सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

सुदूरपश्चिममा मुख्यमन्त्री बन्न कांग्रेसभित्र हानथाप

बिहीबार, १७ साउन २०८१, १७ : ०९
बिहीबार, १७ साउन २०८१

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसभित्र हानथाप बढेको छ । नेकपा एमाले र कांग्रेसबिच भएको सहमति अनुसार सुदूरपश्चिमको मुख्यमन्त्री कांग्रेसले पाउनेछ ।

पूर्वमुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, पूर्वभौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा र प्रदेश सभा सदस्य बहादुर सिंह थापा गरी ३ जना मुख्यमन्त्रीका दाबेदार छन् । उनीहरूले नेताहरूसँगको भेटघाट र छलफललाई तीव्रता दिएका छन् ।

चार जनामध्ये प्रकाश देउवाको सम्भावना बलियो रहेको बताइएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा छलफल गरेर फर्किएका प्रदेश सभा सदस्य प्रकाश बमले मुख्यमन्त्रीमा प्रकाशबहादुर देउवाको सम्भावना बलियो रहेको सुनाए । तर पार्टी सभापति देउवाको आधिकारिक निर्णय भने आउन बाँकी रहेको उनको भनाइ छ । प्रकाश देउवा सभापति देउवाका भतिजासमेत हुन् ।

तर निवर्तमान मुख्यमन्त्री समेत रहेका शाहले हालसम्म कुनै निर्णय नभएको र माहोल आफ्नो पक्षमा रहेको दाबी गरेका छन् । दलको नेता समेत आफू नै रहेकाले आफ्नो पक्षमा निर्णय हुनेमा आशावादी रहेको उनले सुनाए ।

शाह बाहेकलाई मुख्यमन्त्रीको जिम्मेवारी दिइएको अवस्थामा संसदीय दलको जिम्मेवारी पनि फेरबदल हुने बताइएको छ ।

शुक्रबार नै कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठक समेत आह्वान गरिएको छ । सोही बैठकबाट सबै जिम्मेवारी तय हुने बताइएको छ ।

सुदूरपश्चिम संसदीय दलभित्र प्रकाश देउवा प्रभावशाली मानिन्छन् । शक्ति केन्द्र निकट मानिने उनको पक्षमा बहुमत सदस्य रहेको बताइएको छ । उनी कैलाली निर्वाचन क्षेत्र नं. ५ (२) बाट निर्वाचित भएका हुन् ।

सुदूरपश्चिममा नेपाली कांग्रेसका १८ जना प्रदेश सभा सदस्य छन् । यहाँ कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टी (रेशम पक्ष)को संयुक्त सरकार बन्ने देखिएको छ ।

यसैबिच शुक्रबार नै मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा सचिवालयमा पत्र पठाइएको छ । मुख्यमन्त्री सोडारीले पठाएको पत्रका आधारमा प्रदेश सभा बैठक आह्वान गरिएको छ ।

असार १७ गते एमाले र काग्रेसबिच भएको राजनीतिक सहमतिपछि सोडारी नेतृत्वको सरकारमा रहेको एमाले बाहिरिएको थियो । त्यस यता सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ । मुख्यमन्त्री सोडारीले विश्वासको मत नपाउने निश्चित भएको हुँदा कांग्रेसभित्र प्रदेश सरकारको नेतृत्वका लागि दौडधुप बढेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप