बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
अपराध

प्लस टू पढेका युवाको ठगी धन्दा : अनलाइनमा सामान अर्डर लिने तर डेलिभरी नदिने

बिहीबार, १७ साउन २०८१, १२ : १०
बिहीबार, १७ साउन २०८१

काठमाडौँ । कक्षा १२ सम्म पढेका रौतहटका शुभम साह र सत्यमकुमार सहनी ठगीको आरोपमा अहिले प्रहरीको अनुसन्धानमा छन् । २३ वर्षीय सत्यमले विज्ञान र २१ वर्षीय शूभमले कमर्स विषय पढेका हुन् ।

उनीहरू बजार एपमा सामानको तस्बिर राख्थे । तर, खरिदकर्ताले अर्डर गरेर एडभान्स रकम क्यूआरमार्फत भुक्तानी गरेपछि खरिदकर्तालाई ब्लक गरिदिन्थे । सामाजिक सञ्जाल फेसबुकमा ‘मार्केट प्लेस’ मा आकर्षक सामानको विज्ञापन राखेर उनीहरूले ठगीधन्दा चलाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए । काठमाडौँको कोटेश्वर बस्दै आएका उनीहरूलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

त्यति मात्र होइन, उनीहरूले ई–सेवाको कर्मचारी हौँ भनेर बैंकखाता लिंकअप, केवाईसी भेरिफाई र सेक्युर ट्रान्सफर चार्जजस्ता प्राविधिक विषयहरू मिलाइदिन्छौ भनेर ओटीपी कोड मागेर पनि ठग्ने गरेको अनुसन्धानबाट थाहा भएको छ । आरोपीहरूले ३२ जना पीडितहरूको ई–सेवामा पहुँच राखेर ठगेको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

पीडितको ई–सेवा आइडीमा पहुँच बनाएर उनीहरूले पसल, रेस्टुरेन्ट, लज र डान्सबारमा भुक्तानी गर्ने गरेको अनुसन्धानमा संलग्न डीएसपी मधु थापाले जानकारी दिए । अहिलेसम्मको अनुसन्धानबाट उनीहरूले कम्तीमा १८ लाखभन्दा धेरै ठगेको भेटिएको छ ।

अनलाइन अर्डर गरेको सामान डेलिभरी नदिएर तथा ई-सेवाको कर्मचारीको आवरणमा कति रकम लिए भन्नेमा उनीहरू नै अनभिज्ञ छन् । आरोपीहरूले प्रहरीसँग भनेका छन्– ‘कति पैसा आयो हेक्का छैन ।’

शुभमले काठमाडौँको नरेफाँटमा अनलाइन गेमका लागि ९० जनालाई शेयर गरेपछि १५ हजार रकम आउँछ भन्दै फेस स्क्यान गर्ने नाममा फोटो खिचेर सो फोटो दुरुपयोग गरेको भेटिएको छ । पीडितको फोटो र नागरिकता दुरुपयोग गरेर उनले ई–सेवा आइडी खोलेर अन्य पीडितहरूको रकम सो आइडीमा ट्रान्सफर गरेको डीएसपी थापाले बताए ।

शुभम र सत्यमको साथमा फेला परेको मोबाइल डिभाइसमा अन्य १३ जना व्यक्तिहरूको ई(सेवा वालेटको युजर आइडी र पासवर्ड फेला परेको छ । प्रहरीमा अहिले उनीहरूविरुद्ध २२ जनाले उजुरी दिएका छन् । अनलाइन अर्डर लिएर सामान नपठाएर ब्लक गरेको कुराकानीको स्क्रिन रेकर्ड उनीहरूको मोबाइलमा भेटिएको छ । अनुसन्धान अधिकृतहरूले ९ जना पीडितहरूलाई सामान डेलिभरी नदिएको तथ्य आरोपीहरूको मोबाइलमा फेला पारेको छ । 

मोबाइलमा भेटिएका विवरण विश्लेषण गर्ने काम भइरहेको डीएसपी थापाले जानकारी दिए । उनले भने–‘दुई जना आरोपीले सामाजिक सञ्जालमार्फत देशभर ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप