शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

पेरिस ओलम्पिक : जब महान फुटबलर मार्टा रूँदै मैदानबाट बाहिरिइन्

बिहीबार, १७ साउन २०८१, १० : ५३
बिहीबार, १७ साउन २०८१

काठमाडौँ । पेरिसमा जारी ३३ औँ गृष्मकालीन ओलम्पिक खेलकुदमा महिला फुटबलको क्वार्टरफाइनल समीकरण पुरा भएको छ । समूह ‘ए’ बाट फ्रान्स, क्यानडा, कोलम्बिया तथा समूह ‘बी’बाट अमेरिका र जर्मनी क्वार्टरफाइनलमा पुग्न सफल भए ।

यसैगरी, समूह ‘सी’ बाट स्पेन, जापान र ब्राजिल अन्तिम आठमा पुग्न सफल भए । कोलम्बिया र ब्राजिल तेस्रो हुने उत्कृष्ट दुई टोलीभित्र पर्दै क्वार्टरफाइनलमा पुगेका हुन् । समूहगत चरणको आफ्नो अन्तिम खेल ब्राजिलका लागि निराशाजनक रह्यो ।

समूहगत चरणको अन्तिम खेलमा ब्राजिलको टोली स्पेनसँग ०–२ गोलले पराजित भयो । ब्राजिलकी सबैभन्दा अनुभवी खेलाडी मार्टाका लागि त्यो खेल बिर्सनलायक रह्यो । उनी खेलको पहिलो हाफको अन्तिम समयमा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएकी थिइन् ।
त्यतिबेलासम्म खेल गोलरहित बराबरीमा थियो । ३८ वर्षीया स्ट्राइकर मार्टा बाहिरिएपछि नै ब्राजिलले दुबै गोल खाएको थियो । मार्टाका लागि योभन्दा पनि खराब पक्ष के रह्यो भने, उनले अब क्वार्टरफाइनल खेल पनि गुमाउनु पर्नेछ ।

बल्लतल्ल क्वार्टरफाइनलमा पुगेको ब्राजिलका लागि क्वार्टरफाइनल खेलमा मार्टाको अनुपस्थिति ठुलो घाटाको विषय हुनेछ । क्वार्टरफाइनलमा ब्राजिलले बलियो प्रतिद्वन्द्वी फ्रान्सको सामना गर्नेछ । मार्टाले यसै वर्ष अन्तर्राष्ट्रिय खेलजीवनबाट सन्न्यास लिने घोषणा गरिसकेकी छन् ।

त्यसैले जारी ओलम्पिक उनको लागि निकै महत्वपूर्ण छ । उनी सक्रिय खेल जीवनबाट बिदा लिनुअघि देशलाई महत्वपूर्ण प्रतियोगिताको उपाधि चुमाउने धुनमा छिन् । त्यसैले स्पेनविरुद्धको खेलमा रातो कार्ड पाएपछि उनी आँशु खसाल्दै मैदानबाट बाहिरिएकी थिइन् ।

मार्टा ब्राजिलका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । मार्टासहितको ब्राजिलियन टोलीले सन् २००४ को एथेन्स र सन् २००८ को बेइजिङ ओलम्पिकमा रजत पदक जितेको थियो । ब्राजिलियन टोली दुवैपटक फाइनलमा अमेरिकासँग पराजित भएको थियो ।

मार्टा महिला विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । पुरुष विश्वकपमा पनि हालसम्म कुनै खेलाडीले मार्टाभन्दा बढी गोल गर्न सकेका छैनन् । उनले ६ वटा विश्वकपको २३ खेलमा कुल १७ गोल गरेकी छन् । पेरिस ओलम्पिकको क्वार्टरफाइनलमा अमेरिकाले जापानको, स्पेनले कोलम्बियाको, क्यानडाले जर्मनीको र ब्राजिलले फ्रान्सको सामना गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप