बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

पेरिस ओलम्पिकमा अनौठा विवाद, मुक्केबाज इमान महिला हुन् कि पुरुष !

शुक्रबार, १८ साउन २०८१, १४ : ४६
शुक्रबार, १८ साउन २०८१

काठमाडौँ । फ्रान्सको पेरिसमा जारी ३३ औँ गृष्मकालीन ओलम्पिक खेलकुदमा एउटा अनौठो घटना भएको छ । यसले ओलम्पिक खेलमा विवादको स्थिति पनि सृजना गरेको छ । बक्सिङको महिला ६६ केजी तौल समूहको भिडन्तमा यस्तो घटना भएको हो ।

महिला ६६ केजी तौल समूहको प्रि –क्वार्टरफाइनल खेलमा अल्जेरियाकी मुक्केबाज इमान खलिफ र इटालीकी एन्जेला कारिनीबिच भिडन्त हुँदै थियो । त्यो भिडन्तमा इटालीकी बक्सर एन्जेला अल्जेरियाकी मुक्केबाज माइनसामु एक मिनेट पनि टिक्न सकिनन् ।

खेल सुरु भए लगत्तै इमानले एन्जेलाको नाकमा दरिलो मुक्का प्रहार गरिन् । त्यो प्रहारले एन्जेला केही समय रन्थनिइन् । त्यसपछि फेरि इमानले एन्जेलाको अनुहारमा अर्को दरिलो मुक्का प्रहार गरिन् । त्यसपछि त एन्जेलाले इमानसँग भिडन्त नै नगर्ने अडान लिइन् ।

यसरी, एन्जेलाले बिचमै खेल परित्याग गरिन् । खेल परित्याग गरेपछि पनि उनी लामो समय पिडाले रोएकी थिइन् । ‘पहिलो प्रहारले मेरो नाकमा असह्य पिडा भयो । त्यै पनि मैले हिम्मत हारिन । दोस्रो प्रहार त झनै खतरनाक थियो । त्यसपछि मैले खेल परित्याग गर्नु नै उपयुक्त सम्झिएँ,’ उनले भनेकी छन् ।

अल्जेरियाकी इमान अहिले प्रतियोगिताको क्वार्टरफाइनलमा पुगिसकेकी छन् । क्वार्टरफाइनलमा उनले हंगेरीकी मुक्केबाज लुका हमोरीसँग प्रतिस्पर्धा गर्नेछिन् । इमान क्वार्टरफाइनलमा पुगे पनि विवाद भने अझै सकिएको छैन ।

किनभने, यसको कथा देखिएभन्दा केही फरक छ । खासमा, अल्जेरियाकी खेलाडी इमान महिला हुन कि पुरुष भनेर निकै लामो समयदेखि विवाद हुँदै आएको छ । इमान आफू महिला भएको दाबी गर्छिन् । लामो विवादका बाबजुद अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले उनलाई ओलम्पिक खेल्ने अनुमति दिएको थियो ।

इमानलाई ओलम्पिक खेल्ने अनुमति दिएपछि आईओसीको पनि आलोचना भएको थियो । अघिल्लो वर्ष अन्तर्राष्ट्रिय बक्सिङ एसोसिएसन (आईबीए)ले इमानको लिङ्ग परीक्षण गराएको थियो । त्यो परीक्षणमा इमान अनुत्तीर्ण भएकी थिइन् ।

सोही कारणले अन्तर्राष्ट्रिय बक्सिङको नेतृत्वदायी निकाय आईबीएले उनलाई सन् २०२३ को बक्सिङ वर्ल्ड च्याम्पियनसिप खेल्नबाट रोक पनि लगाएको थियो । त्यतिबेला पनि विश्व खेलकुदमा इमान निकै चर्चित बनेकी थिइन् ।

त्यतिबेला आईबीएका अध्यक्ष उमर क्रेमलेवले भनेका थिए, ‘केही खेलाडी आफूलाई महिला बताएर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न चाहन्छन् । तर, परीक्षणमा उनको डीएनएमा एक्सवाई क्रोमोजोम पाइएको छ ।’

यस्तो विवादका बिच नै आईओसीले उनलाई ओलम्पिक खेल्ने अनुमति दिएको थियो । अहिले यो विषय पेरिसमा फेरि चर्चामा आएको छ । इटालीका खेल पदाधिकारीहरूले भने यस विषयमा आधिकारिक रूपमा आफ्नो धारणा सार्वजनिक गरेका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप