आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
विपद्

बागमती प्रदेशमा विपद्‍बाट ८८ जनाको मृत्यु

शनिबार, १९ साउन २०८१, ०६ : ०३
शनिबार, १९ साउन २०८१

मकवानपुर । बागमती प्रदेशमा गत आर्थिक वर्ष (२०८०/०८१) मा विभिन्न विपद्का घटनाबाट ८८ जनाको मृत्यु भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आगलागीका घटना ४९३, वन डढेलो १२२, पहिरो ९०, वन्यजन्तु आक्रमण ४२, भारीवर्षा ३४, बाढी ३३, चट्याङ १४, हावाहुरी १३, उच्च उचाइ (लेक लाग्ने) ५, गैर प्राकृतिक विपद् ३, सर्पदंश ३, हिम पहिरो ३ र भूकम्प १ गरी ८५६ वटा विपद्का घटना भएको छ ।

ती घटनामा ४३ जना बेपत्ता भएका छन् भने १८४ जना घाइते भएका छन् । विपद्का कारण समीक्षा अवधिमा ६१९ वटा पशु चौपायाको क्षति भएको मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले जानकारी दिइन् ।

विपद्का घटनाका कारण प्रदेशका १८९ वटा भौतिक पूर्वाधारमा क्षति पुग्दा आर्थिक रूपमा ५१ करोड ६७ लाख रुपैयाँको क्षति भएको उनले बताइन् ।

वन्यजन्तु आक्रमणका ४२ वटा घटनामा ६ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् । यस्तै, ६ वटा पशु चौपायाको क्षति र २१ लाख रुपैयाँको भौतिक पूर्वाधार क्षति भएको मन्त्रालयले जनाएको छ ।

हिमपहिरोका ३ वटा घटनामा ३ जना घाइते भएका छन् भने भूकम्पमा परेर ३५ वटा भौतिक पूर्वाधार क्षति भएको छ । आगलागीका ४९३ घटनामा २४ जनाको मृत्यु हुनका साथै ८७ जना घाइते भएका छन् । आगलागीबाट ९७ वटा भौतिक पूर्वाधार, ३९४ वटा पशु चौपाया र ४६ करोड ९५ लाख ४२ हजार ९८७ रुपैयाँको आर्थिक क्षति भएको मन्त्रालयले जनाएको छ ।

बाढीका ३३ वटा घटनामा परेर ५ जनाको मृत्यु, २ जना बेपत्ता, २ जना घाइते, ३ वटा भौतिक पूर्वाधार क्षति, ५ वटा पशु चौपायामा क्षति पुगेको छ भने ७ लाख रुपैयाँको आर्थिक क्षति भएको छ । वन डढेलोका १२२ वटा घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते, २५ वटा भौतिक पूर्वाधार क्षति, १०७ वटा पशु चौपाया र २ करोड ३९ लाख ८९ हजार ३०० रुपैयाँको आर्थिक क्षति भएको छ ।

यसैगरी समीक्षा अवधिमा पहिरोका ९० वटा घटनामा ४२ जनाको मृत्यु, ४१ जना बेपत्ता, २३ जना घाइते, १४ वटा भौतिक पूर्वाधार क्षति, ८५ वटा पशु चौपाया र ५८ लाख ३३ हजार २०० रुपैयाँको आर्थिक क्षति भएको छ ।

भारी वर्षाका ३४ वटा घटनामा ४ जना घाइते भएका छन् भने ४ वटा भौतिक पूर्वाधार र १ करोड ३७ लाख ७८ हजार रुपैयाँको आर्थिक क्षति भएको छ । ५ वटा लेक लागेका घटनाबाट ६ जना घाइते भएका छन् ।

सर्पदंशको ३ वटा घटनाबाट २ जनाको मृत्यु र एक जना घाइते भएका छन् । चट्याङका १४ वटा घटनामा एक जनाको मृत्यु, १२ जना घाइते, २२ वटा पशु चौपाया र १० लाख ३० हजार ५०० रुपैयाँको क्षति भएको छ । हुरी बतासका १३ वटा घटनामा २ जनाको मृत्यु, एक जना घाइते, एउटा भौतिक पूर्वाधार र १६ लाख ७५ हजार रुपैयाँको क्षति भएको छ । अन्य गैर प्राकृतिक प्रकोपका ३ वटा घटनामा २ जनाको मृत्यु भएको र एक जना घाइते भएका छन् ।

  • विपद् व्यवस्थापनमा ६१ लाख ७८ हजार रुपैयाँ खर्च

प्रदेश सरकारले १३ जिल्लामा विपद् व्यवस्थापनका लागि आर्थिक वर्ष २०८०/०८१ का लागि १ करोड ७० लाख रुपैयाँ बजेट प्रदान गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार त्यसमध्ये ६१ लाख ८७ हजार रुपैयाँ खर्च भएको छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ को सुरुवातमा प्रदेशभित्रका १३ जिल्लाका विपद् व्यवस्थापन समितिलाई १० लाखका दरले राहत रकम प्रदान गरिएको थियो । जसमा मकवानपुरमा १० लाख रुपैयाँ विपद् व्यवस्थापनमा खर्च भएको छ । सिन्धुलीमा ३० लाख रुपैयाँ प्रदान गरिएकोमा १४ लाख ९२ हजार रुपैयाँ खर्च भएको छ । रामेछापमा ३० लाख रुपैयाँ प्रदान गरिएकोमा १५ लाख ६० हजार रुपैयाँ खर्च भएको छ ।

यस्तै सिन्धुपाल्चोकमा १० लाख रुपैयाँ प्रदान गरिएकोमा ४ लाख ३० हजार, दोलखामा १० लाख रुपैयाँ प्रदान गरिएकोमा ६ लाख ९५ हजार र रसुवामा १० लाख रकम प्रदान गरिएकोमा १० हजार रुपैयाँ खर्च गरिएको छ ।

चितवनमा १० लाख रुपैयाँ प्रदान गरिएकोमा ३ लाख रुपैयाँ र काठमाडौँमा १० लाख रुपैयाँ प्रदान गरिएकोमा ६ लाख ९० हजार रुपैयाँ विपद् व्यवस्थापनमा खर्च गरिएको छ । भक्तपुरमा १० लाख रुपैयाँ बजेट प्रदान गरिएकोमा १० हजार रुपैयाँमात्रै खर्च भएको छ । ललितपुर, नुवाकोट, धादिङ र काभ्रेमा विपद् व्यवस्थापनका लागि १०/१० लाख प्रदान गरिएकोमा सो रकम खर्च नभएको मन्त्रालयले जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन कोषहरूमा राहत रकम अपुग भएपछि प्रदेश विपद् व्यवस्थापन कोष सञ्चालक समितिको निर्णयमा रकम थप गर्ने व्यवस्थासमेत छ । मन्त्रालयका सचिव पूर्ण बहादुर दर्जीका अनुसार उपलब्ध गराएको बजेटमा ५० प्रतिशत रकम खर्च भएपछि जिल्लाबाट पुनः माग गरे अनुसार रकम उपलब्ध गराउने व्यवस्था छ ।

मन्त्रालयले विपद् उद्धार तथा राहतका लागि मात्र नभई पुनर्स्थापनाका लागि पनि रकम उपलब्ध गराएको सचिव दर्जीको भनाइ छ । मन्त्रालयले मनसुनजन्य र आगलागी विपद् व्यवस्थापनका लागि प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि २०८० को दफा ३(घ) बमोजिम आवास पुनर्निर्माणका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा रकम पठाएको उनले बताए ।

उनका अनुसार मनसुनजन्य विपद् प्रभावित नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर र धादिङका लागि क्रमशः १ करोड ४८ लाख २० हजार, १४ करोड ४३ लाख ९७ हजार, ९ लाख ८२ हजार, २२ हजार ५०० र ८ लाख ५५ हजार गरी कुल १६ करोड १० लाख ७७ हजार रुपैयाँ उपलब्ध गएको छ ।

त्यस्तै आगलागीजन्य विपद् प्रभावितका लागि मकवानपुर र रामेछापमा क्रमशः २ लाख २ हजार रुपैयाँ र ९ लाख ९० हजार रुपैयाँ उपलब्ध गराइएको छ ।

  • ३ करोड रुपैयाँको उद्धार सामग्री खरिद

प्रदेश सरकारले विपद् खोज तथा उद्धार कार्य प्रभावकारी बनाउन ३ करोड रुपैयाँको उद्धार सामग्री खरिद गरेको छ । प्रदेशका विभिन्न जिल्लामा हुने विपद्का घटनामा तत्काल उद्धारमा खटिन ती सामग्री प्रयोग गर्ने गरी स्टोर गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले ३ करोड रुपैयाँ लागतमा ६४ प्रकारका विपद् उद्धार सामाग्री खरिद गरी भण्डारण गरेको सचिव दर्जीले जानकारी दिए ।

प्रदेशले खरिद गरेको विपद् उद्धार सामग्री भरतपुर महानगरपालिका–२९ को सिमलतालमा पहिरोमा परी त्रिशुली नदीमा बेपत्ता भएको यात्रुवाहक बसको खोजी कार्यमा समेत प्रयोग गरिएको छ । खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन मन्त्रालयबाट मोटर बोट–१, र्‍याफ्ट बोट–१ र पानीको सतह मुनिसम्म खोज्ने सक्ने क्यामरा १ थान सशस्त्र प्रहरी बल नेपाल नम्बर–३ गढीमाईलाई प्रदान गरेको उनले बताए ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि १९ जनालाई गोताखोर तालिम प्रादन गरिएको र सो तालिमका लागि मन्त्रालयले सशस्त्र प्रहरी बल नेपाल नम्बर–३ गढीमाईलाई ३० लाख रुपैयाँ प्रदान गरेको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप