बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
अर्थ समिति बैठक

मौद्रिक नीतिबारे बहालवाला अर्थमन्त्री र पूर्वअर्थमन्त्रीबिच छेडछाड

गभर्नरलाई यो गर त्यो नगर भन्न मिल्दैन : अर्थमन्त्री
शुक्रबार, १८ साउन २०८१, १८ : ०६
शुक्रबार, १८ साउन २०८१

काठमाडौँ । चालु आर्थिक वर्षको मौद्रिक नीतिलाई लिएर वर्तमान अर्थमन्त्री र पूर्वअर्थमन्त्रीबीच छेडछाड चलेको छ ।  सत्तारुढ दल भएपनि नेकपा एमालेका उपाध्यक्ष समेत रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतबिच शुक्रबारको अर्थ समिति बैठकमा छेडछाड चलेको हो ।

समितिमा पूर्वअर्थमन्त्री डा.महतले सरकारले अस्वाभाविक रूपमा नेपाल राष्ट्र बैंक र गभर्नरमाथि दबाब दिएर चाहिने भन्दा बढी खुकुलो मौद्रिक नीति ल्याएको टिप्पणी गरे । मुलुकको अर्थतन्त्र खुला छाड्नेगरी सुधार अझैं भइनसकेको अवस्थामा नेपाल राष्ट्र बैंकले सबै लगानीका ढोका खोल्ने गरी खुकुलो मौद्रिक नीति लिएकोमा असन्तुष्टि व्यक्त गर्दै उनले यसले अर्को वित्तीय अराजकता ल्याउनसक्ने खतरा बढाएको औँल्याए ।

‘यसअघि पनि केन्द्रीय बैंकले निकै खुकुलो मौद्रिक नीति लिएको थियो । खासगरी कोभिड–१९ पछि सुस्ताएको अर्थतन्त्र चलायमान गर्ने र व्यापक उत्पादन र रोजगारीमा जाने गरी केन्द्रीय बैंकले खुकुलो मौद्रिक नीति लिएको थियो । जसका कारण अत्यधिक कर्जा प्रवाह भयो । तर, यो सफल हुन सकेन, प्रवाहित कर्जा उत्पादन र रोजगारीमा गएन,’ डा.महतले भने, ‘बरु यस्तो कर्जा खराब ठाउँमा गएर फस्दा बैंकहरुले उठाउन सकेनन् । सोही दबाब अहिले पनि बैंकहरुले भोग्दैछन् ।’

पछि फेरि राष्ट्र बैंकले कसिलो मौद्रिक नीति लिँदा उत्पादनसँगै, व्यापार तथा भन्सार राजस्व टाइट भएको र यसको असर अर्थतन्त्रमा परेको उनले तर्क गरे । मुलुकको अर्थतन्त्र थप समस्या फस्ने देखिएपछि आफूले गभर्नरलाई केही लचिलो मौद्रिक नीति लिन आग्रह गरेको र खुकुलो बनाइएको स्मरण गर्दै डा.महतले यसले सेयर बजार समेत १८ सयको विन्दुबाट २२ सय विन्दुसम्म पुगेको बताए ।

तर, पछिल्लो मौद्रिक नीतिले असीमित क्षेत्रहरूलाई सुविधा दिँदै कर्जा लगानी र सेयर बजारलाई प्रोत्साहन गरेका कारण अर्को समस्या आउन सक्ने खतरा देखिएको उनले बताए ।

‘म अर्थमन्त्री हुँदा गभर्नर सावले पहिला धेरै खुकुलो मौद्रिक नीति अवलम्बन गर्नुभयो फेरि पछि धेरै टाइट गर्नुभयो । पछि अर्थतन्त्र सहज गर्न खुकुलो गर्नुपर्‍यो भनेपछि केही सहज भयो’, डा.महतले भने, ‘१८ सयको विन्दुमा झरेको नेप्से सूचक मेरै पालामा २२ सयको अंकसम्म पुग्यो । अहिले अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल आउनुभएको छ, अर्थमन्त्रीज्यू र गभर्नरसा’वको त ट्युनिङ मिल्छ क्यार !’ उनले उनले छेडछाडसहितको व्यङ्ग्य गरे ।

खासगरी अहिले सेयर बजारमा उत्साह आउनुको पछाडि नेपाली कांग्रेस र नेकपा एमालेसहितको सरकारप्रतिको आम सर्वसाधारणको विश्वास रहनु रहेको बताउँदै डा.महतले कसैलाई पनि निराश पार्ने काम सरकारले गर्न नहुने बताए ।

ह्वात्तै सेयर बजार बढ्नुपर्ने कुनै प्राविधिक कारण नभएपनि लहडका भरमा पोलिसीलाई देखाएर बजार बढाइएको बताउँदै पूर्वअर्थमन्त्री डा.महतले यसले सेयर बजारमा साना लगानीकर्ता डुबाउने खतरा बढाएको बताए ।

aaa

‘राष्ट्र बैंक र गभर्नरमाथि कुनै खालको दबाब छैन’

यस्तै महतले व्यङ्ग्य गरेपछि अर्थमन्त्री पौडेलले राष्ट्र बैंक र गभर्नरमाथि सरकारले कुनै खालको दबाब सिर्जना नगरेको तर्क गरे । महतले नै घुमाउरो पारामा राष्ट्र बैंकमाथि अर्थमन्त्रालय र प्रधानमन्त्री  कार्यालयको दबाब परेको बताएपछि अर्थमन्त्री पौडेलले यसको बचाउ गर्दै स्वतन्त्र नियमापकीय राष्ट्र बैंकमाथि सरकारले कुनै खालको दबाब नदिएको बताएका हुन् ।

पूर्वमन्त्री डा.महतले अर्थमन्त्री पौडेल र गभर्नर महाप्रसाद अधिकारी बिच ट्युनिङ मिलेको व्यङ्गय गरेपछि अर्थमन्त्री पौडेलले राष्ट्र बैंक र गभर्नरलाई यो गर त्यो गर भन्न नमिल्ने बताए ।

‘सरकारले गभर्नर वा राष्ट्र बैंकमाथि यो गर त्यो गर भन्न मिल्दैन । तर राम्रो काम र मुद्दामा ट्युनिङ मिल्नु राम्रो हो,’ अर्थमन्त्री पौडेलले जवाफ फर्काए ।

पूर्वअर्थमन्त्री डा.महतसँगै अन्य सांसदहरूले पछिल्लो समय वित्तीय अराजकता बढ्दै गएको तर्क गर्दै सार्वजनिक ऋण कहाँ र कस्तो क्षेत्रमा खर्च भइरहेको छ ? भन्ने प्रश्न राखेकामा अर्थमन्त्री पौडेलले सबैखाले सरकारी खर्चमा सरकार अत्यन्त अनुशासित रहेको बताए ।

‘हाम्रो आवश्यकता हामी आफैले पहिचान गर्ने हो, ऋण तथा आर्थिक सहायता हामीले उपलब्धिमूलक क्षेत्रमा लगाउनुपर्छ’, अर्थमन्त्री पौडेलले भने, ‘माननीय वर्षमान पुनले बजेट ल्याउनुभयो कार्यान्वयन मैले गर्दैछु ।’ अध्ययन नभएका र स्रोत सुनिश्चितता नभएका परियोजनाहरू कार्यान्वयन नगरिने प्रस्ट पार्दै अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनको सन्दर्भमा चालू परियोजना तोकिएकै समयमा सम्पन्न गर्ने गरी सरकार अघि बढिसकेको बताए ।

‘चालु परियोजना तोकिएको समयमा नै सम्पन्न गर्न प्रधानमन्त्रीज्यूको निर्देशन रहेको छ । सोही अनुसार काम सम्पन्न गर्न सरकार अघि बढेको छ’, पौडेलले भने ।

चालु पुँजी खर्च बढाउने, उत्पादन, उत्पादकत्व र रोजगारी सिर्जना गर्ने कुरामा सरकार सधैँ लागिपर्ने प्रतिबद्धता जनाउँदै पौडेलले चालु आर्थिक वर्षको मौद्रिक नीति सोही स्प्रिडमा आएको समेत बताए । पुँजी बजारको सन्दर्भमा लगानीकर्ताहरूले हौसिएर भन्दा पनि खास कम्पनीको वित्तीय स्थिति र अवस्थालाई हेरेर लगानी गर्न अर्थमन्त्री पौडेलले सुझाव दिए ।

बैठकमा बोल्ने अधिकांश सांसदहरूले आर्थिक तथा वित्तीय अनुशासन कायम गर्दै सरकार उत्पादन, रोजगारी र आर्थिक संवृद्धिमा केन्द्रित हुनुपर्ने माग राखेका छन् । ८ महिनादेखि रोकिएको धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया कहाँ र किन रोकिएको हो ? सो समेत छिटो टुंग्याउन सांसदहरूले सरकारसँग माग राखेका छन् ।

बैठकमा बोल्दै सांसद छिरिङ लामाले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियाकै कारण अघिल्लो सरकार ढलेको भन्ने हल्लाका बीच आएको नयाँ सरकारले यस मुद्दाको छिटो टुंगो लगाउनुपर्ने बताए ।

‘हुन त यही धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियाले अघिल्लो सरकार ढल्यो भन्ने पनि सुनिएको छ, खास के हो ? अध्यक्ष नियुक्ति प्रक्रिया कहाँ पुग्यो ? किन रोकिएको छ ?’ सांसद लामाले प्रश्न गरे ।

सोही अवसरमा सांसद लामाले भन्सार छलीको केशमा बीवाईडी लगायत अन्य विद्युतीय सवारीहरूको भन्सार छली भएको भन्ने सुनिएकोमा छानबिन केकसरी हुँदैछ ? सो प्रश्न समेत राखे ।

यस्तै सांसद अमर बहादुर रायमाझीले २४ खर्ब माथिको सार्वजनिक ऋण उठाएर सरकारले कहाँ खर्च गरिरहेको स्पष्ट पार्नुपर्ने बताए । यो ऋण उत्पादन र रोजगारीको क्षेत्रमा गएको छ कि छैन ख्याल गर्नुपर्ने उनले बताए ।

यस्तै विभागीय मन्त्रीको व्यस्तताले समितिमा आएको चारवटा विधेयक रोकिएको भन्दै यसलाई छिटो मूर्तरूप दिन समेत समितिले सरकारसँग माग राखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप