शुक्रबार, १६ कात्तिक २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

कर्णालीमा कांग्रेसबाट सिफारिस मन्त्रीको शपथ आज नहुने

किन रोकियो शपथ ?
शुक्रबार, १८ साउन २०८१, १७ : १८
शुक्रबार, १८ साउन २०८१

सुर्खेत । कर्णालीमा नेपाली कांग्रेसबाट सिफारिस मन्त्रीहरूको शपथ ग्रहण आज नहुने भएको छ ।  कांग्रेसले बिहान ११ बजेनै मुख्यमन्त्री यामलाल कँडेललाई मन्त्रीको नाम बुझाइसकेको थियो । 

कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकासमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढाको नाम दिएको थियो । 

कांग्रेसले आजनै शपथ हुने गरी मन्त्रीको नामावली मुख्यमन्त्रीलाई बुझाए पनि शपथ नहुने देखिएको छ । 

मुख्यमन्त्री यामलाल कँडेलले केही दिन शपथ रोक्ने तयारीमा छन् । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले मन्त्रीको शपथका लागि मुख्यमन्त्रीबाट अहिलेसम्म कुनै पत्र नआएको रातोपाटीलाई बताए । ‘सम्भवतः आज नहोला जस्तो देखिन्छ, अहिलेसम्म कुनै लिस्ट आएको छैन,’उनले रातोपाटीसँग भने ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले आफूहरूले बिहानै नामावली बुझाए पनि मुख्यमन्त्रीले अहिलेसम्म शपथ कार्यक्रम अगाडि नबढाएको बताए ।  त्यसको कारण आफूहरूलाई थाहा नभएको उनको भनाइ छ । ‘शपथ कार्यक्रम नबढेपछि मैले उहाँलाई किन भएन भनेर सोधेँ, उहाँ (मुख्यमन्त्री) ले आज पनि हुन्न, भोली पनि हुन्न, पर्सिसम्म होला भनेर भन्नुभयो,’विष्टले भने, ‘कारण सोध्दा केही छलफल गर्नुपर्ने छ भनेर भन्नुभयो ।’ 

उनका अनुसार मुख्यमन्त्री कँडेलले मन्त्रालयभित्रको पुनर्संरचनाको विषयमा कांग्रेससँग कुरा राखेका थिए । कुनै मन्त्रालयमा कामको जिम्मेवारी धेरै, कुनैमा निकै कम भएकाले कम जिम्मेवारी भएका मन्त्रालयलाई पनि जिम्मेवारी थप्ने गरी मन्त्रालय भित्रको पुनर्संरचनाको विषयमा कँडेलले यसअघि देखिनै चासो दिइरहेका थिए ।

‘उहाँले यो मिलाउनुपर्‍यो भन्नुभयो, मैले शपथ ग्रहण गराउनुहोस्, त्यो मिलाउने काम त सरकारको हो भनेर भनेँ’ विष्टले भने,  ‘शपथ गराइएपछि आवश्यक परेर छलफल गरौँला भनेर भनेको हुँ तर, उहाँले मान्नुभएन ।’ 

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा परेसँगै प्रदेशमा प्रमुख सचेतकका रूपमा विष्टले नै पार्टीको तर्फबाट नेतृत्व गरिरहेका छन् । 

यदि त्यसो गर्ने भएपनि बिहानै छलफल गर्न आह्वान गर्नुपर्ने तर त्यसो नगरेको उनको भनाइ छ । पछि बिचमा १ बजे छलफल गरौँ भनेर मुख्यमन्त्रीले भनेको थिए । आफूले अहिले हुँदैन पछि जीवनजी आएपछि छलफल गरौँला भनेर जवाफ दिएको विष्टले बताए । त्यसपछि म सम्बन्धित व्यक्तिसँग छलफल गर्छु भनेर कँडेलले फोन राखेका थिए ।

यता मुख्यमन्त्रीको सचिवालयका अनुसार पनि आज कांग्रेस मन्त्रीको शपथ ग्रहणको विषय खासै अघि नबढेको जनाएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईंले आन्तरिक तयारी नपुगेका कारण शपथ रोकिएको हुनसक्ने बताए । ‘समस्या खासै केही छैन, प्रदेश प्रमुख आजै आउनुभयो केही आन्तरिक तयार नपुगेको होला,’ पछाईंले भने । 

प्रदेश प्रमुख यज्ञराज जोशी आज बिहान मात्रै कर्णाली आएर पदभार ग्रहण गरेका थिए ।  मन्त्रीको नाम सिफारिस पछि मन्त्री हुनेहरू शपथका लागि तयारी अवस्थामा छन् । जलस्रोत तथा ऊर्जा मन्त्रीमा सिफारिस भएकी विजया बुढाले आफूहरू तयारी अवस्थामा रहेको तर बोलावट नभएको रातोपाटीलाई बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप