बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
संगीत–बहस

तीज गीतमा विकृति : दोषी सर्जक, गायक गायिका कि भिडियो कलाकार ?

शनिबार, १९ साउन २०८१, १३ : १२
शनिबार, १९ साउन २०८१

काठमाडौँ । यति बेला तिजलाई लक्षित गर्दै बजारमा थुप्रै गीत भित्रिएका छन् । तर, कतिपय गीतले मौलिक परम्परामाथि प्रहार गरेको र धर्म, संस्कृति र सिङ्गो सङ्गीत क्षेत्रलाई विकृत तुल्याएको भन्दै आलोचना भइरहेको छ ।

‘दिउँला बरिलै’, ‘मादलु घन्काउँदै’, ‘टिकटकमा भाइरल हल्लाएरै’, ‘बिस्तराले पोल्यो’, ‘चियर्स बियर’ लगायत बोलका ५ तिज गीतको पछिल्लो व्यापक आलोचना समेत भएको छ । केही दिनअघि राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले यी गीतमाथि प्रतिबन्ध नै लगायो । लोक सञ्चारकर्मीको कदमलाई समर्थन गर्दै लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल म्युजिक भिडियो निर्देशक समाज लगायत केही संघसंस्थाले समेत विज्ञप्ति जारी गरेका छन् ।

माथि उल्लेख गीत मात्र होइन, पछिल्लो समय बजारमा ‘पोहरदेखि बाझो छ खेत’, ‘सिमिबोडी लौका र चिचिन्डा’, ‘कामी दाइको कस्तो छ घन ठोकाइ’, ‘बुढो विदेश गयो भनि फुइलाउँछे’, ‘मायाको पोको चोखो छ चोखो’, ‘बिहे अगाडि मत दिन्न बरी लै’, ‘बरी लै हल्लाउन मन लाउँछ’, ‘लाजले छोपेको’, ‘हल्लाएरै हो’ लगायत थुप्रै गीत भित्रिएका छन् । जसमा ‘अपाच्य’ र ‘दोहोरो अर्थ’ लाग्ने शब्दहरू प्रयोग भएकोले आलोचना हुँदै आएको छन् ।

1

गीत मात्र होइन, कतिपय गीतमा बनेका भिडियोहरू पनि विकृतिले भरिएका छन्, जसको चर्को आलोचना भइरहेको छ । कतिपयले त समाजमा विकृति फैल्याउने गीतसङ्गीत र भिडियोसँग सम्बन्धित व्यक्तिहरूलाई कारबाही गर्दै युट्युबबाटै हटाउनुपर्ने आवाज उठाएका छन् ।

बजारमा आएका विवादित तिज गीत गाउने गायिकामा प्रीति आले, शान्तीश्री परियारलगायत लोक तथा दोहोरी गीत प्रतिष्ठानका सदस्यका पनि छन् । प्रतिष्ठानले विकृति र विसङ्गति न्यूनीकरणका निम्ति लामो समयदेखि अभियान नै चलाउँदै आएको छ । तर उसकै सदस्य विकृति र विसङ्गतिबाट टाढा छैनन् ।

shiva-hamal

प्रतिष्ठानका सदस्य हुन् वा बाहिरका व्यक्ति, विकृति भित्र्याउने अब कसैलाई नछोडिने लोक तथा दोहोरी गीत प्रतिष्ठान लागेको महासचिव शिव हमाल बताउँछन् । यस्तो क्रियाकलाप उद्दण्डता मात्र नभएर कानुनी अपराधसमेत भएको उनको भनाई छ । ‘यस विषयमा अब धेरै बोल्ने भन्दा पनि प्रशासनको सहयोगमा एक्सन गर्ने हो’, हमालले भने ‘यो विषय अत्यन्त जटिल बन्दै गएको छ ।’

हमालको बुझाइमा विकृत गीतसङ्गीत भित्रिनुमा पहिलो हात गीतको सिर्जना (लेखन) गर्ने स्रष्टा र सर्जकको हुन्छ । त्यसपछि  मिडिया तथा दर्शक पनि दोषी हुन् ।

‘स्रष्टा सर्जकले आफ्नो मर्यादा नाघ्दा, सामाजिक बेइज्जतको ख्याल नगरी पैसामुखी भएर शब्द कोर्दा गीत विकृतिले भरिएको छ’, हमाल भन्छन्, ‘मिडियाले पनि त्यस्तैको चर्चा गर्ने र दर्शक चर्चाको पछि लाग्नाले यस्ता गीत बढेका हुन् ।’

‘सबैबाट प्राथमिकता पाउने भएपछि स्रष्टा, सर्जकमा पहिला विवादित शब्द र भिडियो राखेर गीत चलाइहालौँ, विरोध भए हटाउँला, त्यति बेलासम्म युट्युबबाट पैसा आइसक्छ भन्ने मनोविज्ञानले जरो गाडेको छ,’ हमाल थप्छन्, ‘यसले गर्दा राम्रा र सम्मानित सर्जकहरू नै विवादित र अमर्यादित गीत गाउन र बनाउनतर्फ लागे ।’ केही दिन गीत चले, पैसा कमायो भन्दैमा यस्ता गीतले कालान्तरमा स्रष्टा, सर्जकलाई असर गर्ने बुझ्नु जरुरी रहेको हमाल धारणा छ । 

  • गायक/गायिका कति दोषी ?

गीत तबमात्र बन्छ । जब शब्दमा गायक÷गायिकाले आफ्नो स्वर दिन्छन् । गीतमा अमर्यादित र द्विअर्थी शब्द सर्जक, स्रष्टाले कोरे पनि गायक÷गायिकाले स्वर दिएनन् भने त्यो गीत बन्न सक्दैन । त्यसैले गीतमा विकृति भित्रिनुमा गायक/गायिकालाई प्रमुख दोषीको रूपमा देख्न सकिन्छ । विवादित गीत ‘बिस्तराले पोल्यो’ आफूले गाएको विषयमा गायिका शान्तीश्री परियारले आफ्नो गल्ती महसुस गर्दै माफी मागिसकेकी छन् ।

गीतसङ्गीत विकृत हुनुमा गायक/गायिका आफ्नो नजरमा प्रमुख दोषी रहेको लोक तथा दोहोरी गीत गायिका राधिका हमाल बताउँछिन् ।

radhika-hamal

‘गीत गाउनुपूर्व शब्द हेर्न, सङ्गीत सुन्न पाइन्छ,’ हमालले भनिन्, ‘त्यसरी हेर्दा गीत राम्रो नदेखे नगाउँदा हुन्थ्यो नि ।’ आफूहरूले राम्रो भएन भनेर छोडेको गीतसमेत अन्य गायक गायिकाले गाउने गरेको उनले सुनाइन् । उनले भनिन्, ‘पैसा र चर्चाका लागि एक गायक गायिकाले नराम्रो भनेको गीत अर्को गायक गायिकाले गाउने गरेका छन् ।’

पैसा मात्र सबैथोक नभएको बताउने हमाल समाजमा नाम र इज्जतका लागि विकृत गीतलाई सबैले बहिस्कार गर्नुपर्ने धारणा राख्छिन् ।

3

गायिका हमालको बिचारमा सहमति जनाउँछन् लोक तथा दोहोरी गीत प्रतिष्ठानका महासचिव शिव हमाल पनि । हमाल पनि गीत विकृत बन्नमा गायक गायिकालाई पनि दोषी ठहराउँछन् ।

‘गीत व्यावसायिक गायक, गायिकाले गाउने हो । गाउनुपूर्व त्यसका शब्द कस्ता छन् भनेर हेरिन्छ । अहिले बजारमा भित्रिएको विकृत गीतमा गायक, गायिकाबाट कमजोरी भएको देखिन्छ,’ शिव भन्छन् ‘गायक गायिकाले स्वर नदिए त्यो गीत नै बन्दै बन्दैन ।’ गायक गायिकाले पैसा भन्दा पनि यसले भविष्यमा आफूलाई कस्तो असर गर्छ । त्यो हेर्नु जरुरी रहेको शिवको भनाई छ ।

2

  • भिडियोका कलाकारको दोषी

गीत विवादित शब्द र स्वरले मात्र बन्दैन । ती गीतमाथि बन्ने भिडियाले पनि गीतलाई विवादित बनाइरहेको हुन्छ । बजारमा विवादित कतिपय गीतमा शब्द र स्वर राम्रो भएपनि त्यसमाथि बनेका म्युजिक भिडियोका कारणले पनि विवादित छन् । उदाहरणको रूपमा ‘बिस्तराले पोल्यो’ गीतलाई दिन सकिन्छ ।

4

यति बेला बजारमा विवादित तिज गीतमा अभिनेता राजेश हमालले अभिनय गरेको गीत ‘गुलेली तन्कियो’देखि अभिनेता पुष्प खड्काको अभिनय रहेको गीत ‘लाजले छोपेको’सम्म छन् । गीतको भिडियो गीत प्रमोसनका लागि निर्माण गर्ने गरिन्छ ।

भिडियोमा राम्रा र चलेका कलाकार राख्यो भने गीतको चर्चा र प्रमोशन छिट्टै हुने र त्यसबाट आम्दानी पनि राम्रो हुने मान्यता साङ्गीतिक क्षेत्रमा छ ।

त्यसैले गीतसङ्गीत विवादित हुनुमा भिडियो अभिनय गर्ने कलाकार पनि दोषी रहेको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला बताउँछन् ।

‘सामाजिक प्रतिष्ठामा पुगेका लोकप्रिय वा सेलिब्रेटीले के गर्नु हुन्छ के गर्नुहुँदैन । त्यसमा आफैँले मूल्याङ्कन गर्न सक्नुपर्छ,’ निरौलाले भने, ‘भिडियो अभिनय गर्दा गीतको शब्द हेर्ने, भिडियो कस्तो बनाउने बुझेर खेल्नुपर्छ । भल्गर कन्टेन्ट पस्किदा समाजमा के सन्देश जान्छ र पब्लिकले कुन रूपमा लिन्छन् भनेर काम गर्ने मानिसले विचार गर्नुपर्छ ।’ 

भिडियो बनाउनेले त राम्रो कलाकार लिनका लागि पैसा तिरेको हुन्छ । पैसाको लोभमा आफ्नो प्रतिष्ठा र सामाजिक मर्यादा बिर्सन नहुने निरौलाको धारणा छ । ‘विकृत गीतको भिडियोमा कलाकारले अभिनय नगर्ने हो भने यस्ता प्रवृत्ति निरुत्साहित हुँदै जान्छ’ निरौलाले थपे ।

मोहन निरौलाको बिचारसँग सहमत जनाउँछिन् वरिष्ठ कलाकार गौरी मल्ल । विकृत गीतसंगतिमा अभिनय गर्ने कलाकारलाई दोषी हो, होइन भनेर आफूले मूल्याङ्कन नगर्ने उनी बताउँछिन् । ‘कस्तो भिडियो खेल्ने भन्ने कलाकारको व्यक्तित्वमा भर पर्ने कुरो हो’, गौरीले थप्छिन् ‘कुन हदसम्म जाँदा एउटा सामाजिक मर्यादाभित्र रहन्छ भन्ने हो । यसमा कलाकारले ध्यान दिनुपर्छ । कसैको यसमा ध्यान जाँदैन भने त्यसको जिम्मेवारी ऊ आफैँ हुनुपर्ने गौरीको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप