देवी प्रतिभाको प्रवचन र महिला सशक्तीकरण
यतिखेर देवी प्रतिभाको प्रवचनलाई लिएर विभिन्न टीका–टिप्पणी भइरहेका छन् । महिला अधिकारवादीहरूले उनको विचारको विरोध गरिरहेका छन् भने धार्मिक व्यक्तिहरू महिमा गाइरहेछन् ।
पशुपति कोटिहोममा प्रवचन दिने क्रममा उनले भनेकी थिइन्— स्त्री सदा पतिपरायण हुनुपर्छ । पति जतिसुकै दुर्गुणी भए पनि पत्नी पतिव्रता रहिरहनुपर्छ । स्त्रीको धर्म पुरुषको प्रिय भइरहनु हो ।
आधुनिक युगमा यसो भन्नु आम महिला अधिकारको पक्षमा वकालत गरिरहेका हामीजस्ता वकिल, नेता र सामाजिक अभियन्ताका निम्ति अपाच्य जरुर हो, तर शास्त्रले यसो भन्छ भन्नु शास्त्राचार्यका निम्ति रोजीरोटी पनि हो ।
एउटी नेपालकी छोरीले विदेशमा गएर संस्कृत अध्ययन गर्नु आफैँमा ठुलो चुनौती हो, त्यो पनि नेपाल र भारतजस्तो सङ्कीर्ण पुरुषवादी सोच भएको समाजमा । सहजै अनुमान लाउन सकिन्छ कि उनले त्यो उपाधि जित्न कति सङ्घर्ष गर्नुप¥यो होला । साथीभाइ जमघट गरेर कलेज र पार्क अनि सिनेमा जाने उमेरमा आज उनी विश्वभरमा हिन्दुधर्म मान्नेहरूलाई श्रीमद्भागवत सुनाइरहेकी छन् । यो आफैँमा ठुलो त्याग हो । २३–२४ वर्षको रहर लाग्ने उमेरमा गरिष्ठ भोजन, चल्तीका आभूषण र वस्त्र त्यागेर ललाटमा चन्दन घसेर सेतो वस्त्र मात्र धारण गरी सनातन धर्ममा विश्वास राख्दै ज्ञान बाँड्नु हामी सबैको वशको कुरा होइन ।
मैले सानै उमेरदेखि घरमै हजुरबुबा र आमाका प्रभावले भगवद्गीता श्रवण गरेकी छु । महाभारतका प्रसंग, श्रीकृष्ण लीला, गीताको ज्ञान, शिवपुराण, सत्यनारायणको कथा, श्रीस्वस्थानी अनि राम कथाबारे कथा सुनेकी छु । यीबारे भेटिएका पुस्तक समेत अध्ययन गरेकी छु । पौराणिक वाङ्मयमा आधारित भई बनेका केही सिनेमा वा सिरियल समेत हेरेकी छु ।
घरमा बाबाले वधुशिक्षा मजैले वाचन गरिदिनुहुन्छ । म आध्यात्मिक हुँ वा होइन भन्न सक्दिनँ तर व्रत, पूजा, मन्दिर र सत्संगलाई हेला गर्दिनँ । मनोकामना पूरा हुन्छ भन्ने आशामा भारतको पूर्णगिरीदेखि नेपालको पाथीभरा माताको मन्दिरसम्म पुगेकी छु । बिहान कार्यालय आउँदा आउँदै श्रीगणेशलाई मनमा सम्झेर दण्डवत पनि गर्छु ।
तपाईं मान्नुस् या नमान्नुस्, सदियौँदेखि एक सामान्य स्त्रीले पतिको सेवा गरेकै छे, पतिको लामो आयुका निम्ति तिजको व्रत बसेकै छे, गलामा मंगलसूत्र र शिरमा सिन्दुर लगाएकै छे । स्त्रीको अन्य पुरुषसँगको सम्बन्धले आज पनि श्रीमान् र श्रीमतीको सम्बन्धविच्छेद भएकै छ, घर कलह भएकै छ, त्यस्ती स्त्रीलाई समाजले पतीत मानेकै छ । तपाईं हामी यस कुरामा सहमत पनि छौँ ।
सहवासको नियममा स्त्री र पुरुष दुवैलाई उत्तिकै बन्देज छ । शास्त्रले पुरुषलाई कि ब्रह्मचार्य धारण गर्नु भन्छ कि गृहस्थ जीवन जिउनु भन्ने उपदेश दिन्छ । तर स्त्रीको हकमा केवल पतिव्रता धर्म निभाउनु नै धर्मको रक्षा गर्नु हो । शिवले गोमा, सतीदेवी, पार्वती लगायतसँग विवाह गरे । श्रीकृष्णले रुक्मिणी, सत्यभामा, जाम्बवती लगायतसँग विवाह गरे । उता द्रौपदीले पाँच पाण्डवसँग विवाह गर्नुपरेको, सबैसँग सहवास गर्नुपरेको कथा छ । त्यस्तै कुन्तीपुत्रहरू कुन्तीका फरक–फरक श्रीमान्बाट जन्मिएका थिए भनिन्छ । तर राम र सीताले बहुविवाह गरेनन्, दुवै पतिव्रता र पत्नीव्रता रहेका कथा पाइन्छन् । त्यसैले राम पुरुषहरूका पनि श्रेष्ठ मर्यादा पुरुषोत्तम भनेर पुजिन्छन् । जानकीलाई पतिव्रता भनेर चिनाइएको छ । अर्थात् पुराणले स्त्री र पुरुष दुवैलाई बराबर मौका दिएकै छ । फरक छ त केवल हाम्रो बुझाइमा ।
हामीले महिला अधिकारलाई सशक्तीकरणको बुझाइबाट बुझेनौँ । बरु पुरुषहरूसँग बदला लिनुपर्छ भनेर बुझ्न थाल्यौँ । फलस्वरूप आधुनिक युगमा महिला र पुरुषको सम्बन्धमा प्रशस्त प्रश्न उब्जिए । आज विश्वमा सम्बन्धविच्छेदको दर बढ्दो क्रममा छ । किनकि हामीले बुझ्यौँ, पुरुषहरूको शासनबाट उम्किनु नै नारी मुक्ति हो ।
आधुनिक युगमा यसो भन्नु आम महिला अधिकारको पक्षमा वकालत गरिरहेका हामीजस्ता वकिल, नेता र सामाजिक अभियन्ताका निम्ति अपाच्य जरुर हो, तर शास्त्रले यसो भन्छ भन्नु शास्त्राचार्यका निम्ति रोजीरोटी पनि हो ।
महिला सशक्तीकरण भनेको त आर्थिक उन्नति हुनु हो, अर्थात् महिलाहरू आर्थिक रूपमा सबल बन्नु हो, सामाजिक रूपमा उत्तरदायी बन्न सक्नु हो, सांस्कृतिक रूपमा पालनकर्ता बन्न सक्नु हो । अनि राजनीतिक दृष्टिकोणमा अब्बल साबित हुनु हो । अब प्रश्न छ, महिला सशक्तीकरणमा केले छेक्यो ? परिवारले, समाजले, राज्यले कि धर्मले छेक्यो ? सनातन हिन्दु धर्मले त रोकेकै छैन, बस् त्यसलाई व्याख्या गर्नेहरूले रोके । परिवारले आ–आफ्नै नियम बनाए समाजका डरले, समाज त विभिन्न विचारहरूले डोरिएको हुन्छ, हो त्यही विचारलाई हामीले परिमार्जन गर्न सकेनौँ ।
महिलाको लडाइँ केवल लोग्नेसँग होइन, सम्पूर्ण संयन्त्रसँग हो, जसले महिलालाई धर्मका नाममा, पतिव्रताको नाममा वा विकासवादी चेतनाको नाममा सधैँ बाहिर निस्कन दिँदैन । हाम्रो मुलुकमा राष्ट्रपति बनेकी महिलालाई समेत सामाजिक आक्षेप लगाइन्छ । प्रधानन्यायाधीश बनिसकेका महिलाका श्रीमान्लाई कमजोर पतिको संज्ञा दिइन्छ । कुनै महिला कुनै कर्मको शिखरमा पुग्छे, उसको प्रतिभा र क्षमताको कदर गरिनुपर्ने हो, उल्टै आक्षेप लगाएर उसको मिहिनेतलाई धुलिसात पार्न खोजिन्छ । यस्तो सोच चिर्न किन सक्दैनौँ हामी ? अनि देवी प्रतिभालाई तथानाम गाली गर्ने नैतिकता हामीसँग छ त ? उनलाई तथानाम गाली गर्नु भनेको उनको मिहिनेत, शैली र उपाधिमाथि नजरअन्दाज गर्नु होइन ?
श्रीमान्–श्रीमतीको सम्बन्ध घनीभूत हुन्छ भने के बिग्रन्छ ! महिलाले नै यसको सुरक्षा गर्न सक्छन् भने समाजलाई घाटा कसरी हुन्छ ? फेरि यो विभेदकारी पुरुषका विरुद्ध कानुन नै नभएको पुराण अधीन समय पनि होइन । के यो देशको कानुनले पुरुषलाई बहुविवाह गर्ने सहुलियत दिएको छ ? कानुनले गृहस्थलाई मान्यता मात्र दिएको छैन, यस विपरीत कार्य गर्नेको हकमा समेत सजायको व्यवस्था गरेको छ । हामी कानुनको यो प्राप्तिलाई किन विवेचना गरिरहेका छैनौँ र सनातन धर्मको नाश होस् भन्ने पक्षमा उभिएका छौँ ?
अर्कोतिर समाजशास्त्रीय चिन्तन छ, कुनै पनि देशको सार्वभौमसत्ता रक्षा गर्नु भनेको व्यापक रूपमा हेर्दा त्यस देशको धर्म र संस्कृतिलाई अक्षुण्ण राख्न सक्नु हो । जब धर्म र संस्कृतिमाथि आक्रमण हुन्छ, तब त्यस देशको स्वाधीनता र गौरव मासिँदै जान्छ । तिनै राष्ट्रहरू कमजोर हुन्, जो आफ्नो धर्म र संस्कृतिलाई बलियो बनाउन सक्दैनन् । यसो गर्न नसक्दा नेपालले बिस्तारै आफ्नो अस्तित्व गुमाइरहेको आभास हामी सबैलाई छ ।
पूर्वीय दर्शनले समाज र परिवारलाई एक सूत्रमा बाँध्ने नियम बनाएको छ । ती नियम कहिले, कसरी र कुन सन्दर्भमा रचिए ? कसरी श्रुति परम्पराले तिनलाई जोगायो ? यो खोज–अनुसन्धानको विषय छ ।
अब प्रसंग बदलौँ र कोटिहोमतर्फ हेरौँ । प्रवीण पण्डित दिनबन्धुले नेपालका कम्युनिस्टहरूले माक्र्स वा स्टालिनलाई होइन, बरु श्रीकृष्णको अनुशरण गर्नुपर्ने कुरा बताइरहँदा धेरै मानिसले चित्त बुझाए । कथाको प्रसंगमा दिनबन्धु भन्नुहुन्छ— श्रीकृष्णले गोठाला, गरिब र मजदुरहरूको राज्य बनाइदिए । दुष्ट कंशबाट गोकुललाई मुक्त गराइदिए ।
हो, देवी प्रतिभाले पौराणिक साहित्यमा टेकेर पतिव्रताको कुरा गर्दा पछिल्लो विश्वको उदाहरण दिन चुकिन् । पण्डितहरूको काम प्रवचन गर्नु हो, व्याख्या गर्नु होइन । पुराणमा जे छ, त्यही सुनाउनु पण्डितको कर्तव्य हो ।
अहिलेका हामीले देवी प्रतिभाको प्रवचनमा सवालजवाफ मात्र गर्नुभन्दा वस्तुपरक ढंगले मनन गर्नु उत्तम हुन्छ । प्रकृतिले नै महिलालाई नम्र, कोमल र सुसज्जित बनाइदिएको छ, सृष्टिकर्ता बनाएको छ । यो स्त्री गुणलाई हामीले कमसे कम हृदयंगम गर्नुपर्ने हो र पुरुषको वर्चस्वलाई चिर्दै देश–देशान्तरबाट कथा वाचन गर्न आएका महिलाको प्रशंसा गर्नुपर्ने हो । उनीहरू बिस्तारै समाजसुधारक विदुषीका रूपमा प्रशिक्षित हुनुपर्छ, यसमा हामीले सघाउनुपर्ने होइन र ? पुराण सुन्दैमा हेपिएको वा अपमानित हुनुपरेको आभास गर्न जरुरी छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?