बुधबार, २१ कात्तिक २०८१
ताजा लोकप्रिय
माओवादीमा क्षयीकरणको श्रृङ्खला

प्रचण्डलाई ‘देखाइदिने’ नाममा टाक्सिएका माओवादी घटकहरू, अबको विकल्प के ?

शुक्रबार, १८ साउन २०८१, १४ : १६
शुक्रबार, १८ साउन २०८१

काठमाडौँ । शान्ति प्रक्रियामा आएको १८ वर्षमा माओवादी पार्टी झण्डै १२ समूहमा विभाजन भएको छ । तत्कालीन विद्रोही नेकपा माओवादी र संसदवादी सात दलबिच २०६२ सालमा १२ बुँदे सहमति पश्चात् १० वर्षे सशस्त्र विद्रोहको अन्त्य भएको थियो ।

शाही राज्यसत्ता ढालेर जनसत्ता स्थापना गर्ने योजनासाथ २०५२ सालमा सशस्त्र विद्रोह गरेको माओवादीले अन्ततः राजतन्त्र ढलेपछि संघीय लोकतान्त्रिक गणतन्त्रमा चित्त बुझायो ।

यद्यपि जनयुद्धको जगमा २०६२/६३ को जनआन्दोलनले २४० वर्ष लामो निरङ्कुश राजतन्त्र ढाल्नु ठुलो उपलब्धि भएको माओवादी नेताहरूको दाबी छ । संघीयता, गणतन्त्र, समावेशी लोकतन्त्र, धर्म निरपेक्षता लगायत माओवादीकै एजेण्डामा देश अहिले चलिरहेको उनीहरू बताउँछन् ।

तर जनयुद्ध भएको १० वर्षमै राजनीतिक उथलपुथल ल्याउन सफल माओवादी आन्दोलन अहिले आफैँ शिथिल भएको छ । राष्ट्रिय राजनीतिमा परम्परागत शक्तिहरू कांग्रेस र एमाले हाबी हुँदा माओवादी शक्ति रक्षात्मक अवस्थामा पुगेको छ ।

२०६४ को पहिलो संविधान सभा निर्वाचनमा २.५० प्रतिशत अर्थात् १५ सिट जितेको पुरातन शक्ति राप्रपा (पशुपति, कमल, सूर्यबहादुुर) समूहले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा ५.०९ प्रतिशत् अर्थात् १४ सिट जित्यो । प्रत्यक्षतर्फ ०६४ मा एक सिट पनि नजितेको राप्रपाले ०७९ मा एक्लै ७ सिट जित्न सफल भयो । यस्तै कुनै विचार, दर्शन र संगठन नभएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी गठन भएको ७ महिनामै २१ सिट जित्न सफल भयो । जबकि आफूलाई अग्रगामी शक्ति दाबी गर्ने माओवादीले कांग्रेस लगायत गठबन्धनको सहयोगमा प्रत्यक्षतर्फ जम्मा १८ सिटमात्र जित्यो ।

१० वर्षे सशस्त्र विद्रोह गरेको माओवादीबाट विभाजित भएर बनेका अनेकौँ समूहमध्ये प्रतिनिधि सभामा अहिले मूल घटक नेकपा माओवादी केन्द्रको मात्रै अस्तित्व छ । माओवादीको चुनाव चिह्न लिएर सहभागी भएको बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)सँग गण्डकी प्रदेश सभामा एक सिट छ । यो पार्टीले निर्वाचनको बेला बागमती प्रदेश सभामा एक र गण्डकीमा एक र प्रतिनिधि सभामा २ सिट जिते पनि माओवादीसँग पार्टी एकता गर्ने कि नगर्ने विवादका कारण पार्टी विभाजन हुँदा बाँकी तीन जना अर्का अध्यक्ष महिन्द्र राय यादव समूहमा लागेका छन् । माओवादीबाटै अलग भएर आम जनता पार्टी (आजपा) गठन गरेका प्रभु साहले प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र एक सिट जितेका छन् ।

२०७० देखि निर्वाचन बहिस्कार गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का चार जना स्थानीय तहको निर्वाचनमा रोल्पाको एक पालिकामा निर्वाचित भए । एमालेमा विलय भएका रामबहादुर थापा समूहमध्ये प्रतिनिधि सभामा प्रत्यक्षतर्फ टोपबहादुर रायमाझी र ज्वाला कुमारी साहले मात्र चुनाव जित्न सफल भए ।

यीबाहेक निर्वाचनमै भाग लिएका माओवादी अन्य घटकले जमानतसमेत जोगाउन सकेनन् । संसद बाहिर अस्तित्वमा रहेका वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी(क्राकपा)ले तीनवटै राष्ट्रिय निर्वाचनमा भाग लिएन । शान्ति प्रक्रियापछिको १८ वर्षमा मूल घटक माओवादी केन्द्रमात्रै राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी भूमिकामा देखिएको छ । तथापि ०६४ को निर्वाचनमा २९.५० प्रतिशत मत ल्याएको माओवादी ०७९ को निर्वाचनमा आइपुग्दा ११ प्रतिशतको हाराहारीमा खुम्चिएको छ । ०७० को निर्वाचनपछि तीन वटै तहको निर्वाचनमा उसले एक्लै लड्ने आत्मविश्वाश गुमाएको देखिन्छ ।

माओवादीका नाममा केही अनुत्तरित प्रश्न

यी अवधिमा लगभग १५ वर्ष सत्तामा रहेको माओवादी आन्दोलन अहिले किन कमजोर भयो ? मूल पार्टीबाट विभाजन भएका अन्य घटक पनि किन टाक्सिदै गए ? सत्ता यात्राको १८ वर्षमध्ये १५ वर्षमा देश र जनताको पक्षमा के के काम गरे ? जनवादी सत्ता स्थापना गर्ने सपना देखाएर सशस्त्र विद्रोहमा होमिएको माओवादी यति छिटै महापतनको बाटोमा किन पुग्यो ? आम जनताले माओवादीलाई किन विश्वास गर्न छाडे ? जनतासँग माओवादीको सम्बन्ध कसरी टुट्यो ? परम्परागत शक्ति कांग्रेस–एमालेभन्दा माओवादी किन फरक देखिएन ? माओवादी घटकहरू किन पटकपटक टुटफुट र विभाजन भइरहेको छ ? यी अनुत्तरित प्रश्नको गम्भीर र निर्मम समीक्षा माओवादी नेतृत्वले गर्नुपर्ने देखिन्छ ।

दुई ठुला दल कांग्रेस र एमालेबिच भएको पछिल्लो ७ बुँदे सहमतिले सत्ताच्युत भएको माओवादी केन्द्र बल्ल आफ्ना कमी–कमजोरी खोतल्ने प्रयासमा जुटेको छ । साउन ११ देखि १५ गतेसम्म पदाधिकारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको कमजोरी र भावी योजनाबारे गम्भीर समीक्षा भएको उपमहासचिव हरिबोल गजुरेलले बताए । उनले पार्टी कमजोर हुनुमा नैतिक रूपले जिम्मेवारी लिँदै पदाधिकारी सबैले राजीनामा दिनुपर्ने प्रस्ताव राखेका छन् ।

बैठकमा नेताहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचारको विकास र पार्टी निर्माणमा पदाधिकारी बैठक अपर्याप्त रहेको निष्कर्ष निकाल्दै साउन २५ गते स्थायी समिति बैठक बोलाएका छन् । बैठकमा अध्यक्ष प्रचण्डले पार्टी पुनर्गठनदेखि विचारको विकासका लागि देशभर जनतामा जाने प्रतिवद्धता जनाएको गजुरेलले बताए ।

अबको विकल्प के ?

विश्लेषक डम्बर खतिवडाले माओवादी आन्दोलन कमजोर हुनुमा विचारको अस्पष्टता, संविधान र सरकारको नेतृत्वदायी भूमिका खेल्न नसक्नु, एमालेसँग पार्टी एकता गर्नु रहेको बताए । साथै माओवादी आन्दोलन विभिन्न गुट उपगुटमा विभाजन भएकाले धक्का लागेको उनको विश्लेषण छ ।

तथापि माओवादीको भविष्य अझै पनि नसकिएको भन्दै उनले फेरि कांग्रेस–एमालेलाई जितेर ठुलो दलको हैसियतले देशको नेतृत्व गर्ने इच्छा राख्छ कि तीमध्ये कुनै एकसँग टाँसिएर वा भागबण्डा गरेर बस्न चाहन्छ, त्यसले भविष्य निर्धारण गर्ने प्रस्ट पारे । उनले वामपन्थी शक्तिहरूसँग एकता गर्न सुझावसमेत दिए ।

‘अब प्रचण्डले सत्ताको मोह छोडेर पाँच वर्ष कांग्रेस र एमालेसँग भागबण्डा गर्न जान्नँ भन्नुपर्छ । जे–जस्तो हुन्छ, चुनाव पनि एक्लै लड्छु भन्नुपर्छ । बरु, आफ्नो पार्टी बनाउँछु भनेर कांग्रेस–एमालेबाहेकका वामपन्थी शक्तिहरूसँग एकता गर्नुपर्छ’, रातोपाटीसँग खतिवडाले भने ।

प्रचण्डको रिसले पार्टी विभाजन गरेका मोहन वैद्य किरण, बाबुराम, रामबहादुर थापा, लेखराज भट्ट, मणि थापा, विप्लव, विश्वभक्त दुलाल आहुति लगायतले केही पनि गर्न नसकेको उनको निष्कर्ष छ । उनीहरूले पार्टी विभाजन गर्नुको सट्टा प्रचण्डको नेतृत्व स्वीकारेर सामूहिक रूपमा माओवादी आन्दोलनलाई अगाडि बढाएको भए पार्टी कमजोर नहुने उनको तर्क छ ।

‘माओवादी पार्टी बारम्बार फुटेको छ । तर, फुटेर गएकाहरूले केही गर्न सकेनन् । बाबुरामले के गरे ? वैद्यले के गरे ? विप्लवले के गरे ? बादल र लेखराजले के गरे ? आहुति र किरातीले के गरे ? फुट्नेहरूले प्रचण्ड जत्तिको पनि गर्न सकेनन्,’ खतिवडाले भने, ‘बरु विभाजन हुँदा माओवादी आन्दोलन र इतिहासलाई कमजोर बनाए ।’

त्यत्रो युद्ध गर्दा, मर्दा र मार्दा त्यही पार्टी गौरवशाली भन्दै हिँड्ने तर शान्ति प्रक्रियामा आइसकेपछि प्रचण्डको मात्रै रिस गरेर हिँडेका नेताहरूले माओवादी पृष्ठभूमिका नेताहरूले केही गर्न नसकेको उनको भनाइ छ । ‘यी सबै एक ठाउँमा बसेर प्रचण्डको नेतृत्वमा सामूहिक रूपमा हिँडेको भए अलि बढी पार्टीको शक्ति हुन्थ्यो होला,’ उनले भने ।

विश्लेषक खतिवडाले भनेजस्तै २०४८ मा भएको छैटौँ एकता महाधिवेशन देखि २०७८ को आठौँ महाधिवेशनसम्म आइपुग्दा पार्टी विघटन र पुनर्गठन गरी माओवादी आन्दोलनलाई यहाँसम्म ल्याउनुमा प्रचण्डको नेतृत्वदायी भूमिका देखिन्छ । सशस्त्र विद्रोहकालमा पनि माओवादीभित्र अन्तरसंघर्ष नभएका होइनन् । तर नेतृत्वप्रति किरण, बाबुराम, बादल लगायत सशक्त टिमको विश्वास, युद्धमा सर्वहारा वर्ग(किसान, मजदुर, उत्पीडित), दलित, जनजाति, महिला, मधेसी, मुस्लिम, थारु लगायत समुदायको साथ र समर्थनले छोटो समयमै त्यसको प्रभाव देशभर फैलिएको थियो ।

तर शान्ति प्रक्रियामा आएपछि माओवादी नेतृत्व तीन लाइन संघर्षमा फस्यो । जनयुद्धको जगमा जनविद्रोहको लाइनको नेतृत्व किरणले गरे । शान्तिपूर्ण राजनीतिक आन्दोलनको नेतृत्व बाबुरामले गरे । दुई लाइनको फ्युजनमा माओवादी आन्दोलन अगाडि बढाउनुपर्ने लाइनको नेतृत्व प्रचण्डले गरे ।

०६४ को बालाजु विस्तारित बैठक, ०६५ को खरिपाटी भेला, ०६७ को पालुङ्टार विस्तारित बैठक र ०६८ मा धोवीघाट भेलासम्म आइपुग्दा पाटीभित्र तीन लाइन संघर्ष उत्कर्षमा पुग्यो । अन्तरसंघर्षलाई प्रचण्डले स्थायी समाधान गर्नुभन्दा पनि कहिले वैद्य त कहिले बाबुरामसँग मिलेर राजनीतिक लाभ लिए । अन्ततः २०६९ असार ५ गते एनेकपा माओवादी विभाजन भयो । त्यसयता पटकपटक पार्टी टुटफुट र विभाजनका कारण माओवादी आन्दोलन कमजोर बन्दै गएको देखिन्छ ।

वैकल्पिक शक्ति निर्माण र मार्क्सवादी लिगेसीमा टाक्सिएका माओवादी घटक

पार्टी विभाजनको ११ वर्षको समीक्षा गर्दा फुटेर गएका माओवादी घटकहरूले औचित्य प्रमाणित गर्न सकेका छैनन् । माओवादीबाट अलग भएपछि ‘जनयुद्धको जगमा जनविद्रोह’ कार्यदिशा अँगालेका वैद्यले नेकपा–माओवादी गठन गरेका थिए । उनलाई बादल, विप्लव, सीपी गजुरेल, देव गुरुङ, पम्फा भुसाल, नारायण शर्मा, धमेन्द्र बास्तोला, हरिभक्त कंडेल, हेमन्तप्रकाश ओली, खड्गबहादुर विश्वकर्मा लगायत प्रभावशाली नेताहरूले साथ थिएका थिए ।

०७० सालको दोस्रो संविधान सभा निर्वाचन सशक्त प्रतिकार गरेका वैद्यले पार्टीलाई दुई वर्ष पनि जोगाउन सकेनन् । वैद्यले न पार्टी जोगाउन सके, न त उनले भनेजस्तै जनविद्रोह गर्न सके । यद्यपि निर्वाचनमा तत्कालीन मूलधार एमाओवादीलाई हराउन वैद्य नेतृत्वको माओवादी एक हदसम्म सफल भएको देखिन्छ ।

पार्टी लाइनमै विवाद भएपछि विप्लव समूहले पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसकेको र वैद्यको नेतृत्वमा जनक्रान्ति हुन नसक्ने निष्कर्ष निकाल्दै २०७१ मंसिर ८ गते अलग भए । त्यसयता वैद्यको पार्टी आधा दर्जन पटक विभाजन भएको छ । पछिल्लो समय क्रान्तिकारी कम्युनिस्ट पार्टी गठन गरेका उनी आगामी कात्तिकमा महाधिवेशनको तयारीमा छन् ।

तर पार्टी पुनर्गठन गरेको डेढ वर्ष नपुग्दै फेरि पार्टी विभाजन भएको छ । एकता प्रक्रियामा जोडिन आएका बास्तोला नेतृत्वको नेकपा बहुमत पार्टीबाट अलग भएका हुन् ।

वैद्य मात्र नभइ विप्लवले पनि अहिलेसम्म पार्टी विभाजनको औचित्य पुष्टि गर्न सकेका छन् । वैद्यसँग सम्बन्ध विच्छेद गरी नेकपा पार्टी पुनर्गठन गरेका उनले एकीकृत क्रान्तिको कार्यदिशा अँगाले । ०७४ को निर्वाचनअघि भूमिगत रहेर विद्रोहमा होमिएका विप्लवले क्रान्तिलाई अगाडि बढाउन सकेनन् । अन्ततः पार्टी नै समाप्त हुने स्थितिमा पुगेपछि ०७६ फागुनमा सरकारसँग तीन बुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा फर्किए ।

०७९ को निर्वाचन उपयोग गर्ने नीति अगाडि सारेपछि बास्तोला समूहले विद्रोह गरेका थिए । प्रचण्डलाई महापतनको बाटोमा हिँडेको आरोप लगाएका उनी अहिले माओवादीसँग एकता गर्ने तयारीमा छन् ।

समाजवादी मोर्चाको संयोजक समेत रहेका विप्लव ०८४ को निर्वाचनमा भाग लिने तयारीमा छन् । माओवादी आन्दोलनलाई थप क्षति पु¥याउने बाहेक उनले केही गर्न नसकेको क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता हुकुम सिंहको आरोप छ ।

‘एकीकृत क्रान्तिको नाममा विद्रोह गर्नुभयो । पार्टी विभाजन गर्नुभयो । केही व्यक्ति सहिद भए । अहिले प्रचण्डसँगै मिल्नुभएको छ । केही गर्न सक्नुभएन’, उनले भने ।

वैद्यको पार्टीजस्तै नेकपा पनि पटकपटक विभाजन भइसको छ । पछिल्लो समय ०७९ वैशाख १४ गते पार्टी विभाजित भएको थियो । महासचिव विप्लवले पार्टीहित विपरीत काम गरेको आरोप लगाउँदै बास्तोलासहित हेमन्तप्रसाद ओलीलाई कारबाही गरेपछि नेकपा विभाजन भएको थियो ।

यता २०७२ सालमा संघीय संविधान बनेपछि माओवादीबाट अलग भएका बाबुरामले ०७३ साल जेठ ३० गते नयाँ शक्ति नेपाल गठन गरे । नेपालमा कम्युनिस्ट पार्टीको कुनै भविष्य नभएको निष्कर्ष निकालेर वैकल्पिक नयाँ शक्ति गठन गरेका उनले अहिलेसम्म कुनै विकल्प दिन नसकेको विश्लेषक खतिवडाको बुझाइ छ ।

०७४ सालको निर्वाचनमा शर्मनाक हार बेहोरेपछि उनले नयाँ शक्ति पार्टीलाई अशोक राई र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीमा विलय गराए । त्यसपछि जनता समाजवादी पार्टी(जसपा) नेपाल हुँदै नेपाल समाजवादी पार्टी(नेसपा) गठन गरेका उनलाई गंगानारायण श्रेष्ठ, विश्वदीप पाण्डे, रामरिझन यादव समेतले साथ छोडेका छन् ।

टुुटफुट र विभाजनबाट बाबुरामको पार्टीसमेत अछुतो रहेन । माओवादी केन्द्रसँग पार्टी एकता गर्ने कि नगर्ने भन्ने विषयमा अध्यक्षद्वय भट्टराई र महिन्द्र राय यादवबिच विवाद उत्कर्षमा पुगेपछि गत चैत ३ गते पार्टी विभाजन भयो । अहिले उनी पार्टी पुनर्गठन गरी महाधिवेशनको तयारीमा छन् । यादव समूह माओवादीसँग एकता गर्ने तयारीमा छ ।

वैद्य र विप्लवलेजस्तै भट्टराईले पनि न पार्टी विभाजनको औचित्य पुष्टि गर्न सके, न वैकल्पिक शक्तिलाई स्थापित गर्न सफल भए । पछिल्लो समय प्रचण्डको कटु आलोचक बनेका उनी माओवादी सत्ता ढलेकोमा सामाजिक सञ्जालमार्फत खुसी मनाउँदै बसेका छन् ।

२०७३ जेठ १ गते वैद्य माओवादीबाट अलग भएका बादल समूह फेरि मूल घर माओवादीमै विलय भयो । ०७४ को निर्वाचनमा केपी ओली नेतृत्वको सरकारमा पार्टीबाट नेतृत्व गरेका बादल लामो समय गृहमन्त्री बन्न सफल भए ।

पटकपटक मन्त्री बन्ने अवसर पाएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह पनि ओली सरकारमा सहभागी भएका थिए । ०७५ जेठ ३ मा एमाले र माओवादी मिलेर नेकपा गठन भएपछि उनीहरूले महत्त्वपूर्ण पद पाएका थिए । तर ०७७ सालमा नेकपा विभाजन भएपछि उनीहरू माओवादीमा नफर्किएर एमालेमा पुगे । ०७९ को प्रतिनिधि सभा निर्वाचनमा रायमाझी र ज्वाला कुमारीले बाहेक अन्यले निर्वाचन जित्न सकेनन् । रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा छन् । एमालेमा विलय भएका नेताहरूमध्ये ज्यालाकुमारी बाहेक अन्य गुमनाम देखिएका छन् ।

यी बाहेक आहुति, गोपाल किराती, नारायण शर्मा, प्रभु साह लगायत अन्य माओवादी घटकहरूले पनि न त पार्टी विभाजनको औचित्य पुष्टि गर्न सकेका छन्, न विकल्प दिन सकेका छन् ।

नेपाली कम्युनिस्ट इतिहासमा कार्यनीति, कार्यदिशा, विचार र सिद्धान्तलाई लिएर सधैँ विवाद हुँदै आएको छ । वास्तवमा वैचारिक र सैद्धान्तिक पक्षभन्दा पनि व्यक्तिगत तथा गुटगत स्वार्थका कारण पटकपटक पार्टी विभाजन भएको देखिन्छ । कुण्ठा, प्रतिशोध, शक्ति र सत्ता स्वार्थको चक्रव्यूहमा माओवादीमात्र होइन, त्यसबाट चोइटिएर गएका स–साना घटकसमेत फसेको देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप