आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय

‘नम्बरी सुन’मा सोझी नम्रता

शनिबार, १९ साउन २०८१, ११ : ५७
शनिबार, १९ साउन २०८१

काठमाडौँ । नायिका नम्रता सापकोटा यही साउन २५ गतेबाट रिलिज हुने फिल्म ‘नम्बरी सुन’मार्फत दर्शकमाझ आउँदै छिन् । नम्रताका अनुसार फिल्म ‘नम्बरी सुन’मा उनी ग्रामीण सोझी युवतीको भूमिकामा छिन् ।

‘म खानदानी परिवारको मुखियाकी छोरीको भूमिकामा छु । ऊ एउटा राम्रो परिवारको मुखियाकी छोरी भएर पनि साधारण छे । उसमा घमन्ड छैन । उसको प्रेम आफू भन्दा तल्लो जातको व्यक्तिसँग हुन्छ’, आफ्नो चरित्रबारे नम्रता भन्छिन् ।

आफ्ना हरेक फिल्ममा फरक फरक चरित्र निभाउन चाहने नम्रता दर्शकले आफूलाई सोही फरक चरित्रमा ‘नम्बरी सुन’मा हेर्न पाउने दाबी गर्छिन् । ‘आफ्नो प्रेम प्राप्तिका लागि मेरो पात्र लड्छे । आफूले माया गरेको प्रेमीका लागि कुन हदसम्म जान सक्छे भन्ने किसिमको चरित्रमा देखिन्छु’, उनी भन्छिन् ।

उनी अगाडि भन्छिन्, ‘मैले अहिलेसम्म सोझो, बदमास, चुलबुले चरित्र निभाएँ । तर ‘नम्बरी सुन’मा शुद्ध इन्टेन्स लभ देखिन्छ । मैले यो फिल्ममा धेरै बोल्नु पनि परेको छैन । मेरो एक्सप्रेसिभ क्यारेक्टर छ । भाव नै प्रकट गरेको छु जस्तो लाग्छ’, नम्रता खुल्छिन् ।

उनी दर्शकले आफ्नो लागि भन्दा पनि कथाका लागि ‘नम्बरी सुन’ हेर्नुपर्ने धारणा राख्छिन् । ‘मेरो लागि मात्र फिल्म हेर्नुपर्छ भन्ने छैन । जुन कुरामा म विश्वास गर्दिनँ । दर्शकसँग समय छ र हलमा गएर आनन्दले फिल्म हेन चाहनुहुन्छ भने ती दर्शकका लागि ‘नम्बरी सुन’ एउटा राम्रो फिल्म बनेको छ’, नम्रता भन्छिन्, ‘यसमा विशुद्ध नेपाली अर्ग्यानिक कथा छ । गाडी पनि नपुगेको गाउँमा गएर हामीले एक महिना सुटिङ गरेका छौँ । त्यो बेलाको यस्तो पनि हुँदो रहेछ भन्ने कुरा थाहा पाउन यो फिल्म हेर्नुपर्छ ।’

नम्रता फिल्मका ‘प्रेमी’गौरव पहाडीको कामबाट प्रभावित रहिछन् । ‘गौरव काममा एकदमै गम्भीर छ । फिल्मका लागि ऊ एकदमै क्यारेक्टरमा बस्नुपर्ने थियो । म चाहिँ क्यारेक्टरमा बस्नु परेन । मैले गौरव, विनोद न्यौपानेबाट धेरै कुरा सिकेँ’, उनी भन्छिन् ।

नम्रता ‘नम्बरी सुन’बाट आशावादी सुनिइन् । ‘म हरेक फिल्मबाट आशावादी हुन्छु । किनभने फिल्म भनेको कथा मन परेर काम गर्ने हो । सँगै म आफ्नो क्यारेक्टरलाई मेहनत गरेको हुन्छु । अहिलेसम्म मैले जति फिल्ममा काम गरेँ, आफ्नो क्यारेक्टर मन परेर नै गरेकी हुँ । त्यस कारण पनि ‘नम्बरी सुन’को क्यारेक्टरबाट आशावादी छु’, उनले भनिन् ।

नम्रतालाई ‘डार्क’ किसिमको फिल्ममा काम गर्ने इच्छा रहेछ । ‘मलाई अलिकति डार्क टाइपको फिल्म गर्ने इच्छा छ । मलाई डेप्थ किसिमको प्रेम कथामा काम गर्न मन छ । सुटिङ गरेर घर जाँदा मलाई आफैलाई पुगेकै हुँदैन । भोकाई रहेको बेलामा थोरैमात्र खानेकुरामा पायो भने कस्तो खुसी भइन्छ नि त्यस्तै खालको सन्तुष्ट हुने काम गर्ने इच्छा छ’, उनी भन्छिन्, ‘कतिवटा काम गरेँ । अझै गर्न बाँकी छ । तर मलाई त्यस्तो खालको काम आइदिए हुन्थ्यो, जहाँचाहिँ म एकदमै डेप्थमा बसेर काम गर्न पाउँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप