शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
विचार

माओवादीका तीन गल्ती, दुई विकल्प

बिहीबार, १७ साउन २०८१, १० : २३
बिहीबार, १७ साउन २०८१

पहिलो कुरा, माओवादीको विचारधारा के हो ? त्यसमा स्पष्ट हुन जरुरी छ । माओवादी नै हो कि होइन भन्ने कुरामा स्पष्ट हुन जरुरी छ । किनभने ‘माओवादी’ शब्दले कम्युनिस्ट क्रान्ति गर्ने र एकदलीय व्यवस्था स्थापना गर्ने भन्ने अर्थ दिन्छ ।

पार्टीको नाममा विचारधारा जे लेखिन्छ, त्यही अनुसारको कार्यदिशा हुनुपर्छ । यदि हो भने माओवादी आन्दोलन चीन र क्युबाको जस्तो गर्न खोज्नुपर्छ, होइन भने उसले माओवादी भन्ने शब्द हटाउनुपर्छ । अथवा नाम परिवर्तन गरेर समाजवादी केन्द्र वा नेपाल समाजवादी राख्दा राम्रो हुन्छ, यसमा उनीहरू अलमलिएको जस्तो लाग्छ । 

दोस्रो, माओवादी शान्ति प्रक्रियामा आएर आम निर्वाचनबाट पहिलोपटक सरकारमा आउँदा आफ्नै नेतृत्वमा संविधान बनाउने र पहिलो संविधान सभालाई सफल पार्ने प्रयत्न गर्नुपर्थ्यो । त्यसो नगरी पार्टी रुपमाङ्गत कटुवाल प्रकरणमा फस्यो । त्यो पार्टीले गरेको अर्को गल्ती थियो । 

तेस्रो, माओवादीले ०७४ को चुनावमा आएर एमालेसँग एकता गर्‍यो । त्यसले माओवादी अब भिन्नै ठुलो पार्टी हुन सक्दैन भन्ने मनोविज्ञान सिर्जना भएको छ । जुन पार्टी कहिल्यै पहिलो हुँदैन, त्यस्तो पार्टीमा मान्छे किन बस्छ ? अहिले माओवादीलाई सदाबहार तेस्रो दल भनिन्छ । कांग्रेस र एमालेलाई दुई ठुला दल भन्छन् । माओवादी ०६४ मा पहिलो भएको पार्टी हो । त्यतिबेला दोस्रो र तेस्रोमा धकेलिएका कांग्रेस–एमाले कसरी फर्किन सके ?  माओवादी किन सानो सानो हुँदै गयो ? यसबारे समीक्षा गर्न जरुरी छ ।

०६४ को निर्वाचनमा २९.५० प्रतिशत मत पाएको माओवादी त्यसपछि क्रमशः १५ प्रतिशत, १३ प्रतिशत र अहिले ११ प्रतिशतमा झरेको छ । हरेक निर्वाचनमा किन मत घटेको घट्यै भयो ? माओवादी फेरि ठुलो पार्टी हुन सक्छ भनेर उसका नेता तथा कार्यकर्ताले आत्मविश्वास गुमाएको जस्तो देखिन्छ । आत्मविश्वास नभएपछि कांग्रेस र एमालेसँग ओत लाग्न जान्छन् । त्यसरी ठुलो पार्टी हुनै सकिँदैन । 

यसमा माओवादीसँग दुई विकल्प छ । फेरि कांग्रेस–एमालेलाई जितेर ठुलो दलको हैसियतले देशको नेतृत्व गर्ने इच्छा राख्छ कि तीमध्ये कुनै एकसँग टाँसिएर वा भागबण्डा गरेर बस्न चाहन्छ भन्ने कुरा हो । त्यो स्पष्टता नहुँदासम्म माओवादीको भविष्य रहँदैन । 

दोस्रो, जनतालाई परिवर्तन र सुशासनमा नयाँ क्रान्ति दिने, भूमिहीनहरूको जीवनमा परिवर्तन ल्याउने, सुकुमबासीलाई जग्गा दिने, सर्वहाराहरूको शासन ल्याउने यावत सपनाहरू माओवादीले युद्धकालमा देखाएको थियो । शान्ति प्रक्रियापछि लामो समय माओवादीमा सत्तामा रह्यो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन पटक र बाबुराम भट्टराई एकपटक प्रधानमन्त्री भए । 

१८ वर्षमध्ये १५ वर्ष कुनै न कुनै रूपमा माओवादी सरकारमा छ । तर, सरकारबाट पार्टीले के डेलिभर गर्‍यो त ? क्रान्तिमा भने बमोजिम डेलिभर गर्‍यो कि आफैँ कमाऊ धन्दामा लाग्यो ? आफैँ कमाऊ धन्दामा लाग्यो भने उसलाई के साथ दिनु भनेर जनताले विश्वास नगरेको हुन सक्छ । यी सारा चिजको विश्लेषण गरेर आफूलाई सच्याएर अगाडि बढ्यो भने माओवादीको भविष्य सिद्धियो जस्तो लाग्दैन । 

अहिले पनि माओवादी तेस्रो छ । रास्वपा चौथो छ । रास्वपाको भोट र सिट पनि कम छ । तर मान्छेले माओवादी सिद्धिँदै गएको भन्छन् । रास्वपा चाहिँ उदाउँदै गएको भन्छन् । किन भन्यो त ? माओवादी सम्भावनाहीन पार्टी भइसकेको त होइन । तर, आफ्नो शक्ति क्षय हुँदै गएको बेला देशभर आन्दोलन गरेर पार्टी स्थापित हुन र नेता तथा कार्यकर्ता बनाउन सजिलो भने छैन । 

माओवादी पार्टी बारम्बार फुटेको छ । तर, फुटेर गएकाहरूले केही गर्न सकेनन् । बाबुरामले के गरे ? वैद्यले के गरे ? विप्लवले के गरे ? बादल र लेखराजले के गरे ? आहुति र किरातीले के गरे ? फुट्नेहरूले प्रचण्ड जतिको पनि गर्न सकेनन् । बरु विभाजन हुँदा माओवादी आन्दोलन र इतिहासलाई कमजोर बनाए । 

त्यत्रो युद्ध गर्दा, मर्दा र मार्दा त्यही पार्टी गौरवशाली भन्दै हिँड्ने । प्रचण्डको मात्रै रिस गरेर ती नेताहरूले पनि केही गर्न सकेनन् । यी सबै एक ठाउँमा बसेर प्रचण्डको नेतृत्वमा सामूहिक रूपमा हिँडेको भए अलि बढी पार्टीको शक्ति हुन्थ्यो होला । 

त्यसैले अब प्रचण्डले सत्ताको मोह छोडेर पाँच वर्ष कांग्रेस र एमालेसँग भागबण्डा गर्न जान्न भन्नुपर्छ । जे–जस्तो हुन्छ, चुनाव पनि एकलै लड्छु भन्नुपर्छ । बरु, आफ्नो पार्टी बनाउँछु भनेर कांग्रेस–एमालेबाहेकका वामपन्थी शक्तिहरूसँग एकता गर्नुपर्छ । 

(विश्लेषक खतिवडासँग कुराकानीमा आधारित विचार हुन्)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डम्बर खतिवडा
डम्बर खतिवडा
लेखकबाट थप