आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

इङ्ल्यान्डका रुट नवौँ पटक टेस्ट ब्याट्सम्यान वरीयताको पहिलो स्थानमा

बिहीबार, १७ साउन २०८१, १६ : २३
बिहीबार, १७ साउन २०८१

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा जारी पछिल्लो टेस्ट ब्याट्सम्यानहरुको वरीयतामा इङ्ल्यान्डका जो रुट पहिलो स्थानमा आसिन छन् । उनी नवौँ पटक टेस्ट ब्याट्सम्यान वरीयताको पहिलो स्थानमा उभिएका हुन् ।  

३३ वर्षीय रुट न्युजिल्यान्डका केन विलियम्सनलाई पछि पार्दै टेस्ट ब्याट्सम्यान वरीयताको पहिलो स्थानमा उक्लिएका थिए । पछिल्लो वरीयतामा ३३ वर्षीय विलियम्सन दोस्रो स्थानमा छन् । बर्मिङ्घममा सम्पन्न वेस्ट इन्डिजविरुद्धको टेस्टमा रुटले पहिलो पालीमा ८७ रन बनाएका थिए ।

जुलाई अन्तिम साता सम्पन्न त्यो टेस्टमा इङ्ल्यान्ड १० विकेटले विजयी भएको थियो । त्यही पालीले नै उनलाई पहिलो स्थानमा कायम राख्न मद्दत ग¥यो । पछिल्लो वरीयतामा पाकिस्तानका कप्तान बाबर आजम तेस्रो स्थानमा छन् ।

यसैगरी, न्युजिल्यान्डका ड्यारल मिचेल चौथो र अस्ट्रेलियाका स्टिभन स्मिथ पाँचौँ स्थानमा रहेका छन् । भारतीय टोलीका कप्तान रोहित शर्मा छैटौँ, इङ्ल्यान्डका ह्यारी ब्रुक सातौँ, भारतका यशस्वी जैसवाल आठौँ, श्रीलंका दिमुथ करुणारत्ने नवौँ र भारतका विराट कोहली दशौँ स्थानमा आसिन छन् ।

रुटले टेस्ट क्रिकेटमा एक सय ४३ खेल खेल्दै कुल १२ हजार २७ रन बनाइसकेका छन् । यस क्रममा उनले ३२ सतक र ६३ वटा अर्धशतक पनि प्रहार गरेका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर भने दुई सय ५४ रन हो ।

उनी टेस्ट क्रिकेटको इतिहासमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा सातौँ स्थानमा छन् । उनी केही समयअघि मात्र वेस्ट इन्डिजका महान क्रिकेटर ब्रायन लारालाई उछिन्दै सातौँ स्थानमा उक्लिएका हुन् । लाराले टेस्ट क्रिकेटमा कुल ११ हजार नौ सय ५३ रन बनाएका छन् ।

टेस्ट क्रिकेटको इतिहासमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान भने भारतका सचिन तेन्दुल्कर हुन् । सचिनले टेस्ट क्रिकेटमा कुल १५ हजार नौ सय २१ रन बनाएका छन् । रुट सन् २०१५ को अगस्तमा पहिलो पटक टेस्ट ब्याट्सम्यानहरुको सूचिमा पहिलो स्थानमा उक्लिएका थिए ।

यसअघि उनले सन् २०२३ को जुनमा पनि टेस्ट ब्याट्सम्यानहरुको वरीयतामा पहिलो स्थानमा उक्लिएका थिए । यसपटक विराट कोहली र स्टिभन स्मिथजस्ता प्रभावशाली खेलाडीहरुलाई पनि उनले पछि पारेका छन् ।

यसैगरी, पछिल्लो टेस्ट बलरहरुको वरीयतामा भने भारतका रविचन्द्रन आश्विन पहिलो स्थानमा छन् । यो सूचिमा अस्ट्रेलियाका जस हेजलउड दोस्रो, भारतका जसप्रित बुमराह तेस्रो र दक्षिण अफ्रिकाका कागिसो राबडा चौथो स्थानमा छन् ।

टेस्ट बलरहरुको वरीयतामा अस्ट्रेलियाका प्याट कमिन्स पाँचौँ स्थानमा छन् । यो सूचिमा अस्ट्रेलियाकै नाथन लियोन छैटौँ, भारतका रविन्द्र जडेजा सातौँ, पाकिस्तानका साहिन शाह अफ्रिदी आठौँ, न्युजिल्यान्डका कायले जामिसन नवौँ र श्रीलंकाका प्रभात जयसूर्या दशौँ स्थानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप