१० बजे, १० समाचार
आज मिति २०८१ साल साउन महिनाको १७ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–
१. एमालेमा कार्यविभाजन
नेकपा एमालेले परराष्ट्र मामिला विभागको प्रमुखको जिम्मेवारी सचिव रघुवीर महासेठलाई दिएको छ । बिहीबार बसेको सचिवालय बैठकले महासेठलाई उक्त विभागको जिम्मेवारी तोकेको हो ।
यसअघि परराष्ट्र विभागको प्रमुखमा राजन भट्टराई थिए । स्थायी कमिटी सदस्य भट्टराईले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन् । यस्तै नेताहरूको जिम्मेवारी हेरफेर गर्दा स्कुल विभाग प्रमुखमा उपमहासचिव प्रदीप ज्ञवाली, प्रचार विभाग प्रमुखमा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम, संगठन विभाग प्रमुखमा काशीनाथ अधिकारीले नै निरन्तरता पाएका छन् । यस्तै सचिव योगेश भट्टराईले संसदीय विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।
२. संक्रमणकालीन न्यायबारे सहमति
बिहीबार गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा भएको छलफलमा नेपालको शान्ति प्रक्रियाको एक अङ्ग रहेको सङ्क्रमणकालीन न्यायमा ‘आइस ब्रेक’ भएको छ ।
लामो समयदेखि दलहरू यो विवादमा दुई ध्रुवमा उभिएका थिए । तर प्रमुख तीन राजनीतिक दलका नेता संलग्न संयन्त्रले सहमति जुटाएसँगै अब विधेयक अघि बढ्ने आशा बढेको छ । ‘बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक’ अहिले संघीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिमा छ । यो विधेयक अब केही दिनमै अघि बढ्ने समितिकी सभापति बिमला सुवेदीले बताइन् ।
३. भाग्यमानी शंकर
भारतका लागि नेपाली राजदूत डा शंकर शर्माको म्याद हिजोदेखि सकिएको छ ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले फिर्ता बोलाएका राजदूत शर्मालाई नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारले साउन २ देखि लागु हुने गरी १५ दिनका लागि म्याद थपेको थियो ।
तत्कालीन एमाले–माओवादी गठबन्धन सरकारले गत जेठ २४ गते राजदूत शर्मासहित ११ वटा देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । फिर्ता हुनका लागि सरकारले जेठ ३० गतेदेखि एक महिनाभित्र फर्किन पत्र पठाएको थियो ।
४. प्रदेश प्रमुखको शपथ
नवनियुक्त तीन जना प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले तीनै जना प्रदेश प्रमुखलाई शपथ गराएका हुन् ।
५. ओलीको विदेश भ्रमण
नेपालमा नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै एउटा चर्चा सुरु हुन्छ– प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण कहाँबाट ? नेपालका प्रधानमन्त्रीहरूको पहिलो विदेश भ्रमण भारतबाट सुरु हुने चलन जस्तै बनिसकेको छ । झुक्किएर कसैले अन्य देशबाट आफ्नो भ्रमण सुरु गरे, त्यो विवादमा पर्छ ।
साउन ३१ गते प्रधानमन्त्री पदमा शपथ लिएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण कहाँबाट हुने चर्चा सुरु भइसकेको छ । प्रधानमन्त्री ओलीलाई भारत र चीन दुवै देशबाट निम्तो आइसकेको छ ।
६. कथा बाचकको ट्रोल बनेपछि
राजधानीको पशुपतिस्थित वनकाली क्षेत्रमा आयोजित कोटिहोममा प्रवचन दिने क्रममा ‘ट्रोल’ भएपछि चन्द्रकला सखीले आफ्नो गल्ती स्वीकार गरेकी छन् । उनले आफू कुनै विदुषी नभएकाले सामान्य त्रुटिहरू हुनसक्ने बताएकी हुन् ।
७. माओवादीलाई धक्का
नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको ७ बुँदे सहमतिले तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्रलाई निकै धक्का लागेको छ । २०७९ को निर्वाचनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा तेस्रोपटक सरकारको नेतृत्व गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्ततः ओलीकै कारण पदमुक्त भए ।
८. सेयर बजार
साताको कारोबारको अन्तिम दिन सेयर बजार परिसूचक (नेप्से) ५.२९ अंकले घटेको छ ।
नेपाल स्टक एक्सजेन्जका अनुसार यस दिन नेप्से २ हजार ७५५.६२ को बिन्दु कायम हुँदा ५ करोड १३ लाख २१ जहार ६२९ कित्ता बराबरको २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
९. सुदूरपश्चिमको लफडा
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसभित्र हानथाप बढेको छ । नेकपा एमाले र कांग्रेसबिच भएको सहमति अनुसार सुदूरपश्चिमको मुख्यमन्त्री कांग्रेसले पाउनेछ ।
पूर्वमुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, पूर्वभौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा र प्रदेश सभा सदस्य बहादुर सिंह थापा गरी ३ जना मुख्यमन्त्रीका दाबेदार छन् । उनीहरूले नेताहरूसँगको भेटघाट र छलफललाई तीव्रता दिएका छन् ।
१०. रास्वपामा हेरफेर
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा केन्द्रीय समितिको अद्यावधिक विवरण बुझाएको छ ।
गत असार १९ गते महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट डा। मुकुल ढकाललाई निलम्बन गरेको रास्वपाको असार २५ गते बसेको केन्द्रीय समितिको बैठकले अनुशासनात्मक कारबाही गर्दै उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय समितिको सदस्य समेतको जिम्मेवारीबाट पदमुक्त गरेपछि रास्वपाले बिहीबार आयोगलाई केन्द्रीय समितिको अद्यावधिक विवरण बुझाएको हो ।
थप समाचार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान
-
रङ्गशालामा लाग्यो ओली विरुद्ध मुर्दावादको नारा
-
दिल्लीमा तीव्र वायु प्रदुषण
-
महाकविको ११६ औँ जन्मजयन्तीको अवसरमा कविता वाचन
-
बंगलादेशसँग हारेसँगै राजेन्द्र तामाङद्वारा मुख्य प्रशिक्षक छाड्ने घोषणा
-
प्रहरीका दुई जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस