बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

शेयरधनीहरूले क्राउडस्ट्राइकमाथि हाले मुद्दा

बिहीबार, १७ साउन २०८१, ११ : ४६
बिहीबार, १७ साउन २०८१

वाशिङटन डीसी । अमेरिकी साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइकमाथि कम्पनीका शेयरधनीहरूले मुद्दा हालेका छन् । जुलाई १९ मा कम्पनीको सफ्टवेयरमा भएको त्रुटिपूर्ण अपडेटका विश्वभर माइक्रोसफ्ट विन्डोजका ८५ लाख कम्प्युटर क्र्याश भए । 

यसका कारण विश्वका कयौँ देशमा विमान सेवादेखि बैङ्क र अस्पतालसम्मका सेवाहरू प्रभावित भए । सो घटना घटेपछि १२ दिनको कारोबारमा कम्पनीको शेयर मूल्यमा ३२ प्रतिशतभन्दा धेरैले घटेको छ । यस क्रममा कम्पनीको २५ अर्ब डलर बराबरको बजार पुँजीकरण गुमिसकेको छ ।

कम्पनीले सफ्टवेयरको परीक्षणबारे झुटो र भ्रामक अभिव्यक्ति दिएको भन्दै शेयरधनीहरूले सामूहिक मुद्दा हालेका हुन् । यो आरोपको खण्डन गर्दै क्राउडस्ट्राइकले आफ्नो बचाउ गर्ने बताएको छ । मुद्दा टेक्सस राज्यको अष्टिनमा दायर भएको छ । 

कम्पनीको सफ्टवेयर अपडेटहरूको पर्याप्त परीक्षण भएका छन् भनेर विश्वास गर्न लगाएर कार्यकारीले लगानीकर्ताहरूलाई ठगेको आरोप मुद्दामा लगाइएको छ । मुद्दामा गत नोभेम्बर २९ देखि जुलाई २९ को बीचमा क्राउडस्ट्राइकको शेयर भएका लगानीकर्ताका लागि क्षतिपूर्ति मागिएको छ । तर क्षतिपूर्तिको रकम भने स्पष्ट खुलाइएको छैन ।

मुद्दामा मार्च ५ मा कन्फ्रेन्स कलमा कम्पनीका प्रमुख कार्यकारी जर्ज कुर्ट्जले भनेको कुरालाई उद्धृत गरिएको छ । सो कन्फ्रेन्स कलमा कुर्ट्जले कम्पनीका सफ्टवेयरहरू प्रमाणित, परीक्षण गरिएको र प्रमाणपत्र प्राप्त भएको भनेका थिए । तर जुलाई १९ मा अपडेटका लागि पठाइएको फाइलमा समस्याग्रस्त कन्टेन्ट डेटा नदेखिँदा सो समस्या भएको क्राउडस्ट्राइकले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप