बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
अपराध

नेपाली जाली नोट कारोबारको ‘ट्रान्जिट प्वाइन्ट’ बन्यो रौतहट

शुक्रबार, १८ साउन २०८१, १४ : १३
शुक्रबार, १८ साउन २०८१

वीरगन्ज । रौतहट जिल्ला पछिल्लो समय नेपाली नक्कली नोट कारोबारका दृष्टिले ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ । मधेस प्रदेशमा प्रदेशको ८ वटा जिल्लामध्ये नक्कली नोट ओसारपसारमा संलग्न सबैभन्दा बढी रौतहटबाट पक्राउ परेका छन् ।

रौटहटबाट धेरै नेपाली नक्कली नोट बरामद हुन थालेपछि मधेस प्रहरीले यो जिल्लालाई ‘रेड’ सूचीमा राखेको छ । खासगरी भारतबाट नेपाली नक्कली रुपैयाँ नेपाल भित्रिन थालेको मधेस प्रदेश प्रहरीको आकलन छ । त्यसमा पनि रौतहटमा यसको सञ्जाल बढी देखिएको प्रहरी स्रोत बताउँछ ।

प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०८०/०८१ मा रौतहट जिल्लाबाट झण्डै २० लाख रुपैयाँ परिमाणको नेपाली नक्कली नोट बरामद भएको छ । ओसारपसारमा संलग्नहरू पनि समीक्षा अवधिमा रौतहटबाटै धेरै पक्राउ परेका छन् ।

प्रहरीको तथ्याङ्कमा रौतहटमा यो एक वर्षमा जाली नोटसहित १६ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार यो सङ्ख्या मधेसका अन्य जिल्लाको तुलनामा बढी हो । नक्कली नोट ओसारपसारमा संलग्नहरूबाट रौतहट प्रहरीले आर्थिक वर्ष ०८०/०८१ मा २० लाख १६ हजार नेपाली नक्कली नोट पक्राउ परेको विवरण छ ।

रौटहटसँगै मधेस प्रदेशमै खोटाचलन (नक्कली नोट) को कारोबारको ग्राफ उकालो लाग्दो छ । खासगरी प्रदेशका ४ वटा जिल्लामा नेपाली नक्कली नोटको ओसारपसार बढेको तथ्याङ्कले देखाएको छ । प्रहरीले उपलब्ध गराएको एक तथ्याङ्कमा प्रदेशका ती चारवटै जिल्लाबाट गएको एक वर्षमा करिब ३५ लाख ८६ हजार रुपैयाँ नक्कली नेपाली नोट बरामद भएको छ ।

कुन जिल्लाबाट कति ?

मधेस प्रदेशका पर्सा, बारा, रौतहट र सर्लाहीबाट बढी परिमाणमा नक्कली नेपाली नोट बरामद भएको प्रहरी अभिलेख छ । प्रहरी तथ्याङ्क अनुसार रौतहटपछि बाराबाट बढी जाली नोट फेला परेको छ । उक्त जिल्लाबाट प्रहरीले गएको आर्थिक वर्ष १३ लाख ८९ हजार ५ सय रुपैयाँ बराबर नेपाली जाली नोट बरामद गरेको छ ।

त्यसपछि पर्साबाट १ लाख ६४ हजार र सर्लाहीबाट १६ हजार ८२० रुपैयाँ नेपाली नक्कली नोट बरामद भएको प्रहरीको आँकडा छ । गत वर्ष नक्कली नेपाली नोटसहित प्रदेशभरबाट एक महिलासहित ३८ जना पक्राउ परेका छन् । तीमध्ये रौतहट जिल्लाबाट १६ जना पक्राउ परेका हुन् ।

यसैगरी बाराबाट १२, पर्साबाट ४ र सर्लाहीबाट ६ जना पक्राउ परेको प्रहरी तथ्याङ्क छ । प्रहरीले यो वर्ष पक्राउ परेका १५ जनामाथि मुद्दा दर्तासमेत गरेको छ ।  बारामा ५ जना, सर्लाहीमा ४, रौतहटमा ४ र पर्सामा २ जनामाथि मुद्दा दर्ता रहेको प्रहरी अभिलेख छ ।

के भन्छ प्रहरी ?

खुला सीमानाको कारणले मधेसमा नेपाली नक्कली नोटले बरामद भइरहेको प्रहरी दाबी छ । बरामद भइरहेको नेपाली नक्कली नोटका कारणले प्रहरीलाई झस्काइदिएको प्रदेश प्रहरीको भनाइ छ । प्रदेश प्रहरी प्रवक्ता सुवासचन्द्र बोहराले मधेसमा पछिल्लो समय नेपाली नक्कली नोट बढी बरामद भइरहेको बताए ।

‘फेला परिरहेको नेपाली नक्कली नोटलाई लिएर हामी पनि चिन्तित भएका छौँ, त्यसकारण यो जटिल समस्याको बारेमा अध्ययन गर्न विशेष टोलीले नै परिचालन गरेका छौँ । तर अहिलेसम्मको विश्लेषणमा खुला सीमाका कारण नेपाली नक्कली नोट बरामद भइरहेको बुझिएको छ,’ उनले भने । तैपनि यसको नियन्त्रणका लागि हामीले छुट्टै रणनीति बनाएर काम गरिरहेको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली असगर देवान
अली असगर देवान
लेखकबाट थप