आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

पेरिस ओलम्पिक : किन भाइरल बनिरहेका छन् टर्कीका यी सुटर ?

शुक्रबार, १८ साउन २०८१, ११ : ०१
शुक्रबार, १८ साउन २०८१

काठमाडौँ । फ्रान्सको पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुदमा अहिले एक सुटर निकै चर्चामा छन् । सामाजिक सञ्जालमा उनी भाइरल बनिरहेका छन् । लाखौँ खेलप्रेमीले उनको तस्बिर र भिडियो सेयर गरिरहेका छन् ।

खासमा, उनी टर्कीका सुटर युसुफ डिकेक हुन् । उनले पेरिस ओलम्पिकको सुटिङतर्फ १० मिटर एयर पिस्तल टिम स्पर्धामा भाग लिएका थिए । त्यो स्पर्धापछि युसुफको उमेर र उनको खेल शैलीको विषयलाई लिएर चर्चा सुरु भएको हो ।

टर्कीले ५१ वर्षको उमेरमा यी ‘सार्प सुटर’ लाई ओलम्पिक खेल्न पठाएको हो । आफ्नो स्पर्धामा उनले सेभाल ईलायदा तरहनसँग मिलेर रजत पदक जिते । त्यो स्पर्धाको स्वर्ण पदक सर्बिया र कांस्य पदक भारतका खेलाडीले जितेका थिए ।

आफ्नो स्पर्धामा सहभागिता जनाउँदा उनी सामान्य पोसाकमा थिए । सुटिङ खेलाडीले आफ्नो सुरक्षाका लागि लगाउनु पर्ने कुनै पनि पोशाक वा अन्य सामाग्री उनले प्रयोग गरेका थिएनन् । उनी टर्की लेखिएको एउटा टिसर्ट लगाएर खेल्न आएका थिए ।

त्यसपछि उनले सामान्य रूपमा आफ्नो पेस्तोल उठाए र एउटा हात खल्तीमा हाले । अनि, लक्ष्यमा निशाना साँधेर फायर गरे । खेलका क्रममा देखाएको त्यही पोजले उनलाई अहिले चर्चित बनाएको हो । यसका अतिरिक्त उनले खेलका क्रममा सुरक्षाको कुनै अतिरिक्त सामाग्री प्रयोग गरेका थिएनन् ।

Yusuf Dikeç 1

सुटिङ खेलाडीले सुरक्षाका लागि लगाउनु पर्ने विशेष प्रकारको लेन्स लगाए न त कानको सुरक्षाका लागि आवश्यक पर्ने ठुलो इयर प्रोटेक्टर नै प्रयोग गरे । खेलका क्रममा यस्तो सुरक्षा सामाग्री प्रयोग गर्ने वा नगर्ने विषय खेलाडीको स्वविवेकमा भर पर्छ ।

खेलका क्रममा आँखामा प्रयोग गरिने भाइजरले भने सुटरलाई सही स्थानमा निशाना लगाउन सहयोग गर्छ । तर, युसुफले त त्यो पनि प्रयोग गरेका थिएनन् । अत्याधुनिक यन्त्रलाई बेवास्ता गर्दै युसुफले कानमा एउटा सामान्य इयर प्लग र सामान्य चश्मामात्र प्रयोग गरेका थिए ।

युसुफले जस्तै उनकी साथी सेभलले पनि कुनै यन्त्रको प्रयोग गरेकी थिइनन् । उनले पनि आफ्नो एउटा हात खल्तीभित्र हालेकी थिइन् । त्यो पदक टर्कीले ओलम्पिकको सुटिङमा जितेको पहिलो पदक पनि हो । यो उपलब्धिले पनि यी दुई खेलाडीलाई थप चर्चित बनाउन सहयोग ग¥यो ।

‘मलाई हिजो पनि कुनै विशेष यन्त्रको आवश्यकता परेन र आज पनि परेन । सुटिङ मेरो रगतमै मिसिएको छ,’ देशका लागि ऐतिहासिक पदक जितेपछि युसुफले भनेका छन् । सामाजिक सञ्जालमा उनका समर्थकहरूले विभिन्न प्रतिक्रिया पनि व्यक्त गरेका छन् ।

‘लेन्स छैन, हेड फोन छैन अनि कुनै आधुनिक सुरक्षा यन्त्र पनि छैन । साधारण तरिकाले पदक जित्दै उनी हाम्रो हृदयमा बस्न सफल भए,’ उनका एक समर्थकले सामाजिक सञ्जाल एक्स (पूर्वट्वीटर) मा लेखेका छन्, ‘टर्की आफ्ना यी सुटरप्रति कुन हदसम्म विश्वस्त !’

केही समर्थकले त उनलाई ‘ओलम्पिकका जेम्स बन्ड’ भनेर पनि सम्बोधन गरेका छन् । युसुफले आफ्ना शुभचिन्तकप्रति आभार पनि व्यक्त गरेका छन् । ‘आफ्नो देशको लागि ऐतिहासिक पदक जित्न पाउँदै निकै खुसी लागेको छ । मेरो देशका आठ करोड ५० लाख जनताको शुभेच्छा हामीसँग थियो । म सबैप्रति आभार व्यक्त गर्न चाहन्छु,’ उनले भनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप