बिहीबार, २९ कात्तिक २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

‘सङ्ख्या पुगे पनि कांग्रेस–एमालेले संविधान संशोधनमा जबरजस्ती गर्नुहुँदैन’

शुक्रबार, १८ साउन २०८१, ०९ : ५७
शुक्रबार, १८ साउन २०८१

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले संविधान संशोधन गर्न एमाले र कांग्रेस मिलेरमात्रै नहुने बताएका छन् । ‘संविधान संशोधन गर्न एमाले–कांग्रेस मिलेरमात्रै पनि पुग्दैन । यदि सङ्ख्या पुगे पनि जबरजस्ती गर्न हुँदैन’, नेता ज्ञवालीको भनाइ छ ।

उनले धेरैभन्दा धेरै पार्टी, वर्ग र समुदायलाई सहमतिमा ल्याएरमात्र संविधान संशोधनको प्रक्रिया अघि बढाउनुपर्ने भन्दै संशोधनका नाममा देशमा नयाँ खालको ध्रुवीकरण र द्वन्द्व बढाउने काम गर्न नहुने बताए ।

‘आम नेपाली जनताबिचको एकता कायम राख्दै, अल्पसङ्ख्यक जातजाति, विभिन्न धर्मसंस्कृति, भाषाभाषीको सम्मान गर्नुपर्छ । तिनीहरूलाई पनि राज्य र संविधानले रक्षा गर्छ, सम्मान गर्छ भन्ने मनोभावना सिर्जना गर्नतर्फ जानुपर्छ’, ज्ञवालीले भने ।

नयाँ सरकार गठन, केपी शर्मा ओली नेतृत्वमा बनेको सरकारका लक्ष्य, सुशासन, विकास र संविधान संशोधनबारे रातोपाटीले नेता ज्ञवालीलाई प्रश्न गरेको छ । प्रस्तुत छ, ज्ञवालीसँग गरिएको कुराकानीको सम्पादित अंश–

  • दुई ठुला दल कांग्रेस–एमाले मिलेर एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको छ । यो सरकारले विकास, सुशासन र समृद्धिको कुरा गरेको छ । यी विषय सरकारले व्यवहारमा कार्यान्वयन गर्ला ?

कुनै एउटा पार्टीको बहुमतको सरकार बन्न सकेन । त्यसैले साना पार्टीहरूसँग मिलेर सरकार चलाउँदा बारम्बार अस्थिरता देखियो । ६ महिना र एक वर्षमा सरकार परिवर्तन गरिरहनुभन्दा दुई ठुला दल मिलेर संसदको बाँकी कार्यकालमा स्थिर सरकार बनाउँदा मुलुकले केही न केही सकारात्मक परिणाम प्राप्त गर्न सक्छ र राजनीतिक स्थायित्व हुन्छ भन्ने उद्देश्यका आधारमा यो सरकार बनेको हो ।

२०८४ सालसम्म यो गठबन्धन सरकार टिकाउने, विकास, समृद्धि र सुशासनहित जनताको सुखका लागि राम्रो परिणाम दिनेगरी सरकारले काम गर्नुपर्छ । यो सरकारका काम कारबाहीबाट अवश्य पनि देशले केही राम्रो परिणाम पाउला भन्ने विश्वास गरौँ, किनभने सरकारले भर्खरैमात्र काम गर्न सुरु गरेको छ ।

  • संसदीय व्यवस्थामा ठुला दल मिलेर सरकार बनाउनु अन्तिम विकल्प भनिन्छ । यदि यो सरकार असफल भयो भने झन् ठुलो अराजकता या दुर्घटना हुने खतरा कति देख्नुहुन्छ ?

चुनौतीरहित अवश्य पनि छैन । चुनौती छ र गम्भीर पनि छ । सरकारमा सहभागी दुई वटा दल आपसी प्रतिस्पर्धी दल पनि हुन् । नेपालको राजनीतिमा कि कांग्रेसले जित्ने, कि एमालेले जित्ने विगतको लामो इतिहास हो । यी दुई वटा पार्टीको बिचमा तीव्र प्रतिस्पर्धा हुँदै आएको विगतमात्रै होइन, विचार र दृष्टिकोण पनि फरक छ । यति हुँदाहुँदै पनि हाम्रा केही साझा सवाल पनि छन् । संविधान हामी सबै मिलेरै बनाएका हौँ । संघीय लोकतान्त्रिक गणतन्त्रको विकास र सुदृढ गर्न पनि हामी सँगसँगै हिँडका हौँ । त्यसैले सहकार्य चुनौतीपुर्ण छ भन्ने जानेर, बुझेर विगतको भन्दा सिरियस भएर परिणामुखी ढङ्गले काम गर्न जरुरी छ ।

जनताले अब भाषणभुषण भन्दा पनि परिणाम चाहेका छन् । तथ्यगत ढङ्गले परिणाम दिन सकियो भने सकारात्मक सन्देश दिन सकिन्छ ।

  • चुनौती धेरै छन्, जनताले भाषण होइन परिणाम खोजेका छन्, यो पनि सत्य हो । तर प्रारम्भिक रूपमा हेर्दा सरकार तथ्यगत सुधारमा अघि बढ्लाजस्तो देखिन्छ ?

अहिले नै, तुरुन्तै सरकारको मूल्याङ्कन गर्ने बेला भएको छैन र अहिले नै मूल्याङ्कन गर्नु उपयुक्त पनि हुँदैन तर परिणाम राम्रो आउँछ भन्ने आशा र अपेक्षा गरेका छौँ । राम्रो परिणामका लागि नै यो सरकार बनाएका हौँ । समय आएपछि ठिकलाई ठिक र बेठिकलाई बेठिक भनेर जानुपर्ने पनि हुन्छ ।

  • प्रधानमन्त्री केपी शर्मा ओली २ वर्ष र बाँकी कार्यकाल कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भएको प्रधानमन्त्रीले नै बताउनुभएको छ । यसरी सरकार गठन भएको १५ दिनमै सरकारको आयु तोक्न थालेपछि कसरी स्थिरता होला र ?

विगतमा संयुक्त सरकारहरू जसरी बने, त्यतिबेला यसरी सार्वजनिक रूपमा आलोपालो गरिएको छ नभनीकन भित्री समझदारीका आधारमा आलोपालोको सरकार बनाइयो । तर त्यो विश्वास टिकेन र चलेन । भित्री समझदारीका आधारमा बनेका सरकारहरू ढले । त्यसकारण दलहरूबिच भएको सहमति दुनियाँले थाहा पाउनेगरी आलोपालो सरकार गठन गर्ने भनिएको हो । यसो भनेपछि ढुक्कसँग दुई वर्ष एक जना (केपी ओली) ले चलाउँने र बाँकी (शेरबहादुर देउवा) ले चलाउने भनिएको हो । त्यसरी ढुक्कले सरकार चल्यो भने परिणाम पनि राम्रो दिन सकिन्छ भनेर नै आलोपालो भनिएको हो ।

  • जनताको भरोसायोग्य बन्न सरकारले कस्ता कामको सुरुवात गर्नुपर्ला ?

सरकार सञ्चालन चुस्त र दुरुस्त हुनुपर्छ । सुशासनको पक्ष सबभन्दा महत्त्वपूर्ण पक्ष भएकाले सुशासन कायम र भ्रष्टाचार नियन्त्रणमा विशेष ध्यान दिनुपर्छ । नेपालका सरकारहरूले परिणाम दिन नसक्नु नै सुशासनको अभाव हुनु हो । सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण जरुरी पर्छ । जहाँ स–साना योजना, परियोजनादेखि ठुलाठुला अर्बौं खर्बौंका प्रोजेक्टहरूमा कमिशन हुने कुरा रहँदै आयो । भ्रष्टाचारले देश थिलथिलो भयो, देशको अर्थतन्त्र बर्बाद भयो । त्यसकारण भ्रष्टाचार नियन्त्रण गर्दै जनताका काम सहज रूपमा सम्पन्न हुने र जनतामा विश्वास जगाउने काम गर्न सकियो भने सरकारले ठोस परिणाम दिन सक्छ ।

त्यसैगरी उत्पादन बढाएर निर्यात बढाउने, आयात घटाउने र हरेक बनाइएका योजनाहरू समयमै कार्यान्वयनतर्फ जानुप¥यो । अर्थात्, गुणस्तरसहित सम्पन्न हुनुप¥यो । यसरी काम गर्दै गइयो भने देश बन्न सक्छ र बनाउन सकिन्छ । त्यसका लागि विगतका कमीकमजोरीबाट पनि पाठ सिकेर अघि बढ्नुपर्छ ।

  • भ्रष्टाचारका फाइल खोलेपछि यो गठबन्धन बनेको र यसले भ्रष्टाचार नियन्त्रण होइन, भ्रष्टाचार छोप्छ भनेर अघिल्लो गठबन्धनका नेताहरूले भनिरहेका छन् । कतै उनीहरूले भनेजस्तै हुने त होइन ?

विगतमा पनि बेला मौकामा कांग्रेस–एमालेको सरकार बनेकै हुन् । त्यसबेला पनि विभिन्न भ्रष्टाचार काण्डमा मानिसहरू जेल परेका धेरै उदाहरण छन् । त्यसैले यो सरकार र गठबन्धनले भ्रष्टाचार ढाकछोप हुन्छ भन्ने होइन । बरु भ्रष्टाचारमा संलग्न जोकोही पनि कारबाहीमा पर्छन् । भ्रष्टाचार नगर्नेलाई आरोपित गर्ने कुरा पनि हुँदैन । विरोधीहरूले अरुलाई आरोपित गर्ने, आफूलाई चोख्याउने र आफूलाई सही देखाउने राजनीतिमा चलिनरहने कुरा भयो । सत्ताबाट हटेपछि यिनीहरू भ्रष्टाचार लुकाउन मिलेर सरकार बनाएको भन्नु प्रतिपक्षको एउटा धर्म होला तर यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने, आफूले पनि घुस नखाने र अरुलाई पनि घुस खान नदिनेतर्फ ध्यान दिनुपर्छ । प्रधानमन्त्रीले पनि यो कुरा बारम्बार भनिरहनुभएको छ । उहाँले जे भन्नुभएको छ, आशा र विश्वास गरौँ, त्यो व्यवहारमै देखिनेछ ।

  • तर नेता उही, व्यवहार र कार्यशैली उही अनि कसरी होला त परिवर्तनको अनुभूति ? के नेताहरूको सोच र शैलीमा परिवर्तन आउला ?

यो देशमा विभिन्न राजनीतिमा लागेका निष्ठावान र इमानदार नेता कार्यकर्ताको धेरै ठुलो पंक्ति छ । अझ तल काम गर्ने कार्यकर्ता धेरै इमानदार छन् । कतिपयले बद्मासी पनि गरेका होलान्, कसले कति ग¥यो भन्ने तथ्य प्रमाण नभइ कसैलाई भन्न पनि मिलेन । तर राजनीतिलाई सेवाको भावमा अघि बढाउनुको साटो महत्त्वाकाङ्क्षा र स्वार्थ पूरा गर्ने माध्यम बनाउने एउटा प्रवृत्ति नेपालको राजनीतिमा हरेक पार्टीमै देखिन्छ ।

एकथरी मानिसहरू शक्ति र सत्तालाई आफ्नो निहित स्वार्थ पूरा गर्न राजनीतिलाई माध्यम बनाएर अगाडि बढेको पनि देखिन्छ । अर्कोतिर रहेको विशाल पंक्ति छ, जसले वास्तविक रूपमा देश र जनताको सेवा गर्न राजनीतिलाई माध्यम बनाएर अगाडि बढ्दै आएको छ । यो दुईथरी प्रवृत्ति नेपालको राजनीतिमा देखिन्छ । त्यसमा कुन प्रवृत्ति हावी भएर जाने हो, यसै भन्न सकिन्न । गलत र मिचाहा खालको प्रवृत्ति हावी हुदै गयो भने देश र जनताले दुःख पाउँछन् । होइन, सेवा गर्ने प्रवृत्ति, दृष्टिकोण र त्यो आचरणका मानिस हावी हुँदै गए भने साँचो अर्थमा देशले काँचुली फेर्न सक्छ । जनताका अपेक्षाहरू पूरा हुँदै जानेछन् र ‘सुखी नेपाली समृद्ध नेपाल’को सपना पूरा हुन्छ । यी दुईमध्ये कुन प्रवृत्ति हावी हुने हो, त्यो चुनौतीपूर्ण कुरा हो । त्यसको प्रतीक्षा नेपाली जनताले गरिरहेका छन् ।

  • तर केही वर्ष यताको अवस्था, नेतृत्वमा पुगेका नेताको अनुहार वा कार्यशैली हेर्दा नेपालको राजनीतिमा गलत प्रवृत्ति भएकाहरू नै हावी भएको देखिन्छ र भनिन्छ तपाईंले यस्तो अनुभव गर्नुभएको छैन ?

त्यही भएर मैले भनेँ, गलत प्रवृत्ति हावी हुन खोज्दैछ । कसले कसरी काम गर्दैछ भन्ने कुरा सचेत नागरिक र मिडिया जगतले हेर्नुपर्छ र छुट्ट्याउनुपर्छ । गलत कुराका विरुद्ध लेख्नुपर्छ, बोल्नुपर्छ अनि सही र सत्य कुरालाई प्रोत्साहित गर्नुपर्छ । राम्रो कुरालाई प्रोत्साहित गरिएन भने गलत प्रवृत्ति हाबी हुन्छ र गलत कुरालाई लुकाउन छिपाउन थालियो भने देशलाई नोक्सान पु¥याउँछ । त्यसोभएर सही कुरालाई सही भन्ने, बेठिकलाई बेठिक भन्ने, राम्रो काम गरेकालाई राम्रो भन्ने, गल्ती गर्नेलाई गल्ती नै भनेर सही सूचना जनतालाई प्रभावित गर्न सकियो भने साँचो अर्थमा राजनीतिले राम्रो बाटो समाउने र सही दिशामा जाने स्थिति बन्छ । होइन भने राजनीतिलाई ढाँटीखाने, छलीखाने र कमाइखाने भाँडो बनाउनेहरू नै हाबी हुने स्थिति बन्नसक्छ । हामी अहिले त्यसको दोसाँधमा छौँ । कुनचाहिँ प्रवृत्ति हाबी हुने हो, कुन प्रवृत्तिले एक अर्कालाई पछाडि धकेल्ने हो, त्यो अझै हेर्नुपर्छ ।

  • कांग्रेस–एमाले गठबन्धनले संविधान संशोधन गर्ने भनेको छ । सत्ताबाहिर रहेका दलहरूले संविधान संशोधनको विरोध गरेको देखिन्छ । तपाईंले यसलाई कसरी लिनुभएको छ ?

संविधान संशोधन गर्नै सकिन्न भन्ने कुरा होइन । संविधान निर्माण भएको १० वर्ष भइसक्यो । यसबाट हामीले धेरै अनुभव प्राप्त गरेका छौँ । संविधानमा भएका कतिपय कमी कमजोरी पनि कारण हुन सक्छन् । संविधानमा रहेका कुराहरूलाई व्यवहारमा ठिकसँग कार्यान्वयन गर्न नसक्ने प्रवृत्तिले गर्दा बिग्रिएको हो । संविधान जतिसुकै राम्रो बनाए पनि त्यसलाई कार्यान्वयन गर्ने व्यक्ति, नेता, पार्टी, सरकारलगायतका संयन्त्रले काम गरेन भने केही अर्थ लाग्दैन । तर यसको अर्थ संविधानमा रहेका कमजोरी छुनै हुन्न भन्ने होइन । देश र जनताको आवश्यकता अनुसार संविधान संशोधन गर्न सकिन्छ तर संविधानको कुन विषय संशोधन गर्नुपर्ने हो भन्ने कुरा अहिलेसम्म यकिन भएको छैन । कसैले एजेण्डा प्रस्तुत गरेको पनि छैन । अहिलेको गठबन्धन सरकार बन्दा पनि संविधानको यो यो ठाउमा संशोधन गर्ने भन्ने कुरा आएको छैन ।

  • कांग्रेस–एमाले मिलेर संविधान संशोधन गर्दै समानुपातिक समावेशी हटाउने र साना दलहरूलाई समेत ठेगान लगाउने प्रयास भएको भन्ने आरोप छ नि ?

आरोप र आशङ्का एउटा कुरा हो, सत्यता त्यसो होइन । संविधान संशोधन गर्न एमाले कांग्रेस मिलेरमात्रै पनि पुग्दैन । यदि सङ्ख्या पुगे पनि जबर्जस्त गर्न हुँदैन । धेरैभन्दा धेरैलाई सहमतिमा ल्याएरमात्र अगाडि बढ्नुपर्छ । देशमा नयाँ खालको ध्रुवीकरण गर्ने, द्वन्द्व बढाउने र हिंसात्मक स्थिति नहोस् भन्नका लागि शान्तिसुव्यवस्था कायम गर्ने, लोकतन्त्र सदृढ गर्दै आम नेपाली जनताबिचको एकता कायम राख्दै, अल्पसङ्ख्यक जातजाति, विभिन्न धर्मसंस्कृति, भाषाभाषीको सम्मान गर्नुपर्छ । तिनीहरूलाई पनि राज्य र संविधानले रक्षा गर्छ, सम्मान गर्छ भन्ने मनोभावना सिर्जना गर्नतर्फ जानुपर्छ ।

अहिले दुई पार्टी मिलेर बहुमत प्राप्त भयो भन्दैमा जे मन लाग्यो त्यही गर्न मिल्दैन । देश र आम जनतालाई मिलाएर लानुपर्छ किनभने हाम्रो देशमा विभिन्न भाषा, धर्मसंस्कृति र विभिन्न वर्ग छन् । त्यसकारण कोही बहुमतमा होलान्, कोही अल्पमतमा होलान् । अल्पमतको सम्मान गरेर अगाडि बढेमात्रै देशको प्रगति र विकास गर्न सकिन्छ । त्यसकारण संविधान संशोधन गर्दा यी सबै कुरालाई गम्भीर ध्यान पु¥याएरमात्र गर्नुपर्छ । हाम्रो देशको बस्तुगत परिस्थिति र नेकपा एमालेले भनेको जनताको बहुदलीय जनवाद ‘मल्टीपार्टी डेमोक्रेसी’ हो । यो ‘वान पार्टी डेमोक्रेसी’ होइन ।

  • तर तपाईंकै पार्टीमा महासचिव शंकर पोखरेलले दुई दलीय व्यवस्थाको वकालत गरिरहनुभएको छ नि ?

जनताको बहुदलीय जनवाद भनेको बहुदलीय लोकतन्त्र हो । यसमा मल्टी पार्टीबिच प्रतिस्पर्धा हुन्छ । त्यसो भएर यो वान पार्टी डेमोक्रेसी पनि होइन, टु पार्टी डेमोक्रेसी पनि होइन र नन् पार्टी डेमोक्रेसी पनि होइन । एक समय नेपालमा निर्दलीय लोकतन्त्र भन्ने पनि थियो । एक दलीयलाई पनि लोकतन्त्र भन्ने गरिएको छ । दुई दलीय लोकतन्त्र पनि दुनियाँमा छन् तर नेपालको विविधता, नेपालको विशेषता, ऐतिहासिक पृष्ठभूमि र बस्तुगत अवस्थालाई ख्याल गर्नुपर्छ । जनताको बुहदलीय जनवाद नेकपा एमालेको मार्गदर्शक सिद्धान्त हो । यसैलाई हामीले मानिरहेका छौँ । त्यसकारण कसले कहाँ के बोल्यो भन्ने कुरा त्यो उहाँलाई नै जिम्मा छाडौँ । तर अहिलेसम्म मैले बुझेको, जानेको कुरा हाम्रो पार्टीको विचार, नीति जनताको बहुदलीय जनवाद हो ।

चौथो महाधिवेशनदेखि नै केन्द्रीय कमिटीमा रहेर निरन्तर यसमा वैचारिक बहस, छलफल र अध्ययन गर्दै विचार निर्माण गर्ने कुरामा मेरो पनि एउटा भूमिका रहँदै आएको छ । त्यसो भएकाले निष्क्रिय समर्थन होइन कि सक्रिय सहभागिता रहँदै वैचारिक साङ्गठनिक रूपमा मैले काम गर्दै आइरहेको हुनाले मेरो आफ्नो निष्कर्ष नेपालको राजनीति बहुदलीय लोकतन्त्र हो, जसलाई हामी जनताको बहुदलीय जनवाद भन्दै आएका छौँ । जुन विचार अहिले पनि कायम छ, अहिले पनि हामीले त्यसलाई मार्गदर्शक सिद्धान्त मानिरहेका छौँ । तर कसैलाई यो ठिक छैन भन्ने लागेमा बहस छलफलको विषय हुनसक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप