बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
विचार

एमालेका नेता–कार्यकर्ताले गर्नुपर्ने २३ काम

शनिबार, १९ साउन २०८१, १३ : ३८
शनिबार, १९ साउन २०८१

नेकपा एमालेको नेतृत्वमा कांग्रेससँगको सहकार्यमा गठबन्धन सरकार बनेको छ । झट्ट हेर्दा यो सरकार अस्वाभाविक र अप्राकृतिक लाग्न सक्छ । फरक विचार, रणनीति, कार्यनीति र कार्यदिशा बोकेको तीव्र प्रतिस्पर्धी एमाले वा कांग्रेसको सरकार बन्नु अचम्म मान्नुपर्ने विषष छ, तर अहिलेको वास्तविकता यही हो । 

यो सरकार बन्नुमा यी दुई दलको चाहनाभन्दा पनि राष्ट्रिय एजेन्डा र आवश्यकताले काम गरेको छ । राजनीतिक अस्थिरता, वैदेशिक हस्तक्षेप, भ्रष्टाचार, कुशासन, भूराजनीतिक जटिलता, साना राजनीतिक दलहरूको अस्वाभाविक बार्गेनिङ र चलखेलले राष्ट्रको मुद्दा ओझेल पर्ने अवस्था रह्यो । संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक प्रजातान्त्रिक पद्धतिको रक्षा गर्न, विकास गर्न, सरकार सञ्चालनलाई सुदृढीकरण गर्न र राजनीतिक स्थायित्वका लागि दुई ठुला राजनीतिक दलहरूले मिलेर सरकार बनाउनुपर्ने बाध्यात्मक अवस्था देखिएको हो । यसका लागि संविधान संशोधनको मुद्दालाई पनि आत्मासात् गर्नुपरेको छ ।  

यो बेला सरकारसँग नेपाली जनताको अपेक्षा बढेका छन् । जनताको अपेक्षा पूरा गर्न नसके सरकार बनाउने औचित्य र प्रयोग भएका सबै अभ्यास असफल देखिने खतरा छ । अब यो सरकारलाई असफल हुने छुट छैन । 

त्यसैले जनताको निम्न अपेक्षा सम्बोधन जरुरी छ :

१) खस्कँदो अर्थतन्त्रलाई सुधार गर्नेदेखि राजनीतिप्रति निराश बन्दै गएका जनताको आशा र चाहनालाई सम्बोधन गरी परिणामुखी नतिजा दिनुपर्नेछ । 

२) शिथिल कूटनीतिक क्षेत्रलाई प्रभावकारी रूपमा परिचालन गरी छिमेक सम्बन्धमा सन्तुलन कायम गरी हाम्रो पालामा जारी गरेको चुच्चे नक्साले समेटेको भू–भाग (लिपुलेक, कालापानी, लिम्पियाधुरासहित) फिर्ता गर्न पहल कदमी गर्नुपर्नेछ  । 

३) प्रबुद्ध समूहले तयार पारेको ईपीजी प्रतिवेदन भारतले बुझ्न मानेको छैन, बुझाउने प्रक्रिया थाल्नुपर्नेछ । 

४) चीनसँग भएको बीआरआई सम्झौता कार्यान्वयन गर्न कार्यान्वयन सम्झौता गरिनुपर्छ ।

५) भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गर्दै सुशासन स्थापित गर्नुपर्छ । 

६) विगतमा थालेका विकास योजनाको कार्यान्वयन गर्दै जानुपर्छ । 

७) आर्थिक विकासमार्फत रोजगारी सिर्जना गरी गरिबी निवारण गर्नुपर्छ । 

८) समग्रतामा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नुपर्छ । यसका लागि सत्ता समीकरणमा संलग्न दलहरूसँग समन्वय, संवाद र सहकार्यलाई निरन्तर गर्दै सन्तुलन बनाइराख्नुपर्नेछ । 

एमालेको ध्येय

नेकपा एमालेको ध्येय जनताका उपर्युक्त अपेक्षा र मुद्दाको सम्बोधनले मात्र पूरा हुँदैन । पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्नेछ । यसका लागि संगठन शुद्धीकरण मुख्य आवश्यकता हो । २०८४ को निर्वाचनमा एकल बहुमतको सरकार निर्माण गरी संविधानतः जनताको राष्ट्रिय आकांक्षा विकास र समृद्धिको अभियानअघि बढाउनुपर्नेछ । 

पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनको राजनीतिक कार्यदिशा  पूरा गर्नुछ । यसका लागि पार्टी कार्यकर्तामा देखिएका केही प्रवृत्तिगत कमजोरी हटाउन आवश्यक छ । पार्टीमा अहिले विभिन्न कमिटीमा बस्न मरिहत्ते गर्ने, कमिटी बैठकमा उपस्थिति जनाउने र सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रवृत्ति बढेको छ । 

पार्टी सदस्यता मुस्किलले नवीकरण गर्ने र नेताहरूलाई खुइल्याउने कार्यकर्ताको जमात बढ्दै गएको छ । पठन संस्कृतिको अभाव छ । ‘लाइक माइन्डेड’का नाममा खानपिनको आवारा संस्कृति बढेको छ । व्यक्ति विशेषलाई धुरी मानी चल्ने र पार्टीको निर्देशन नमान्ने प्रवृत्ति बढेको छ । 

गणितीय कार्य सम्पादन गर्ने ‘एस’ म्यानको कमिटी बनाउने र कमिटी जितेको गर्व गर्ने तरिकाले आजको राजनीतिक चुनौतीको सम्बोधन हुँदैन । प्रतिद्वन्द्वीलाई पराजित गरी श्रेष्ठता हासिल गर्नु आजको राजनीतिक कार्यभार हो । त्यसैले पार्टी कार्यकर्ता एमालेको र पार्टीको हुनु जरुरी छ । कमिटी पार्टीको हुनुपर्दछ । अराजक, पतनमुखी संस्कृति र दक्षिणपन्थी विसर्जनवादको सोच बोकेर व्यक्तिवादको जामा पहिरेर एमालेको राजनीतिक कार्यदिशा पूरा गर्न सकिँदैन । यसरी एमाले निर्णायक राष्ट्रिय शक्ति बन्दैन, पार्टी र कार्यकर्ता क्रान्तिकारी हुन सक्दैन । 

शुद्घ चित्त भएका अनुशासित क्रान्तिकारीहरुको पार्टी कमिटीले मात्र निर्धारण गरेको पार्टीको लक्ष्य भेट्न सक्छ । नेता तथा कार्यकर्ताले पार्टीको कामको महत्त्व बुझेर अगाडि बढ्नुपर्छ । 

हामीसँग सही नीति, नेतृत्व, कार्यक्रम, संगठन र सही संगठानात्मक सिद्धान्त छ, तर पनि किन पार्टीले लक्ष्य भेटाउन सकेको छैन ? हामीसँग लाखौँ पार्टी सदस्य र विशाल कार्यकर्ता पंक्ति छ, तर पनि हामीले पार्टीको ध्येय र उद्देश्य पूरा गर्न किन सकेनौँ ? किनभने हामीले निष्ठा, इमानदारिता र अनुशासनले पूर्ण कार्यकर्ता पंक्ति निर्माण गर्न सकेनौँ । कार्यकर्तालाई पार्टीको काम के हो भन्ने बुझाउन सकेनौँ । 

पार्टी कार्यकर्ताले पार्टीको काम भनेको कमिटीको पद धारण, नेतृत्वको सामीप्यता, कृत्रिम प्रतिवेदन र आशीर्वाद नै हो भन्ने बुझाइ राखेका छन् । केन्द्रीय पार्टी कार्यालय घुम्ने, नेतासँग फोटो खिच्ने र सामाजिक पोस्ट गर्ने— यसरी नै पार्टीमा प्रमोसन पाउन सकिन्छ भन्ने गलत बुझाइले प्रश्रय पाएको छ । जस कारण इमानदार पार्टी कार्यकर्ता कामबाट विमुख हुने स्थिति बनेको छ । नयाँ कार्यकर्ताले पार्टीको कामको महत्त्व फरक ढंगले बुझ्न पाएका छैनन् र पार्टीको काम ठिक ढंगले भएका छैनन् । त्यसैले यहाँ पार्टीका हरेक नेता तथा कार्यकर्ताले निष्ठा र इमानका साथ पार्टी र सांगठनिक जीवनमा सम्पादन गर्नुपर्ने कामलाई निम्नानुसार २३ बँुद्धामा चर्चा गर्ने प्रयास गरिएको छ ।

१) राजनीतिक काम 

लोकतान्त्रिक प्रतिस्पर्धाबाट विपक्षलाई पराजित गरी श्रेष्ठता कायम गर्ने नीति बोकेको पार्टीले सबै नीतिको मूल नीति राजनीति हो भन्ने मान्यतालाई आत्मसात् गर्नुपर्छ । निर्वाचनबाट जनताको साथ लिएर सरकार निर्माण गरी विकास र समृद्धिको मूल मार्गमा अगाडि बढ्ने  हो । कार्यनीतिका आधारमा निर्वाचन वर्ग संघर्षको मोर्चा हो, यसमा हार्नु हँुदैन । त्यसैले पार्टीका हरेक नेता–कार्यकर्ताले राजनीतिक कामलाई वर्गीय आन्दोलनका रूपमा बुझी लडाइँमा सधैँ जित्न तयारी हुनुपर्छ । सधैँ सक्रिय, सक्षम र लगनशील क्रियाशील हुनुपर्छ ।

२) वैचारिक क्षमता 

राजनीतिमा दर्शन, विचार र वर्ग पक्षधरता महत्त्वपूर्ण पक्ष हो । राजनीतिक दलका हरेक नेता तथा कार्यकर्तामा स्पष्ट विचारका लागि प्रशिक्षण आवश्यक हुन्छ । त्यही विचारले राजनीतिलाई निर्देशित गर्नुपर्छ । 

एमालेका नेता तथा कार्यकर्ताले वैचारिक रूपमा माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद (जबज)को मार्गदर्शनलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्छ । विचारको प्रस्टताले नै सबै खाले अराजकता र दक्षिणपन्थी अवसरवादलाई पराजित गर्न सक्छ ।

३) संगठनको काम

नेकपा एमाले लेनिनवादी संगठनात्मक सिद्धान्तलाई पालन गर्ने पार्टी हो, जनआधारित कार्यकर्ता पार्टी हो । यस पार्टीले कमिटी प्रणालीलाई व्यवस्थित गर्दै संगठनको कामलाई महत्त्वपूर्ण रूपमा अघि बढाउनुपर्छ । कमिटीहरू दुरुस्त राख्ने, नियमित मिटिङ, सदस्यता विस्तार गर्ने, नवीकरण गर्ने र प्रशिक्षण गर्ने कामलाई निरन्तरता दिनुपर्छ । यस्तै अभिलेख राख्नेजस्ता काम महत्त्वपूर्ण ढंगले सम्पादन गर्नुपर्छ ।

४) आर्थिक काम 

कमिटीलाई परिचालन गर्न र विभिन्न सामाजिक, वैचारिक र राजनीतिक अभियान अघि बढाउन पार्टी कमिटीहरूलाई आर्थिक रूपमा बलियो बनाउन आवश्यक हुन्छ । त्यसका लागि लेबीको व्यवस्थापन, सदस्यता शुल्कको नियमितता, आर्थिक हिसाब–किताबको चुस्तता  हुनुपर्छ । आवधिक लेखापरीक्षण गरी आर्थिक पारदर्शिता कायम राख्नुपर्छ ।

५) पार्टी प्रचारको काम 

पार्टी कामको महत्त्वपूर्ण अंग पार्टी प्रचार हो । सूचनाको युगमा प्रचारका सबै माध्यम डिजिटल लगायत सामाजिक सञ्जालको प्रयोगमा पार्टी कार्यकर्ता चनाखो र सिपालु हुनुपर्छ । 

कमिटीका निर्णयहरू सदस्यहरूमा पुर्‍याउन सूचना आदान–प्रदानको ज्यादै महत्त्व छ । त्यसका लागि प्रचारको काम महत्त्वपूर्ण हुन्छ । त्यसैले हरेक कमिटी र सदस्यले प्रचारको कामलाई व्यवस्थित र नियमित ढङ्गले अघि बढाउनुपर्छ । सामाजिक सञ्जालको प्रयोग गलत ढंगले हुने वर्तमान परिपाटीबाट पार्टी पंक्ति बच्नुपर्छ ।

६) कार्यालय सञ्चालन 

पार्टी गतिविधिलाई नियमित, संस्थागत र व्यवस्थित गर्न कार्यालयको संरचना तथा व्यवस्थापन महत्त्वपूर्ण हुन्छ । त्यसैले हरेक कमिटीले पार्टी कार्यालयको व्यवस्था गरी सञ्चालनलाई चुस्त र नियमित गर्नुपर्छ । सबै काम कार्यालयमार्फत चलाउनुपर्छ ।

७) निर्वाचित जनप्रतिनिधि परिचालन 

राजनीतिक कार्यदिशा पूरा गर्ने माध्यम निर्वाचित जनप्रतिनिधि हुन् । तिनै तहका जनप्रतिनिधि परिचालन पार्टीको सबैभन्दा महत्त्वपूर्ण काम हो । नागरिकको सेवा–सुविधा सुशासन कायम गर्ने काम जनप्रतिनिधिको हो । यो काम पार्टी कमिटीले गर्न सक्दैन । त्यसका लागि पार्टीको घोषणापत्र, मूलभूत सिद्धान्त र कार्ययोजनाको कार्यान्वयन पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिले गर्नुपर्छ । जनप्रतिनिधि पार्टी कार्यकर्ता हुन् भन्ने कुरा बिर्सनु हँुदैन । यसै आधारमा पार्टी र जनप्रतिनिधि परिचालित हुनुपर्छ ।

८) जनसंगठन परिचालन 

एमालेका कार्यकर्ता र सदस्यको मुहान भनेकै जनसंगठन हुन् । शक्तिको रूपमा विद्यार्थी, युवा, मजदुर, राष्ट्रसेवक, व्यवसायी, किसान, महिला, जनजाति, दलित लगायत सबै वर्ग, पेसा र तहको २३ जनसंगठन रहेका छन् । ती जनसंगठनलाई मूल नीति र उद्देश्य अनुसार परिचालन गर्नुपर्छ । समुदायलाई जनसंगठनमा आबद्ध गरी जनसरोकारका मुद्दा उठाई जनदबाब र जन संघर्षका लागि परिचालित गर्नुपर्छ ।

९) जनसरोकारका मुद्दा उठाउने 

पार्टी सरकारमा रहँदा होस् वा प्रतिपक्षमा रहँदा, हरेक अवस्थामा जनसरोकारका विभिन्न विषयलाई प्राथमिकताका साथ उठाउने र त्यस्ता विषयको समाधानका लागि पार्टीका नेता–कार्यकर्ताले नेतृत्वदायी भूमिका निर्वाह गर्न आवश्यक हुन्छ । सरकारमा हँुदा घोषणापत्रको कार्यान्वयन र विपक्षमा हँुदा जनदबाब र जनसंघर्ष गरी जनताका माग सम्बोधन गर्न परिचालित हुनुपर्छ ।

१०) विकास र समृद्धिको अभियान 

नागरिकको सम्पन्नताका लागि विकास र समृद्धि नै अहिलेको आवश्यकता हो । त्यसैले पार्टीका हरेक नेता–कार्यकर्ताले विकास र समृद्धिको अभियानमा नेतृत्व गर्ने, अभियान सञ्चालन गर्ने र अभियानमा सहभागी हुने कुरालाई प्राथमिकता दिनुपर्छ । जनताका विकासका मुद्दा उठाउन र समाधानका लागि निरन्तर लाग्नुपर्छ ।

११) उद्यमशीलताको अभियान 

मुलुकको विकास र आर्थिक वृद्धि लागि ठुला तथा साना उद्योगहरूको स्थापना, सञ्चालन र व्यवस्थापन महत्त्वपूर्ण हुन्छ । स्वाधीन आत्मनिर्भर अर्थतन्त्र निर्माण आजको चुनौती हो । त्यसैले पार्टीका हरेक नेता–कार्यकर्ता उद्यमशीलताको अभियानमा सक्रिय बन्नुपर्छ, उद्यमी बन्नुपर्छ । सबै नेता तथा कार्यकर्ताले नेपाली कानुनको अधीनमा रही चाहेको उद्योग सञ्चालन गर्न सक्छन् । उद्यमी र उद्योग स्थापना गरे मात्रै राष्ट्रिय पँुजीको विकास हुन्छ । व्यक्ति, परिवार र समाजको सम्पन्नताका लागि उद्यमशीलता प्रमुख भएकाले उद्यमशीलतामा कार्यकर्ता परिचालित हुनु र गर्नुपर्छ ।

१२) जनपरिचालन, जनदबाब र संघर्ष

कम्युनिस्ट पार्टी, नेता र कार्यकर्ताले विभिन्न स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा जन–सङ्घर्ष सञ्चालन गर्नुपर्छ । आज पार्टी पंक्ति जनदबाब र जनसंघर्षबाट विमुख हुने स्थिति आएको छ । कार्यकर्ता कतिपय अवस्थामा पराधीन, आश्रित र पलायन हुन स्थिति भएको छ । त्यसैले समृद्धि, नागरिकको सुरक्षा र समुन्नतिका लागि जनपरिचालन, जनदबाब तथा संघर्ष आवश्यक हुन्छ । यसका लागि समेत तयार रहनुपर्छ, त्यसको नेतृत्व गर्न पार्टी हरदम तयारी अवस्था रहनुपर्छ ।

१३) आत्मनिर्भर र स्वाभिमानी कार्यकर्ता निर्माण 

पार्टी अनुशासन र सक्रियताका लागि हरेक कार्यकर्ता आत्मनिर्भर र स्वाभिमानी हुन जरुरी छ । त्यसैले पार्टीका नेता आफू पनि आत्मनिर्भर र स्वाभिमानी बन्नुपर्छ । कार्यकर्तालाई आत्मनिर्भर र स्वाभिमानी बनाउन नेताले सहयोग तथा सहकार्य गर्नुपर्छ ।

१४) परिवारको व्यवस्थापन 

पार्टी कमिटीको चुस्तता र संगठन निर्माण अभियानमा निरन्तर लाग्न कार्यकर्ता सबै समस्या र झन्झटबाट मुक्त हुनुपर्छ । त्यसैका आधारमा नेता–कार्यकर्ताको सक्रियता बढ्छ । सहजै महत्त्वपूर्ण काम सम्पादन हुन्छ । हरेक नेता–कार्यकर्ता सक्रिय हुन पहिले उसले परिवारको व्यवस्थापन गर्न सक्नुपर्छ । त्यसैले हरेक कार्यकर्तालाई परिवार व्यवस्थापनका लागि आवश्यक मार्गदर्शन र सहयोग गर्नुपर्छ ।

१५) सुशासन र भ्रष्टाचार विरुद्धको संघर्ष 

व्यक्तिगत, सामाजिक र राजनीतिक जीवनमा हरेक पार्टी कार्यकर्ताको आर्थिक अनुशासन सबैभन्दा महत्त्वपूर्ण हुन्छ । आफ्नो आार्थिक जीवन स्वच्छ र नैतिकवान् बनाई पार्टीका हरेक नेता–कार्यकर्ताले सुशासन र भ्रष्टाचारविरुद्ध संघर्ष गर्न जरुरी हुन्छ । 

१६) अनुशासन पालना 

व्यक्तिगत सफलताका लागि अनुशासन महत्त्वपूर्ण हुन्छ । व्यक्तिको सफलतामा पार्टीको सफलता जोडिएको हुन्छ । त्यसैले हरेक कार्यकर्ताले अनुशासन पालना गर्नु जरुरी हुन्छ । पार्टी जीवनमा पार्टी अनुशासनको ज्यादै महत्त्व छ । कार्यकर्ताले उच्च कम्युनिस्ट अनुशासन, आचरण र उच्च नैतिकताको पालना गर्नुपर्छ ।

१७) द्वन्द्व समाधान 

पार्टी भित्र–बाहिर, समुदाय र समाजमा विभिन्न विषयमा अन्तर्विरोध र द्वन्द्व भइरहन्छन् । एउटा कुशल नेता–कार्यकर्ताले उत्पन्न द्वन्द्वको व्यवस्थापन गर्न सक्षम हुनुपर्छ । आफ्नो कारण अन्तर्विरोध सिर्जना नहोस् र अन्यत्रबाट उत्पन्न अन्तर्विरोध हल गर्न सक्षम हुनु सफल नेताको गुण हो ।

१८) निर्देशन पालना गर्नु/गराउनु

पार्टी जीवनमा उपल्लो कमिटी र नेताबाट प्राप्त हुने निर्देशन पालना गर्ने र तल्लो कमिटी तथा आफूमातहत कार्यकर्तालाई निर्देशन पालना गराउन नेता सिपालु हुनुपर्छ । 

१९) सामुदायिक, सामाजिक र सांस्कृतिक कार्यमा सहभागी 

पार्टीका हरेक नेता–कार्यकर्ता पार्टी संगठनको काममा मात्र नभई हरेक सामाजिक, सामुदायिक र सांस्कृतिक अभियानमा समेत सहभागी हुनुपर्छ । यसले पार्टीको सफलतामा सहयोग पुग्नेछ । 

२०) अनुगमन 

हरेक नेता–कार्यकर्ताले व्यक्तिगत, सामूहिक र पार्टीगत रूपमा गरेका निर्णय कार्यान्वयनको अवस्था, कामहरूको नतिजा र कमी–कमजोरी जान्नका लागि त्यस्ता कामको नियमित अनुगमन र मूल्यांकन जरुरी हुन्छ । कामका आधारमा कार्यकर्ताको मूल्यांकन गर्ने परिपाटी सुरुवात गर्नुपर्छ । जसबाट कार्यकर्ता नेता र नेतृत्वमुखी हुने परिपाटीको अन्त्य हुन्छ । पार्टीभित्र कमिटीगत मूल्यांकन प्रणाली विकास हुन्छ । आजको आवश्यकता पनि यही हो ।

२१) निर्णायक राष्ट्रिय शक्ति निर्माण 

मुलुकको समृद्धि र नागरिकको समुन्नतिका लागि एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनैपर्छ, यसकै लागि आम नेता–कार्यकर्ताको सक्रियता आवश्यक हुन्छ । कम्युनिस्ट पार्टीका लागि राष्ट्रिय शक्ति भनेका श्रमजीवी वर्ग हुन् । निम्न पुँजीपति वर्ग र राष्ट्रिय पँुजीपति वर्गको सहयोग तथा समर्थनमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तपण गर्नुपर्छ । यसका लागि हाम्रो नेतृत्वदायी भूमिका आवश्यक छ ।

२२) आलोचना र आत्मालोचना 

कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताको एउटा महत्त्वपूर्ण काम र विशेषता भनेको कमिटीभित्र आलोचना र आत्मालोचना पद्धतिको विकास गर्नु हो । काम गर्ने क्रममा कमी–कमजोरी हुन सक्छ, यस्तो अवस्थामा हरेक नेता–कार्यकर्ताले आलोचना र आत्मालोचनालाई चेतनाको मूल विषय मानेर अगाडि बढ्नुपर्छ । कतिपय समयमा स्वआलोचनाको पद्धतिलाई पार्टी कमिटीभित्र स्थापित गर्न सक्नुपर्छ । जसका कारण पार्टीभित्र र बाहिर गलत संस्कारको अन्त्य हुन्छ । पार्टी कञ्चन र निर्मल हुन्छ ।

२३) निर्वाचन जिताउनु

जनवादी व्यवस्थाको सुदृढीकरण, राष्ट्रिय पुँजीको निर्माण र समाजवादको निर्माण गर्ने नीति भनेको निर्वाचन जित्नु र जिताउनु हो । संसदीय राजनीतिक पद्धतिमा निर्वाचन महत्त्वपूर्ण हुुन्छ । निर्वाचनमा बहुमत ल्याएर स्थानीय, प्रदेश र संघीय सरकारमा रहन सके मात्र नागरिकको पक्षमा काम गर्न सकिन्छ । त्यसैले पार्टीलाई हरेक मोर्चामा निर्वाचित गराउन पार्टीका नेता–कार्यकर्ता सक्रिय बन्नुपर्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले हरेकपटक जनपक्षीय काम गरेको छ र योपटक पनि त्यसको निरन्तरता देखिन्छ, तर पार्टीको एकल बहुमतको सरकार नभएकाले सबै कुरा पूरा गर्न सकिने अवस्था हँुदैन । त्यसैले उल्लिखित २३ बुँदे विषय अवलम्बन गर्न सबै नेता–कार्यकर्ताले सतर्कता, सजगता र सक्रियतापूर्वक प्रण गर्न आवश्यक छ । 

(लेखक नेकपा एमालेको पोलिटब्युरो सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आनन्दप्रसाद पोखरेल
आनन्दप्रसाद पोखरेल
लेखकबाट थप