हवाई हमलामा हमासका सेना प्रमुखको मृत्यु भएको पुष्टि
तेल अभिभ । गत महिना गाजापट्टीमा भएको एउटा हवाई हमलामा हमास सेनाको प्रमुख मोहम्मद डाइफको मृत्यु भएको छ । उनको मृत्युको पुष्टि इजरायलको सेनाले गरेको हो । जुलाई १३ मा खान युनिस क्षेत्रमा डाइफलाई लक्षित गरेर हमला गरिएको थियो । उनको मृत्युको हमासले भने पुष्टि गर्न बाँकी छ ।
अक्टोबर ७ मा दक्षिणी इजरायलमा १ हजार २०० जनाको ज्यान जाने गरी भएको हमलाको योजनाकारमध्ये डाइफ पनि एक रहेको इजरायलले बताउँदै आएको थियो । तेहरानमा इजरायलले गरेको हवाई आक्रमणमा हमासका शीर्ष नेता इस्माइल हानियाको हत्या भएको एक दिनपछि इजरायलको यो घोषणा आएको हो ।
डाइफ हमासको सैन्य इकाई इजेदिन अल–कासम बिग्रेडका प्रमुख हुन् । दशकौँसम्म उनी इजरायलको मष्ट वान्टेडको सूचीमा थिए । यसअघि पनि पटक पटक उनको हत्याको प्रयास भएका थिए । तर यस अघिका सबै प्रयासमा उनी बाँच्न सफल भए । सन् २००२ मा उनलाई मार्न रचिएको षडयन्त्रमा भने डाइफले आफ्नो एक आँखा गुमाएका थिए ।