बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय

लेखा समिति सभापति पोखरेल र सांसद मोदीबिच चर्काचर्की

‘सत्तापक्ष विद्युत् महसुल नतिर्ने उद्योगीको पक्षमा लाग्यो’
शुक्रबार, १८ साउन २०८१, १९ : ४८
शुक्रबार, १८ साउन २०८१

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गत रहेको सार्वजनिक लेखा समितिको बैठकमा माओवादी केन्द्रका सांसद अमनलाल मोदी र समितिका सभापति ऋषीकेश पोखरेलबिच चर्काचर्की भएको छ । 

ट्रंक लाइन र डेडिकेटेट विद्युत् लाइन बापत उद्योगीहरूबाट असुल गर्नुपर्ने झन्डै २२ अर्ब रुपैयाँ विद्युत् महसुलको विषयमा विद्युत् प्राधिकरण, उद्योगी व्यवसायी र सांसदहरूबिचको छलफलको अन्त्यमा चर्काचर्की परेको हो । 

समितिमा विद्युत् प्राधिकरण र उद्योगीहरूको समूहसँगको छलफलपछि समितिका सांसदहरूबिच भएको छलफलका क्रममा सभापति पोखरेल र सांसद मोदीबिच विवाद भएको हो । 

सभापति पोखरेलले विद्युत् महसुल उठाउन विद्युत् प्राधिकरणको कमजोरी रहेको, २०७२ सालयता उद्योग, कलकारखानामा जोडेका टं«क लाइन र डेडिकेटेट विद्युत् लाइनबारे अध्ययन गर्न बनेका ५ वटा समितिले प्राधिकरणसँग उद्योगमा विद्युत् खपतको विवरण ‘टीओडी’ माग गरेको र प्राधिकरणले दिन नसकेकोले प्राधिकरणको कमजोरी हुने बताएपछि सांसद मोदीले आक्रोश व्यक्त गरे । 

सांसद मोदीले समितिका सभापति सत्तापक्षको भएकोले अहिलेको सरकार झैँ उनीपनि विद्युत् महसुल नतिर्ने उद्योगीको पक्षमा रहेको बताए । सांसद मोदीले एमालेबाट समिति सभापति भएका सांसद पोखरेललाई व्यवसायीको पक्षमा नबोल्न चेतावनी दिए । उनले अघिल्ला समितिले विद्युत् महसुल असुल गर्न निर्देशन दिइसकेकोले त्यसको कार्यान्वयन गर्नुपर्ने र अदालत तथा विगतका समितिले गरेका निर्देशन तथा आदेश उल्टाउने गरी सभापतिले निर्देशन दिन लागेको भन्दै आपत्ति जनाए । 

यस्तो थियो सभापति पोखरेल र सांसद मोदीबिच चर्काचर्की :

सांसद मोदी : तपाईँहरू विद्युत् प्राधिकरणको विपक्षमा देखिनुभयो अनि विद्युत् महसुल नतिर्ने उद्योगीको पक्षमा देखिनुभयो । 

सभापति पोखरेल : तपाई यसरी डिस्कस नगर्नुस् । तपाई भाषालाई मिस्प्लेस नगर्नुस् । 

मोदी : यसो गरौँ न त । पहिलेकै समितिले गरेको निर्णयलाई पालना गरौँ न त 

पोखरेल : तपाई डिस्कस् नगर्नुस्

मोदी : किन गर्दिन, सरकारले जे भन्यो तपाईँहरूले त्यही काम गर्ने 

पोखरेल : गलत कुरा नगर्नुस्, तपाईँले के भन्नुभएको 

मोदी : पहिलेकै समितिका निर्णयलाई कार्यान्वयन गरिँदिउन न त 

पोखरेल : तपाईँले के भनेको

मोदी : भनिसकेँ त । उद्योगपतिहरूबाट अर्बौं रुपैयाँको विद्युत् बक्यौता उठाउनुपर्छ 

पोखरेल : हो 

मोदी : तर के भने पहिलेकै समितिले निर्णय गरिसकेपछि यो समितिले हस्तक्षेप गर्ने, विभिन्न आयोगले गरिसकेको निर्णयलाई तपाईँले फेरी तोडमोड गर्न खोज्दै हुनुहुन्छ । 

पोखरेल : तपाई किन डराउन खोज्नुभएको ?

मोदी : हामी किन डराउने ? तपाई चाहिँ किन डराउनुभएको ? अर्बौं रुपैयाँ पैसा उठाउनुपर्ने होइन ? 

पोखरेल : सुन्नुस्, सुन्नुस्, १५ अर्ब छुट दिने तपाईँहरू हो

मोदी : मैले हो ? तपाईँहरूले हो नि, अहिले छुट दिएको होइन ? पटक पटक छुट दिइराख्नुभएछ । सभापतिले मात्र समितिमा निर्णय गर्ने होइन 

पोखरेल : तपाईँले गर्ने हो ? 

मोदी : जे मन लाग्छ गर्नुस्, उद्योगपतिबाट २२ अर्ब महसुल उठाउनुपर्छ

पोखरेल : तपाई नडराउनुस्

मोदी : म किन डराउने ? संसदीय समितिले निर्देशन दिइसकेको विषय उल्टाउने खोज्ने ? अदालतले गरिसकेको निर्णय तपाई किन उल्टाउन खोज्दै हुनुहुन्छ ? 

पोखरेल : कसले उल्टाउँछ ?

मोदी : यहाँ त्यही देखिइसकियो

पोखरेल : तपाई किन डराउनुभएको 

मोदी : तपाई उद्योगीको पक्षमा निर्णय गर्ने ? 

पोखरेल : तपाई किन डराएको 

मोदी : अहिले नै निर्णय गरिहाल्नुस् न त 

पोखरेल : तपाइले भन्ने बित्तिकै निर्णय गर्ने हो ? त्यस्तो कुरा नगर्नुस् । तपाई नआत्तिनुहोला, निर्णय आउँछ 

मोदी : तपाईँहरू डराएको हो, उद्योगपतिसँग विद्युतको पैसा असुल्नुपर्छ भन्दा के को आपत्ति ? 

पोखरेल : आगामी बैठकमा ५ दिनभित्रमा विषयवस्तुहरुको विवरण तयार पार्छौ, आगामी बैठकमा निर्णय गर्नेगरी, अर्को सूचना आएपछि आजको बैठक स्थगित हुन्छ । 

योगेश भट्टराई : बैठकको निर्णय चित्त बुझेन भने नोट अफ डिसेन्ट लेख्नुस्, तपाईँले धम्काउने होइन 

मोदी: हामीले हाम्रो कुरा राख्न नहुने ? 

समितिले विद्युत् प्राधिकरणसँग उद्योगहरूमा दिएको डेडिकेटेट र ट्रंक लाइनको विद्युत् खपतसम्बन्धी सम्पूर्ण विवरण टीओडी माग गर्ने निर्णय गरेको छ । साथै सांसदहरुसँग भएका प्राविधिक कुरा, प्रमाणसहितको विवरण र आफ्ना कुरा ५ दिन भित्र समितिमा पेस गर्ने निर्णय भएको छ । अर्को बैठकमा प्राधिकरणले दिएको डाटा अध्ययन गर्ने र सांसदहरूको धारणा अध्ययन गरी आवश्यक निर्देशन दिने समितिका सभापति पोखरेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप