बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

ट्रम्प राष्ट्रपति बनोस् भन्ने चाहन्छन् किम

शनिबार, १९ साउन २०८१, १० : ००
शनिबार, १९ साउन २०८१

प्योङयाङ । उत्तर कोरियाका नेता किम जोङ उन डोनाल्ड ट्रम्प अमेरिकाको नयाँ राष्ट्रपति बनोस् भन्ने चाहन्छन्।  बीबीसीसँग कुराकानी गर्दै उत्तर कोरियाबाट भागेका एक वरिष्ठ अधिकारीले सो कुरा बताएका हुन् ।

रि इल क्यू सन् २०१६ यता उत्तर कोरियाबाट भाग्ने उच्च पदस्थ अधिकारी हुन्। रि सात पटक किम जोङ उनसँग आमनेसामने भइसकेका छन् । दक्षिण कोरिया भाग्नुअघि उनी क्युबामा उत्तर कोरियाका लागि काम गर्दै थिए ।

किम सामान्य व्यक्ति जस्तै देखिने रिले बताए । तर आफ्नो अस्तित्वका लागि उनले जे पनि गर्न सक्छ भन्नेमा कुनै शङ्का नरहेको रिको भनाई छ । आवश्यक परेमा किमले उत्तर कोरियाका २ करोड ५० लाख मानिसलाई मार्न सक्ने रिले दाबी गरे ।

ट्रम्प र किमबिच २०१९ मा वार्ता सकिएपछि पनि उत्तर कोरियाले परमाणु कार्यक्रममा ट्रम्पसँग वार्ता गर्न सकिन्छ भन्ने महसुस गरेको रिले बताए । ट्रम्पले यसअघि नै किमसँगको सम्बन्धलाई आफ्नो राष्ट्रपति कार्यकालको महत्त्वपूर्ण उपलब्धिको रूपमा व्याख्या गरिसकेका छन् ।

गत महिना एक र्‍यालीमा डोनाल्ड ट्रम्पले किमले आफूलाई राष्ट्रपति कार्यालयमा फेरि भेट्न चाहेको बताएका थिए । ट्रम्पले भनेका थिए, 'मलाई लाग्छ किम जोङ उनले मलाई याद गर्छन्।'

उत्तर कोरियाले ट्रम्पसँगको राम्रो सम्बन्धको फाइदा उठाउन चाहेको रिले बताएका छन् । तर, गत महिना उत्तर कोरियाले औपचारिक रूपमा अमेरिकाको राष्ट्रपति को बन्ने भन्ने कुराले फरक नपर्ने बताएको थियो ।

उत्तर कोरियाले आफ्ना आणविक हतियारलाई कहिल्यै नष्ट नगर्ने रिको भनाई छ । बरु, उसले आफूमाथि लगाइएको प्रतिबन्ध हटाउने बदलामा आफ्नो आणविक कार्यक्रम रोक्ने सम्झौतामा पुग्ने प्रयास गर्ने उनले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप