बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

धान बालीमा फेद कुहिने रोग लाग्न सक्ने भन्दै व्यवस्थापन गर्न नार्कको आग्रह

शनिबार, १९ साउन २०८१, १२ : ०३
शनिबार, १९ साउन २०८१

काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले करिब ३ हप्तापछि धान बालीमा पानी जमेको अवस्थामा फेद कुहिने रोग लाग्न सक्ने भन्दै व्यवस्थापन गर्न आग्रह गरेको छ । 

नार्कले कृषि मौसम सल्लाह बुलेटिन मार्फत धान रोपेको २ देखि ३ हप्तापछि खेतमा निरन्तर पानी जमेको अवस्थामा धान बालीमा फेद कुहिने रोग लाग्ने हुँदा नियन्त्रणको लागि रोगी बोटहरु उखेलेर नष्ट गरी व्यवस्थापन गर्न आग्रह गरेको हो । 

धान बालीमा प्रकोप ज्यादा देखिएमा खेतमा जमेको पानी निकास गरेपछि २ ग्राम बेभिष्टिन प्रतिलिटर पानीमा मिसाई ८–१० दिनको फरकमा २–३ पटक बोट भिज्ने गरी छर्न नार्कले सुझाएको छ ।

साताभरको कृषि मौसम सल्लाह बुलेटिन विवरण:  

  • विशेष गरी साताको मध्यमा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेकोले कृषि कर्महरू गर्दा विशेष सावधानी अपनाउनुहोस् ।
  • उच्च तथा मध्य पहाडमा तयार भैसकेका कोदो बालीका बेर्ना रोप्नुहोस् । जग्गा तयारीको बेलामा १.५ के.जी. युरिया, ३.३ के.जी. डि.ए.पी. १.७ के.जी. म्यूरेट अफ पोटास प्रति रोपनीका दरले माटोमा राम्ररी मिलाउनुहोस् ।
  • साताको मध्यमा धेरै स्थानहरूमा मेघगर्जन ÷ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले सबै फलफूलका बगैचामा सरसफाई र झारपात व्यवस्थापनका साथै पानी निकासको उचित व्यवस्थापन गर्नुहोस् ।
  • नर्सरी राख्दा १ वित्ता (१५–२० से. मी.) अग्लो र १ मिटर चौडाइको व्याड बनाई ४ अंगुलको फरकमा लाइन कोरेर पातलो गरी बीउ राखी हल्का माटोले पुरेपछि छापो राख्नुहोस्। झरी पर्ने समय भएकोले बेर्नालाई जोगाउन प्लास्टिकको छापो राख्नुहोस् ।
  • वर्षाको समय भएकोले घिउ सिमी र चौमासे सिमीको बीउ ड्याङ उठाएर मात्र रोप्नुहोस् ।
  • आलुको पुतलीका लागि अनुकूल मौसम भएकोले स्थानीय रूपमा घरमा नै भण्डारण गरेको आलुमा यसबाट हुने क्षति कम गर्न बोझोको धुलो २ ग्राम प्रति के.जी. आलुका दरले प्रयोग गर्नुहोस्।
  • मध्य पहाडको बारीमा सखरखण्डका सुन्तले सखरखण्ड–१, सुन्तले सखरखण्ड–२ लगायत अन्य उपलब्ध जातहरू रोप्नुहोस् ।
  • केरा, अलैँची, अदुवा र बेसार बालीको जरा कुहिने रोगको अनुगमन गरी पानी निकासको उचित व्यवस्था गर्नुहोस् । साथै रोग व्यवस्थापनको लागि कार्बेन्डाजिमयुक्त विषादी वैभिष्टिन २ ग्राम प्रति लिटर पानीमा मिसाएर जरा भिज्नेगरि ड्रेन्चिङ गर्नुहोस् ।
  • साउन महिनामा विशेष गरी गाई–गोरुमा साउने ज्वरो अथवा तीन दिने ज्वरो देखा पर्न सक्दछ । वर्षाको मौसममा बढी देखिने यो रोग छ महिना भन्दा कम उमेरका पशुहरूमा लाग्दैन। यो रोग लागेमा उपचारको लागि फेनाइलब्युटाजोन समूहका औषधिहरू ठुला पशुलाई १०–१५ एम.एल. मासुमा केवल एक वा दुई सुई पर्याप्त हुन्छ ।
  • साताको मध्य तथा अन्त्यमा सबै प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेकोले माछा पोखरीमा धमिलो पानी मिसिन नदिनुहोस् । साथै पोखरीको निकासद्वारमा माछाको साइज अनुसारको जाली लगाई पानी निकासको उचित व्यवस्था मिलाउनुहोस् ।
  • मौसम सम्बन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौबिसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर ११५५ मा फोन गर्नुहोस् ।
  • कृषि र पशु सम्बन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर – ११३५ मा हरेक सोमबार दिउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप