह वा संघर्ष गर्न नसक्ने हामी कतै वीर्यहीन भालेको डिम्बहीन पोथीबाट जन्मेको अप्राकृतिक नक्कली मान्छे त होइनौँ भनेर सन्देह प्रकट गर्दै निदाएकाहरूलाई सचेतनाको चाबुक लाउने काम कविले गरेका छन् । यो समय जिउँदै मरेको समय हो । स्याल सिंहासनमा बसेर गर्जिएको समय हो भन्ने कविको विचार छ । प्रत्येक निर्वाचनमा मतदान गरेर भ्रष्टहरूलाई बढावा दिएकामा कविले खेद प्रकट गरेका छन्– जनता र मतदातासँग पनि ।
कवितामा कतै किसानका कथा–व्यथा र उनीहरूमाथि भएका अन्याय शोषणका कुरा छन् । कहीँ द्रव्य पिसाचहरूले कृषकको अनुदान नै छिनेका र लुटेका विडम्बनाका कुरा छन् । निर्लज्ज लुटेरा राजनीतिक नेतृत्वप्रति कवि गम्भीर बनेका छन् । लुटेर उरुङ लगाएको सम्पत्ति भूकम्प आयो भने के गर्छौं भनेर लुटेराहरूलाई प्रश्न पनि गरेका छन् ।
अहिले शब्दहरूले अर्थ धान्न सकिरहेका छैनन् । मन्त्री, माननीय, सम्माननीय शब्दहरू भुसजस्तै हलुका र सस्ता भएका छन् । राजनीति, नेताजस्ता शब्दको कोशीय अर्थ उभिण्डिएको छ । उन्मुक्ति, शान्ति, उज्यालो, सुरक्षा, सम्पन्नता, स्वतन्त्रता, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र हामीले खोजेको थियो, तर यो त भष्मासुर बनेर अर्थाेकै के आयो भन्ने कविको विचार कवितामा आएको छ । मात सकिएको रक्सी पिएजस्तो भयो, आजको मान्छे लासभन्दा धेरै मरेको छ, अन्यायले न्यायलाई अझै डढाएर निर्मला पन्तहरूलाई खरानी बनाइसक्ता पनि जिउँदा लासहरू अझै नचटपटाएको देख्ता कविलाई उदेक लागेको छ ।
प्रायःजसो कविताहरूमा मातृभूमि, राष्ट्रियता, स्वाभिमान र स्वतन्त्रताको वकालत कविले गरेका छन् । नेपाली आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, शैक्षिक, प्रशासनिक आदि पक्षलाई राजनीतिक ज्वालामुखीको लाभाले डढाउँदै र छोप्दै लगेकोप्रति कविले चिन्ता प्रकट गरेका छन् । अब चाँडै नयाँ युग जन्मिनेछ भन्ने कुरामा कविले आशा र विश्वास लिएका छन् ।
कवि राजेश भावनामा पौडिन–तैरिन राम्ररी जान्दछन्— आमा बिहान–बेलुका पूजा गर्दा आफ्नो कुहेको फोक्सो, बाथ वा दम ठिक होस् भनेर वरदान माग्नुको सट्टा सन्तानको दीर्घजीवन माग्छिन् । सन्तान बाँचे उनी त्यसै बाँच्छिन्, उनको एक मुठी सास सन्तानको हो भनेर आमाको असीम स्नेहपूर्ण भावनाप्रति कवि श्रद्धावनत् हुन्छन् ।
सालीन व्यङ्ग्य विद्रोह, नवीन प्रस्तुति, विम्ब प्रतीकको मनग्ने प्रयोग, प्रतीकात्मकता, परम्पराभन्दा नयाँ नौलो प्रस्तुति, विषयमा बलियो पकड, भाँती परेका कविता कतै–कतै उक्ति वैचित्र्य, भावनाको गहिराइ र यथार्थ जीवन भोगाइको सुन्दर अन्तरलयात्मक अभिव्यक्ति नै यस कविता संग्रहका विशेषता हुन् ।
(त्रिविका निवृत्त सह–प्राध्यापक वशिष्ठ कुशल समीक्षक हुन् । हास्यव्यङ्ग्य र संस्मरण गरी उनका तीनवटा कृति प्रकाशित छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता
-
जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग कुरा गरेको थिएँ : रवि लामिछाने
-
फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन
-
आत्मानन्द गोल्डकप : सिरिजङ्घाको विजयी सुरुवात
-
‘नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्छ’