शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय

केको सम्माननीय, केको माननीय ? सबैलाई ‘श्री’ प्रयोग गरौँ : वामदेव गौतम

बिहीबार, १७ साउन २०८१, १४ : ५४
बिहीबार, १७ साउन २०८१

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कुनै पदमा भएको व्यक्तिको नामको अगाडि सम्माननीय र माननीयको सट्टामा ‘श्री’ प्रयोग गर्न आग्रह गरेका छन् । बिहीबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले राखेको सुशासन प्रवर्धनका लागि ‘राष्ट्रिय सदाचार नीति’को आवश्यकता विषयक छलफलमा भाग लिँदै गौतमले विदेशमा राष्ट्रपति होस वा प्रधानमन्त्री उसको नामको अगाडि ‘मिस्टर’ वा ‘मिसेस्’ मात्र चल्ने गरेको बताए । 

सांसद गौतमले भने,‘हामीले पाएको पदावधि हो माननीय । तर यसमा मेरो विरोध छ । अमेरिकामा जानुस् त । दुईटा शब्द छ, मिस्टर र मिसेस् । मिस्टर प्रेसिडेन्ट, आइ एम हेयर । त्यस्तै मिसेस् प्रेसिडेन्ट । यहाँ राजा थिए, श्री ५ भनिन्थ्यो । अहिले हाम्रो यहाँ सम्माननीय, माननीय र यो भन्दापनि तल हाम्रै राष्ट्रिय सभाले के के बनाएको छ । नामको अघि एउटा मात्रै राखौँ श्री । श्रीमती पनि चाहिँदैन । पुरुषको निम्ति पनि हुन्छ, महिलाका लागि पनि हुन्छ । कहाँबाट ल्याएर बोकेर हिँडेको छ, हिँडेको छ । सम्माननीय भन्ने यहाँको शब्द हो ? पुराना बेदमा लेखेको छ सम्माननीय । यो हाम्रो संस्कारसँग सम्बन्धित छैन ।’

उनले प्रधानमन्त्रीले सुशासनको भाषण गर्न नपर्ने बताउँदै ऐनको मस्यौदा पठाए राष्ट्रिय सभाले तुरुन्त पास गर्ने बताए । 

उनले सदाचार परिवारबाट विकास हुने बताउँदै मानिस जन्मिएर बोल्न थालेदेखि सुरु हुने बताए । राज्यको तर्फबाट सदाचार लागू गर्न खोजेको हो भने नीतिबाट नभई कानुन बनाएर लागू गर्न आग्रह गरे । 

उनले भने,‘सदाचार नीति सिकाउने हो भने पूर्व प्राथमिक तहको विद्यालयबाट सिकाउनुपर्छ, बच्चालाई बाबुआमाबाट सिकाउनुपर्छ । संसदबाट सिकाएर हुन्छ ?’ 

सदाचार आचार व्यवहारसँग जोडिएको बताउँदै गौतमले सदाचारलाई कानुनसँग सम्बन्धित गर्न नहुने बताए । उनले भने,‘नीति धेरै ठोस हुँदैन, सदाचार त आचरणसँग सम्बन्धित हो, त्यसलाई ल्याएर सरकारले कानुन जस्तै बनाएर लैजाने हो भने त्यो सम्भव हुँदैन । सदाचार भनेको राम्रो आचरण हो, त्यो कहाँबाट सुरु गर्ने ? राज्यले लागू गर्ने हो भने कानुन बनाएर लागू गर्नुस् । कानुन भन्दा हल्का किसिमले लागू गर्ने हो भने नियम बनाउनुस् । लोकतन्त्र र सदाचार भनेको छ मान्छेले कसरी बुझ्ने ?’

उनले सरकारले बनाएको राष्ट्रिय सदाचार नीतिको मस्यौदा नबुझिने गञ्जागोल किसिमको रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप