बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

गुरुदेव कामतको निधनमा संगीतकर्मी भन्छन्– ‘शास्त्रीय संगीतको मुहान सुक्यो ’

बिहीबार, १७ साउन २०८१, १७ : ४४
बिहीबार, १७ साउन २०८१

काठमाडौँ । हजारौँ नेपाली संगीतकर्मीका गुरु गुरुदेव कामतको निधन भएको छ । शास्त्रीय सङ्गीतको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त सङ्गीतकार तथा गायक कामतको ६९ वर्षको उमेरमा बिहीबार आफ्नै जन्मथलो सिराहाको लक्षमपुर पतारी गाउँपालिका–२ पोखरभिण्डामा उनको निधन भएको हो ।

२०१२ साउन १७ गते जन्मिएका संगीतकार कामतको संयोग पनि कस्तो । उनको मृत्यु पनि जन्मदिन परेकै दिनमा भयो ।  ४ दशक बढी संगीत प्रशिक्षणमा बिताएका कामतको निधनले नेपालको शास्त्रीय संगीत क्षेत्रमा ठुलो धक्का लागेको गायक यम बराल बताउँछन् ।

कामत नेपाल सरकारबाट संरक्षित हुनुपर्ने व्यक्ति भए पनि त्यो हुन नसकेका कारण उनलाई गुमाउनुपरेको बरालको भनाई छ ।

‘२०४९ सालमा अधिराज्यव्यापी आधुनिक गीत सम्मेलनमा कामतसँग मेरो पहिलो भेट भएको थियो । त्यो कार्यक्रममा हामी दुवैले भाग लिएका थियौ । सो समय म प्रथम र उहाँ दोस्रो हुनु भएको थियो’, बरालले भने, ‘त्यसपछि मैले उहाँसँग संगत गरे । उहाँ शास्त्रीय सङ्गीतको राम्रो ज्ञाता हुनुहुन्थ्यो ।’

कामत जस्तो शास्त्रीय संगीतका ज्ञाता नेपालमा अन्य कोही नभएका बरालको भनाई छ । ‘शास्त्रीय संगीतका ज्ञाता कामतसँग मैले पनि जति सिक्नुपर्ने थियो । त्यो सिक्न सकिन । यसको पछुतो सधैँ रहन्छ’ बरालले थपे ।

त्यस्तै, चर्चित सङ्गीतकार अर्जुन पोखरेल कामतको निधनले शास्त्रीय सङ्गीतको एउटा मुहान सुकेको बताउँछन् । कामतसँग केही समय आफूले पनि संगीत सिक्नेको बताउने पोखरेल कामतलाई नेपाली संगीत र राष्ट्रले चिन्न नसकेकोमा दुःखी छन् ।

‘सङ्गीतको सुरुवाती समयमा मैले तीन महिना संगीत सिक्ने मौका पाएको थिए’, संगीतमा करियर बनाउन चाहने मानिसका लागि उहाँ नभई नहुने प्रशिक्षक हुनहुन्थ्यो ।’ पछिल्लो समय भन्दा पनि एक दशक अगाडिका शतप्रतिशत संगीतकर्मीले उनका चेला भएको पोखरेलको भनाई छ ।

‘ध्रुपद, धमार, ठुमरी गायनमा उहाँको पक्कड थियो । तानमा गमकको गज्जबको मिश्रण थियो’, पोखरेलले भने ‘उहाँ जुन कला केन्द्रमा पढाउनुहुन्थ्यो । त्यहाँ संगीतका विद्यार्थीको भिड लाग्थ्यो ।’

गायिका टिका प्रसाईँ पनि कामतलाई शास्त्रीय संगीतको मुहानको रूपमा चर्चा गर्छिन् । आफूले संगीत यात्राको सुरुको समय देखिनै उनको आर्शिवाद पाएकोले अहिलेको गन्तव्य तय गर्न सफल भएको उनको भनाई छ ।

‘मैले क्लासिक र शास्त्रीय संगीतको प्रशिक्षण उहाँबाटै लिएको हो’, प्रसाईँ भन्छिन्– ‘फुर्सद भयो कि म उहाँको क्लासमा गएर बस्थे ।’ क्लासिकल संगीतको अलवा सबै प्रकारका गीतको कम्पोज पनि राम्रो गर्नुहुन्थ्यो ।

‘अघिल्लो पुस्ता, पछिल्लो पुस्ता सबैका गुरु हुनुहुन्थ्यो’, प्रसाईले थपिन् ‘उहाँसँग संगीत प्रशिक्षण नलिएको नेपाली सांगीतिक फटमा दश प्रतिशत पनि पाउन मुस्किल छ । ‘आँखामा राख्दा पनि नबिझाउने एउटा व्यक्तिको अन्त्य भयो भनेर म पत्याउन सकिरहेको छैन’ प्रसाईंले भनिन् । 

कामत लामो समयदेखि दुवै मृगौलामा समस्याबाट पीडित थिए । कामतले ४ दशक बढी समय संगीत प्रशिक्षकमा  बिताएका छन् । ‘सादा जीवन उच्च बिचार’ का कामतमा लोभ, मोह केही थिएन । कर्ममा विश्वास गर्ने उनी सधैँ आफ्नो जीवन चर्चा भन्दा बाहिर राख्न रुचाउँथे । त्यसैले पनि उनीसँग संगीति सिकेका हजारौँ संगीतकर्मी चर्चामा हुँदा उनी सधैँ छायामा रहन्थे ।

४ दशक काठमाडौँमा संगीत प्रशिक्षकका रूपमा बिताएका कामतले संगीतको ज्ञान भारतमा लिएका थिए । पछिल्लो समय आर्थिक समस्याका कारण काठमाडौँमा उपचार गराउन समस्या परेको कारण उनी एक महिनाअघि मात्र गाउँ फर्किएका थिए ।

दर्जनौँ संगीतका संघ–संस्थामा प्रशिक्षकको रूपमा काम गरेका कामतको उपचारमा सहयोग जुटाउन खासै पहल भएन । आर्थिक अभावका कारण उपचार हुन नसक्दा अन्ततः बिहीबार उनले अन्तिम सास लिए । उनको आजै अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप