सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

शुक्रबार, १८ साउन २०८१, २१ : ५५
शुक्रबार, १८ साउन २०८१

आज मिति २०८१ साल साउन महिनाको १८ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

१. लेखा समिति बैठक

प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको शुक्रबार बसेको बैठकमा ‘धमाकेदार निर्णय’ गर्ने तयारी गरेको थियो । तर छलफलका क्रममा विषयमाथिको बहस तन्किएपछि रोकिएको छ ।

समितिको बैठक बस्नुपूर्व नै निर्णयको मस्यौदाको ड्राफ्ट तयार भइसकेको थियो, जसमा विद्युत् प्राधिकरण र त्यसका प्रमुख कुलमान घिसिङमाथि अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने मस्यौदा तयार थियो ।

२. सुदूरपश्चिममा कांग्रेसको सरकार बनाउन बाटो खुला

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घराज सोडारीले राजीनामा दिएपछि कांग्रेस–एमाले गठबन्धनलाई सरकार बनाउन बाटो खुलेको छ । शुक्रबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भन्दै राजीनामा घोषणा गरेका हुन् ।

३. नतिजा प्रकाशन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीण) भएका छन् ।

४. एमालेमा कार्यविभाजन

सत्तारुढ दल नेकपा एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गर्दै कार्यविभाजन गरेको छ । पछिल्लो कार्यविभाजनमा एमाले सचिव रघुवीर महासेठले पार्टीमा परराष्ट्र मामिला विभागको नेतृत्व सम्हाल्ने मौका पाएका छन् ।

५. एकीकृत समाजवादीको निर्णय

नेकपा (एकीकृत समाजवादी) ले ३४४ जानको केन्द्रीय कमिटी बनाएको छ ।

शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले उक्त सङ्ख्याको केन्द्रीय कमिटी घोषणा गरेको  सो पार्टीको प्रचार विभागले जनाएको छ । यसअघि २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको एकीकृत समाजवादीले सङ्ख्या बढाएर घोषणा गरेको हो ।

६. सिग्देलविरुद्ध मुद्दा नचल्ने

कामु प्रधानसेनापति नियुक्त भइसकेका बलाधिकृत रथी अशोकराज सिग्देलविरुद्धको रिट दर्ता गर्न सर्वोच्चले अस्वीकार गरेको छ। यसअघि साउन १३ गते सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले रिट दरपिठ गरिदिएका थिए । उक्त दरपिठ इजलासले पनि सदर गरेको छ। योसँगै अब रिट नलाग्ने भएको छ।

७. पूर्ण बन्यो मन्त्रिपरिषद्

केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

८. गभर्नरको सुविधा

राज्यको ढुकुटीको तालाचाबी बोकेका नेपाल राष्ट्र बैंकका गभर्नरलगायत उच्च अधिकृतहरूले ‘आफ्नो हात जगन्नाथ’ चरितार्थ हुने गरी तलबलगायतका सेवा–सुविधा लिइरहेको पाइएको छ ।

देश हाँक्ने कार्यकारी अधिकार प्राप्त प्रधानमन्त्री केपी शर्मा ओलीको भन्दा बढी तलब राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बुझ्छन् ।

प्रधानमन्त्रीको विद्यमान मासिक तलब ९४ हजार २ सय ८० रुपैयाँ रहेकोमा अधिकारीको मासिक तलब त्यो भन्दा निकै बढी छ । बैंकका निर्देशक एवं सूचना अधिकारी डा डिल्लीराम पोख्रेलले गभर्नरको मासिक तलब १ लाख ३६ हजार रहेको लिखित जानकारी रातोपाटीलाई दिएका छन् ।

९. अर्थ समिति बैठक

चालु आर्थिक वर्षको मौद्रिक नीतिलाई लिएर वर्तमान अर्थमन्त्री र पूर्वअर्थमन्त्रीबीच छेडछाड चलेको छ ।  सत्तारुढ दल भएपनि नेकपा एमालेका उपाध्यक्ष समेत रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता डा।प्रकाशशरण महतबिच शुक्रबारको अर्थ समिति बैठकमा छेडछाड चलेको हो ।

१०. फ्राइडे रिलिज

फ्राइडे रिलिजको परम्परा धान्दै आज देशभर २ नयाँ नेपाली फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘मोदीबेनी’ भर्सेज ‘शिरफूल’ । यी दुबै फिल्म देशभर एकअर्कासँग व्यवसायिक प्रतिस्पर्धामा उत्रिएको हो । फरक कथामा बनेका दुई फिल्म मध्य ‘मोदीबेनी’ शङ्कर कोइरालाको निर्देशनमा बनेको फिल्म हो । ‘शिरफूल’ निर्देशक भने कमल एक्चै मगर हुन् ।

थप समाचार

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप