आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
रकमान्तरण

न्यायाधीशलाई गाडी शीर्षकमा  २२ करोड रकमान्तरण, कतारी राजाको भ्रमणमा २ करोड ४६ लाख खर्च

शुक्रबार, १८ साउन २०८१, १० : ४२
शुक्रबार, १८ साउन २०८१

काठमाडौँ । सरकारले अदालतका न्यायाधीशहरुलाई गाडी खरिदको लागि असारमा २२ करोड रुपैयाँ रकमान्तर गरेको छ। अर्थ मन्त्रालयले आर्थिक वर्षको अन्तिममा न्यायाधीशहरुलाई गाडी खरिद शीर्षकमा  २१ करोड ९६ लाख रकमान्तर गरिदिएको हो। 

‘प्रचलित कानुन र स्वीकृत मापदण्डको परिधिभित्र रही माननीय न्यायाधीशज्यूहरुको लागि सवारीसाधन एसयूभी खरिद गर्न सर्वोच्च अदालतलाई थप रकमान्तर निकासा’ गरिदिएको मन्त्रालयले  सार्वजनिक गरेको आर्थिक बुलेटिनमा उल्लेख छ। त्यस्तै भारतीय प्रधानन्यायाधीशको नेपाल भ्रमण देखि अदालतले पाउने राजश्व रकम समेतको रकम फिर्ता गरेको छ।  

अदालतमा नयाँ नियुक्त भएका न्यायाधीश र कतिपय जिल्ला तथा उच्च अदालतका न्यायाधीशसँग सवारी साधन नभएकाले सर्वोच्चले अर्थ मन्त्रालयसँग रकम माग गरेको थियो ।  न्याय प्रशासन ऐनमै न्यायाधीशलाई सवारी चालकको सुविधा दिइने  उल्लेख छ। उक्त व्यवस्था अनुसार हालैमात्र नियुक्त भएका उनीहरू सवारी साधन विहीन छन् । 

सर्वोच्च अदालतका सह प्रवक्ता  गोविन्दप्रसाद घिमिरेले अर्थ मन्त्रालयमा बजेट माग गरेर पठाएको तर उक्त रकम अझै अपुर भएको बताए । अहिले प्राप्त पैसाले सर्वोच्च अदालतका न्यायाधीशका लागि गाडी खरिद नगर्ने र यो उच्च र जिल्लाका न्यायाधीशका लागि हुने उनले बताए । 

न्यायाधीश नियुक्ति पाएका ६९ जनालाई सवारी सुविधा दिनुपर्ने रहेको रहेको छ । 

सरकारले भारतीय प्रधान न्यायाधीशको नेपाल भ्रमणको समयमा भएको खर्चको रकम पनि अदालतलाई पठाउने भएको छ। अर्थ मन्त्रालयको बुलेटिन अनुसार उनको भ्रमणमा ३५ लाख बराबर खर्च भएको थियो ।

सर्वोच्चले न्यायाधीशहरूका लागि ३० देखि ४० लाख रुपैयाँको गाडी खरिद गरिँदै आइएको छ। सामान्यतया सरकारी निकायमा कर्मचारी सरुवा वा अवकाश भए पनि गाडी लैजान पाइँदैन। तर अदालतका न्यायाधीशले ‘डिप्रिसिएसन’ (अवमूल्यन गरी) मा घरमा गाडी नै लैजान गरेका कारण पनि अभाव हुने गरेको छ। 

त्यस्तै सरकारले भारतीय प्रधान न्यायाधीशको नेपाल भ्रमणको समयमा भएको खर्चको रकम पनि अदालतलाई पठाउने भएको छ। अर्थ मन्त्रालयको बुलेटिन अनुसार उनको भ्रमणमा ३५ लाख बराबर खर्च भएको थियो । वैशाख २२ गते भारतका पचासौँ प्रधानन्यायाधीश धनञ्जय यशवंत चन्द्रचुड नेपाल भ्रमणमा आएका थिए । यो नेपालमा भारतीय प्रधान न्यायाधीशको पहिलो भ्रमण थियो । 

कतारी राजाको भ्रमणमा २ करोड ४६ लाख खर्च 

सरकारले जेठ महिनामा ३ अर्ब २८ थप बजेट निकासा गरेको थियो। जसअनुसार रकमान्तरबाट २ अर्ब ५९ करोड रुपैयाँ निकासा भएको छ ।  २०८१ वैशाख १० गते राष्ट्र प्रमुखसमेत रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि आएका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उनको भ्रमण भएको थियो ।  पहिलोपल्ट कतारका राजा नेपाल आएकाले नेपालले राजकीय सम्मानसहित स्वागत गरेको थियो । दुई निजी जहाज लिएर आएका उनीसँग आधा दर्जनभन्दा बढी मन्त्री  सहभागी भएका थिए । 

यसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा कतारी शेख तमिम बिन हमाद अल थानीको औपचारिक भ्रमणमा २ करोड ४६ लाख खर्च भएको छ। भ्रमण खर्चमा धेरै रकमान्तर गरिएको छ। 

जेठमा राष्ट्रपति कार्यालयले यसबापतको १ करोड २९ लाख भुक्तानी लिएको छ। त्यसैगरी असारमा कतारी अमिरकै भ्रमणमा भएको खर्चबापत परराष्ट्र मन्त्रालयलाई १ करोड १७ लाख रुपैयाँ भुक्तानी गरिएको छ। 

यसबाहेक राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्ड र जर्मनीको औपचारिक भ्रमणमा जाँदा २ करोड ४३ लाख रुपैयाँ खर्च निकासा गरिएको छ। 

त्यसैगरी आदिवासी जनजाति आयोगका सदस्यहरु डा मीन बहादुर श्रेष्ठ र थारु आयोगका सुबोधसिंह थारुको लागि अमेरिकाको न्युयोर्कमा सहभागी हुन ६ लाख ६९ हजार निकासा र सोही कार्यक्रमका लागि थारु अयोगलाई ६ लाख ५६ हजार रुपैयाँ रकमान्तर गरिएको छ। 

यस्तै संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभा र चीनको औपचारिक भ्रमणमा सहभागी विशिष्ट व्यक्ति तथा प्रतिनिधिमण्डलको भ्रमण खर्च गर्न परराष्ट्र मन्त्रालयलाई अर्थले ४३ लाख ६० हजार भुक्तानी गरेको छ। 

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवको संयोजकत्वमा ११ सदस्यीय प्रतिनिधिमण्डलले गरेको भारत भ्रमणका क्रममा भएको २ लाख ५६ हजार खर्चको पनि भुक्तानी दिइएको छ। 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथग्रहण गर्ने समारोहमा सहभागी हुने प्रतिनिधिमण्डलका लागि पनि २० लाख ४० करोड रुपैयाँ खर्च भएको छ। यस्तै, नेपाल बङ्गलादेश परामर्श संयन्त्रको तेस्रो बैठकमा परराष्ट्र सचिव नेतृत्वको प्रतिनिधिमण्डलले गरेको ७ लाख ५३ हजार खर्च पनि सरकारले भुक्तानी गरेको छ। 

व्यवस्थापिका सङ्घको १४८औँ महासभामा सहभागी हुने सभामुखसहित १० जना प्रतिनिधिमण्डलको भ्रमणमा सरकारले ६७ लाख ५४ हजार खर्च गरेको छ। 

गत असारमा भारत र बङ्गलादेशको ढाकामा अन्तर्राष्ट्रिय मुटकोर्ट प्रतियोगितामा सहभागी हुन भएको प्रधानन्यायाधीश र न्यायाधीशहरूको भ्रमणमा ६ लाख १३ हजार खर्च गरिएको छ। 

त्यस्तै, न्युयोर्कमा प्रहरी सम्मेलनमा सहभागी सचिव र सहसचिवको भ्रमण खर्चबापत ७ लाख ९५ हजार, राष्ट्रिय सूचना आयोगलाई वैदेशिक सम्मेलनमा सहभागी हुन १० लाख रुपैयाँ खर्च भएको छ। 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथग्रहण गर्ने समारोहमा सहभागी हुने प्रतिनिधिमण्डलका लागि पनि २० लाख ४० करोड रुपैयाँ खर्च भएको छ। यस्तै, नेपाल बङ्गलादेश परामर्श संयन्त्रको तेस्रो बैठकमा परराष्ट्र सचिव नेतृत्वको प्रतिनिधिमण्डलले गरेको ७ लाख ५३ हजार खर्च पनि सरकारले भुक्तानी गरेको छ। 

अर्थ मन्त्रालयले असार मसान्तमा ७ अर्ब ७५ करोड रुपैयाँ थप बजेट निकासा गरेको छ। यो ११४ वटा शीर्षकमा भएको थप खर्च हो। 

त्यसैगरी ११ अर्ब ३७ करोड रुपैयाँ एक शीर्षकबाट अर्को शीर्षकमा रकमान्तर भएको छ। १ करोडमाथिका १५६ वटा कार्यक्रममा अर्थ मन्त्रालयले उक्त रकमान्तर गरेको हो। 

गृह मन्त्रालयअन्तर्गत एउटा शीर्षकमा मात्रै ५ अर्ब २५ करोड रुपैयाँ स्वीकृत भएको छ। नेपाली सेनाको खाद्यान्नका लागि ३० करोड ३३ लाख रुपैयाँ थप छुट्टाएको छ। 

त्यसैगरी २५ सय ६८औँ बुद्ध जयन्ती कार्यक्रम सञ्चालन गर्ने प्रयोजनका लागि भुक्तानी गर्न लुम्बिनी विकास कोषलाई १ करोड रुपैयाँ थप निकासा गरिएको छ। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रुकुमको चौरजहारी सडक डिभिजन कार्यालयका लागि ९ करोड ५० लाख रुपैयाँ थप निकासा भएको छ।  

ऊर्जा मन्त्रालयअन्तर्गत जलस्रोत अनुसन्धान तथा विकास केन्द्रमा १३ करोड ५१ लाख, सुनकोसी मरिन डाइभर्जस बहुउद्देश्यीय आयोजनामा ८ करोड ३९ लाख, बागमती सिँचाइ आयोजनामा ५ करोड २५ लाख  रकमान्तर गरिएको छ। 

खानेपानी मन्त्रालयअन्तर्गत मेलम्ची खानेपानी आयोजनामा २० करोड ५० लाख रकमान्तर गरिएको छ। त्यसबाहेक जलवायु अनुकूलित बृहत् खानेपानी आयोजना, केन्द्रीय खानेपानी आयोजनामा बढी रकमान्तर गरिएको छ। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका ७६ वटा सडक परियोजनामा रकमान्तर गरिएको छ। सहरी विकास मन्त्रालयअन्तर्गत २७ वटा परियोजनामा रकमान्तर गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ। 

यस्तो छ रकमान्तरण

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप