आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
ओलम्पिक

ओलम्पिक विजेतालाई थरीथरीका पुरस्कार : सैन्य सेवामा छुटदेखि गाई र महँगा मदिरासम्म

शुक्रबार, १८ साउन २०८१, १७ : २५
शुक्रबार, १८ साउन २०८१

काठमाडौँ । विश्व खेलकुदको सबैभन्दा ठुलो प्रतियोगिता हो, ओलम्पिक । गृष्मकालीन ओलम्पिकको ३३औँ संस्करण फ्रान्सको राजधानी सहर पेरिसमा चलिरहेको छ । ओलम्पिकमा सहभागिता जनाउनुलाई मात्र पनि खेलाडीले निकै ठुलो उपलब्धिका रूपमा लिने गर्छन् ।

ओलम्पिकमा पदक जित्नु त निकै ठुलो उपलब्धि हुने नै भयो । आफ्ना खेलाडीले ओलम्पिकमा पदक जित्ने सम्बन्धित राष्ट्रको गौरवसँग पनि जोडिएको हुन्छ । त्यसैले सहभागी राष्ट्रले आफ्ना खेलाडीको ओलम्पिक तयारीमा निकै ठुलो रकम खर्चिएका हुन्छन् ।

ओलम्पिकमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः स्वर्ण, रजत र कांस्य पदक प्राप्त गर्छन् । तर, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले खेलाडीका लागि नगद पुरस्कारको भने व्यवस्था गरेको हुँदैन ।

यद्यपि, केही खेलका महासंघहरुले भने ओलम्पिकमा पदक जित्ने खेलाडीलाई छुट्टै नगद पुरस्कार दिने घोषणा गरेका हुन्छन् । यसै वर्ष अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघले ओलम्पिकको ट्र्याक एन्ड फिल्डमा पदक जित्ने खेलाडीलाई प्रत्येक स्वर्ण पदकबापत ५० हजार अमेरिकी डलर नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

यसका अतिरिक्त ओलम्पिकमा पदक जित्ने आफ्ना खेलाडीलाई सम्बन्धित राष्ट्रहरूले भने नगद पुरस्कार प्रदान गर्ने प्रचलन छ । यसका लागि विभिन्न राष्ट्रले आ–आफ्नै तरिकाले नगद पुरस्कारको घोषणा गरेका हुन्छन् । केही राष्ट्रले विजेता खेलाडीलाई सरकारी सेवामा रोजगारीको व्यवस्था गरेका हुन्छन् ।

केही राष्ट्रले नगद पुरस्कारको घोषणा गरेका हुन्छन् भने केही राष्ट्रले नगद पुरस्कारभन्दा पनि अन्य भौतिक कुरा उपहार दिने वाचा गरेका हुन्छन् । यहाँ विभिन्न राष्ट्रले ओलम्पिक पदक विजेता आफ्ना खेलाडीका लागि घोषणा गरेको पुरस्कार (नगद पुरस्कारबाहेक) को विषयमा चर्चा गरिएको छ ।

इन्डोनेसिया  

इन्डोनेसियाले ओलम्पिकमा पदक जित्ने आफ्ना खेलाडीलाई नगद पुरस्कारका अतिरिक्त स्वरूप पशु धन प्रदान गर्ने गरेको छ । जापानको टोकियोमा सम्पन्न अघिल्लो ओलम्पिकमा इन्डोनेसियाकी ब्याडमिन्टन खेलाडीले स्वर्ण पदक जितेका थिए ।

त्यो ओलम्पिकमा इन्डोनेसियाका एप्रियानी रहायु र ग्रेसिया पोलीको जोडीले महिला डबल्स स्पर्धामा स्वर्ण जितेका हुन् । त्यसपछि इन्डोनेसियाले स्वर्ण जित्ने एप्रियानी रहायुलाई नगद पुरस्कारसँगै पाँच वटा गाई उपहार दिएको थियो ।

यसका अतिरिक्त स्वर्ण विजेता खेलाडीलाई इन्डोनेसिया सरकारले पाँच अर्ब इन्डोनेसियन रुपियाँ पनि पुरस्कार दिएको थियो । खासमा एप्रियानी रहायु इन्डोनेसियाको सुलावेसी आइल्यान्डकी हुन् । सोही आइल्यान्डको स्थानीय सरकारले उनलाई पाँच वटा गाई उपहार दिएको थियो ।

Paris-Olympics-Gold-Medal

एप्रियानी रहायु ओलम्पिकमा सहभागी हुन टोकियो प्रस्थान गर्नुअघि नै स्थानीय सरकारले उनलाई पाँच वटा गाई र घर उपहार दिने प्रतिबद्धता गरेका थिए । यसका अतिरिक्त ओलम्पिकमा स्वर्ण जित्ने अर्की खेलाडी ग्रेसिया पोलीलाई एउटा मिट बल रेस्टुरेन्ट उपहार दिइएको थियो । इन्डोनेसियाले ओलम्पिक खेलकुदमा हालसम्म आठ स्वर्ण, १४ रजत र १५ कांस्य गरी कुल ३७ पदक जितेको छ ।

मलेसिया

यसैगरी मलेसिया सरकारले ओलम्पिक खेलकुदमा पदक जित्ने खेलाडीलाई विदेशी कार पुरस्कार दिने गरेको छ । मलेसियाले हालसम्म ओलम्पिक खेलकुदमा स्वर्ण पदक जित्न सकेको छैन ।

तर, मलेसियन खेलाडीले रजत र कांस्य पदक भने जितेका छन् । मलेसियन खेलाडीले ओलम्पिकमा हालसम्म आठ रजत र पाँच कांस्य गरी कुल १३ वटा पदक जितेका छन् ।

कजाकस्तान

कजाकस्तानको संस्कृति तथा खेलकुद मन्त्रालयले हाल पेरिसमा जारी ओलम्पिक खेलकुदमा पदक जित्ने आफ्ना खेलाडीलाई नयाँ अपार्टमेन्ट पुरस्कार दिने घोषणा गरेको छ । स्वर्ण पदक जित्ने खेलाडीले तीन कोठाको अपार्टमेन्ट पाउने छन् ।

रजत पदक जित्ने खेलाडीले भने दुई कोठाको अपार्टमेन्ट पुरस्कार पाउने छन् । कांस्य पदक जित्ने खेलाडीले एउटा कोठाको अपार्टमेन्ट पुरस्कार प्राप्त गर्नेछन् । कजाकस्तानले ओलम्पिकमा हालसम्म १५ स्वर्ण, २२ रजत र ३७ कांस्य गरी कुल ७४ पदक जितिसकेको छ ।

चीन

ओलम्पिक खेलकुदमा चीन लामो समयदेखि महाशक्तिका रूपमा रहँदै आएको छ । जारी पेरिस ओलम्पिकमा पनि चीन पदक तालिकाको पहिलो स्थानमा आसीन छ । तर, चीनले ओलम्पिकमा पदक जित्ने आफ्ना खेलाडीका लागि नगद पुरस्कारको भने व्यवस्था गरेको छैन ।

सन् २०१२ को ओलम्पिकमा पदक जित्ने एक सुटिङ खेलाडीलाई भने चीनले नगद पुरस्कार पनि दिएको थियो । त्यतिबेला चीनले यी सिलिङलाई १० लाख अमेरिकी डलर नगद पुरस्कार प्रदान गरेको थियो ।

यसका अतिरिक्त उनले ३० हजार डलर मूल्य पर्ने एउटा कार र केही महँगा मदिरा पनि उपहार पाएकी थिइन् । अन्यथा, चीनले ओलम्पिक विजेता खेलाडीलाई अन्य उपहार भने प्रदान गर्छ । त्यो ओलम्पिकमा पदक जित्ने अन्य खेलाडीलाई भने चीनले सुविधा सम्पन्न घरहरू उपहार प्रदान गरेको थियो ।

Sports-Tournaments-Winners-Cheque-Olympics-Prizes

अस्ट्रेलिया

ओलम्पिक खेलकुदमा पदक जित्ने आफ्ना खेलाडीलाई अस्ट्रेलियाले नगद पुरस्कारको व्यवस्था गरेको छैन । अस्ट्रेलिया सरकारले पदक विजेता खेलाडीलाई अन्य पुरस्कार भने प्रदान गर्छ । अस्ट्रेलियाले कार, सुविधा सम्पन्न घरजस्ता उपहार प्रदान गर्छ ।

यसका अतिरिक्त अस्ट्रेलियाले ओलम्पिक खेलकुदमा स्वर्ण पदक प्राप्त गर्ने आफ्ना खेलाडीलाई करिब १८ हजार, रजत विजेतालाई १३ हजार र कांस्य विजेतालाई १२ हजार अमेरिकी डलर मूल्य बराबरको विशेष प्रकारको सिक्का उपहार दिने गरेको छ । यसका अतिरिक्त अन्य भौतिक सामाग्री पनि उपहारमा दिने गर्छ ।

इराक

इराकले ओलम्पिकमा पदक जित्ने आफ्ना खेलाडीलाई औपचारिक रूपमा नगद पुरस्कारको व्यवस्था गरेको छैन । तर, पेरिस ओलम्पिकमा छनोट हुन सफल आफ्नो फुटबल टोली र भारोत्तोलन खेलाडीलाई भने इराकले पुरस्कार दिएको थियो ।

पेरिस ओलम्पिकमा छनोट भएबापत इराक सरकारले फुटबल र भारोत्तोलन खेलाडीलाई आवासका लागि जग्गा उपलब्ध गराएको थियो । यसका अतिरिक्त फुटबल र भारोत्तोलन खेलाडीलाई मासिक भत्ता र सात हजार अमेरिकी डलर नगद पुरस्कार पनि दिएको थियो ।

image-removebg-preview (1)

इराकले ओलम्पिकमा हालसम्म एउटा कांस्य पदकमात्र जित्न सकेको छ । इराकले सन् १९६० मा इटालीको रोममा सम्पन्न गृष्मकालीन ओलम्पिकमा भारोत्तोलन खेलमा कांस्य पदक जितेको थियो ।

दक्षिण कोरिया

दक्षिण कोरियाले भने ओलम्पिक खेलकुदमा पदक जित्ने आफ्ना खेलाडीलाई अत्यन्तै फरक प्रकारको उपहार प्रदान गर्ने गरेको छ । कोरियन नागरिकले २८ वर्षको उमेर पुग्नुअघि नै १८ महिना अनिवार्य रूपमा देशका लागि सैन्य सेवा गर्नुपर्ने हुन्छ ।

तर, दक्षिण कोरियाका कुनै खेलाडीले ओलम्पिकमा पदक जिते उनीहरूले सैन्य सेवा गर्नुपर्ने दायित्वबाट छुट पाउने गर्छन् । एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने खेलाडीले पनि सैन्य सेवा गर्नेपर्ने दायित्वबाट छुट पाउने प्रावधान छ ।

पोल्यान्ड

ओलम्पिकमा पदक जित्ने आफ्ना खेलाडीलाई प्रोत्साहित गर्नमा पोल्यान्ड अन्य राष्ट्रभन्दा अगाडि देखिन्छ । ओलम्पिकमा पदक जित्ने खेलाडीलाई पोल्यान्डको ओलम्पिक कमिटीले ३८ हजारदेखि ६४ हजार अमेरिकी डलरसम्मको पुरस्कार दिने गरेको छ ।

तर, यस्तो पुरस्कार नगदमा भने दिइँदैन । ओलम्पिकमा स्वर्ण जित्ने एकल स्पर्धाका खेलाडीलाई वार्सामा दुई बेडरुमको अपार्टमेन्ट र टिम स्पर्धामा स्वर्ण जित्नेलाई एक बेडरुमको अपार्टमेन्ट पुरस्कार प्रदान गरिन्छ । यसका अतिरिक्त पदक विजेता खेलाडीलाई घुमफिरको अवसर र अन्य उपहार पनि प्रदान गरिन्छ ।

अमेरिका

ओलम्पिकमा स्वर्ण पदक जित्ने आफ्ना खेलाडीलाई ३७ हजार पाँच सय अमेरिकी डलर बोनस दिने गरेको छ । अमेरिकी ओलम्पिक कमिटीले सन् २०१८ मा यस्तो नियम बनाएको थियो । रजत पदक विजेताले २२ हजार पाँच सय अमेरिकी डलर बोनस पाउँछन् ।

यसैगरी, कांस्य पदक विजेता खेलाडीले पनि १५ हजार अमेरिकी डलर बोनस प्राप्त गर्छन् । त्यसयता यसमा वृद्धि गरिएको छ । पछिल्लो समय अमेरिकी ओलम्पिक कमिटीले बोनस रकम बढाउने तयारी भइरहेको जनाएको छ ।

111856934

हंगेरी

आफ्ना खेलाडीलाई प्रोत्साहन गर्ने विषयमा अन्य राष्ट्रको तुलनामा हंगेरी सबैभन्दा अगाडि देखिन्छ । हंगेरीको सरकारले ओलम्पिक खेलकुदमा स्वर्ण पदक जित्ने खेलाडीलाई ठुलो नगद पुरस्कार व्यवस्था गरेको छ ।

ओलम्पिकमा स्वर्ण पदक जित्ने हंगेरीका खेलाडीले एक लाख ४८ हजार तीन सय ६२ अमेरिकी डलर प्राप्त गर्छन् । रजत पदक जित्ने खेलाडीले पनि एक लाख पाँच हजार नौ सय ३० अमेरिकी डलर पाउँछन् । कांस्य पदक जित्ने खेलाडीले ८४ हजार पाँच सय ६६ डलर प्राप्त गर्छन् ।

फ्रान्स

फ्रान्सले पनि आफ्ना खेलाडीलाई बोनस स्वरूप ठुलो धनराशि उपलब्ध गराउने गरेको छ । फ्रान्सको ओलम्पिक कमिटीले ओलम्पिकमा स्वर्ण जित्ने खेलाडीलाई ८६ हजार तीन सय १९ अमेरिकी डलर बोनस उपलब्ध गराउँछ ।

यसैगरी, ओलम्पिकमा रजत पदक जित्ने खेलाडीलाई फ्रान्सले ४३ हजार एक सय ५९ अमेरिकी डलर बोनस उपलब्ध गराउँछ । कांस्य पदक जित्ने खेलाडीलाई पनि २१ हजार पाँच सय ७९ अमेरिकी डलर प्रदान गर्छ । यसका अतिरिक्त फ्रान्सले पदक विजेता खेलाडीलाई अन्य उपहार पनि प्रदान गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप