भाग्य, प्रतिभा वा समय : केले बनाउँछ मान्छेलाई अर्बपति ?
काठमाडौँ । ‘माइम आर्ट’ पढिरहेका इटालीका कम्युनिस्ट विद्यार्थी, बलमा अर्जुनदृष्टि लगाउने एक प्रतिभाशाली बालक र एक जना हाँस्य कलाकारमा के समानता हुन सक्छ ? यी तीनै जना पछि गएर एउटा निकै खास समूहको हिस्सा बने ।
हामीले यहाँ मिउचिया प्राडा, टाइगर वुड्स र जेरी सेनफिल्डबारे कुराकानी गरेका हौँ । यी तीनै जना अहिले विश्वका २ हजार ८०० अर्बपतिको सूचीमा परेका छन् । यो सूचीमा विश्वभरका अलग–अलग देशका मानिस छन् । विश्वभरका धनाढ्यको सूची तयार गर्ने अमेरिकी सञ्चार गृह फोर्ब्सका अनुसार अर्बपतिको सङ्ख्यामा अमेरिका पहिलो स्थानमा छ । सूचीमा ८१३ अमेरिकी अर्बपति छन् ।
हङकङसहित चीन दोस्रो स्थानमा छ । सूचीमा यहाँका ४७३ अर्बपति परेका छन् । २०० जना अर्बपतिसहित भारत यो सूचीमा तेस्रो स्थानमा छ । यो सूचीमा परेका व्यक्तिहरूको अर्बौंको सम्पत्तिबारे अनुमान गर्न गाह्रो छ ।
एक अर्ब भनेको सानो अङ्क होइन । १० लाख सेकेन्ड बराबर ११ दिन हुन्छ भने एक अर्ब ३२ वर्ष बराबर हुन्छ ।
८१ जनाको हातमा चार अर्ब मानिसभन्दा धेरै सम्पत्ति
केही मानिस अर्बपतिहरूको अस्तित्वलाई ठिक मान्दैनन् । विश्वका ८१ जना धनाढ्यसँग विश्वका चार अर्ब मानिसको तुलनामा धेरै सम्पत्ति छ । असमानताबारे सन् २०२३ मा अक्सफामले सार्वजनिक गरेको एउटा प्रतिवेदनमा भनिएको थियो, ‘हरेक अर्बपति नीतिगत गल्तीको परिणाम हो । बढ्दो गरिबी र बाँच्नका लागि आवश्यक स्रोत तथा संसाधनको सङ्कटका बिचमा कीर्तिमानी नाफाको साथमा फस्टाउँदै गइरहेका अर्बपति हुनु भनेको एउटा यस्तो आर्थिक व्यवस्थाको प्रमाण हो, जो मानवताका लागि काम गर्न असफल भएको छ ।’
यही असमानताका कारण धेरै देशमा आम्दानीमा करको सट्टा सम्पूर्ण सम्पत्तिमा कर लगाउने कुरा उठिरहेको छ ।
अमेरिकामा डेमोक्रेटिक पार्टीका सिनेटर एलिजाबेथ वारेनले ५ करोड डलरको सम्पत्तिमा दुई प्रतिशत र १ अर्ब डलरको सम्पत्तिमा तीन प्रतिशत कर लगाउने प्रस्ताव गरेकी छन् । तर अन्य केहीले भने धेरै धनसम्पत्तिको सम्भावनाले लाखौँ मानिसको जीवनमा सुधार गर्ने नयाँ सिर्जना र आविष्कारहरूलाई प्रोत्साहन दिने तर्क दिइरहेका छन् ।
अर्बपति सङ्ख्या बढाउन चाहन्छन् केही अर्थशास्त्री
‘हामीलाई कम होइन, अझ धेरै अर्बपति चाहिन्छ,’ अमेरिकी अर्थशास्त्री माइकल स्ट्रेनको तर्क छ । उनले नोबेल पुरस्कार विजेता विलियम नर्डहसको सिद्धान्त उद्धृत पनि गरेका थिए । यस सिद्धान्तमा नर्डहसले प्राविधिक आविष्कारबाट हुने नाफाको दुई प्रतिशतमात्र संस्थापक र आविष्कारकलाई जान्छ, बाँकी समाजमा जान्छ भनेका थिए ।
नीतिको असफलताका कारणमात्रै सबैजना अर्बपति बनेका छैनन्, बरु आफ्नै नवीनता र मेहनतले यो स्थानमा पुगेको तर्क स्ट्रेनको छ । ‘उनीहरू अर्बपति नबनुन् भनेर कामना गर्नुको सट्टा हामी उनीहरूको सफलतामा खुसी हुनुपर्छ,’ अमेरिकी अर्थशास्त्री माइकल स्ट्रेनले भने ।
अर्बपतिहरू स्वनिर्मित आविष्कारक भएको अनि उनीहरूले जीवन जीउने तरिका बदल्ने पनि उनले बताए । यसमा उनले बिल गेट्स र स्टिभ बाल्मरको उदाहरण दिएका थिए । यी दुवै जनाले ‘कम्प्युटिङ’को संसारमा क्रान्तिकारी परिवर्तन ल्याएका थिए । उनले चर्चित अमेरिकी लगानीकर्ता वारेन बफेट, जेफ बेजोस र एलन मस्कको पनि उदाहरण दिए ।
बफेट र बेजोसले खुद्रा विक्रीको क्षेत्रलाई प्रवर्द्धन गरेका थिए भने एलन मस्कले अटोमोटिभ उद्योग र अन्तरिक्ष व्यवसायमा क्रान्ति ल्याएका थिए ।
नीतिको असफलताका कारणमात्रै सबैजना अर्बपति बनेका छैनन्, बरु आफ्नै नवीनता र मेहनतले यो स्थानमा पुगेको तर्क स्ट्रेनको छ । ‘उनीहरू अर्बपति नबनुन् भनेर कामना गर्नुको सट्टा हामी उनीहरूको सफलतामा खुसी हुनुपर्छ,’ उनले भने ।
कयौँ अर्बपतिले ठुलो रकम दान पनि गरिरहेका छन् । गेट्स र बफेटले द गिभिङ प्लेजको पहल गरे । यसअन्तर्गत उनीहरूले आफ्नो जीवनकालमा आधाभन्दा बढी सम्पत्ति दान गर्ने प्रतिबद्धता जनाएका छन् ।
कोही कसरी बन्छ अर्बपति ?
मानिसहरू यत्तिकै अर्बपछि बन्दैनन् । उनीहरूको सफलताले हामीलाई हाम्रोबारे पनि कयौँ कुरा भन्छ । जुन अर्बपतिको चर्चा गरिन्छ, उनीहरूले कम वा बढी कुनै न कुनै रुपमा संसारलाई बदलेका छन् । चाहे त्यो प्राडा उत्पादन होस् वा स्टार वार्स सिनेमा होस् वा टिकटक नै किन नहोस् । अर्बपति बन्दासम्मको उनीहरूको यात्रा र दुःखका कथा पनि रोचक हुन्छन् ।
सुरुमा गुगल सर्च इञ्जिनलाई यसका संस्थापकले १० लाख डलरमा बेच्न खोजेका थिए । तर त्यतिबेला यसका लागि कोही क्रेता पाइएन । अहिले गुगलको मूल्य २३ खर्ब डलर पुगेको छ भने यसको सह–संस्थापक सर्गी ब्रिनको नेटवर्थ १ खर्ब ३५ अर्ब डलर भएको छ । यो भनेको मोरक्कोजस्ता देशको जीडीपी बराबर हो ।
मिउचिया प्राडा सन् १९६० को दशकमा इटलीमा एक वामपन्थी ‘मारिया बियान्ची’ भनेर चिनिन्थिन् । यिनले आफ्नो नाम मारिया बियान्चीबाट फेरेर मिउसिया प्राडा राख्नु अघि थिएटर स्कूलमा माइम कला पढ्दै थिइन् । माइम कला मौन अभिनयको एउटा शैली हो । यसमा अनुहारको हाउभाउ र इशाराहरू मार्फतमात्र व्यक्त गर्न खोजेको कुरा सम्झाउने कोसिस गरिन्छ ।
अमेरिकी हाँस्य कलाकार र अभिनेता जेरी सेनफिल्डका आमाबाबु दुवै अनाथ थिए । उनका बुबाले जेरीलाई कहिल्यै अँगालो हालेनन् । सायद यही कारणले गर्दा ल्यारी डेभिडले आफ्नो हिट कमेडी सेनफिल्डमा – नो हगिङ र नो लर्निङ भन्ने लाइन राखेका थिए । यी अर्बपतिहरूको सफलताले प्रायः व्यापक ऐतिहासिक, राजनीतिक र प्राविधिक प्रवृत्तिहरूको कथा पनि बताउँछ ।
अलिबाबाका सह–संस्थापक ज्याक मालाई पनि एकैसाथ उदीयमान दुई शक्तिबाट फाइदा भयो । त्यतिबेला अनलाइन खुद्रा विक्रीले गति लिइरहेको थियो भने अर्कोतिर चीन बलियो अर्थतन्त्रका रूपमा उदाइरहेको थियो । त्यहाँका जनताको समृद्धि बढिरहेको थियो ।
सफलताका अनेकौँ पाटो हुन्छन्
भाग्यले सबैभन्दा ठुलो भूमिका खेलेको यस्ता केही कथा पनि छन् । सन् १९६० को दशकको उत्तरार्द्धमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स अमेरिकामा कम्प्युटरहरू भएका केही विद्यालयमध्ये एकमा जाने गर्थे । रिहानाले त्यतिबेला अडिशन दिने मौका पाइन् जति बेला एक रेकर्ड निर्माता बार्बाडोसमा छुट्टीमा थिए । केही व्यक्तिका लागि परिवार सबैभन्दा सहयोगी साबित भए । प्रशिद्ध गायिका टेलर स्विफ्टको सम्पूर्ण परिवार आफ्नो छोरीको करियरलाई अगाडि बढाउन पेन्सिलभेनियाबाट न्यासभिल गए ।
अमेरिकी बास्केटबल खेलाडी माइकल जोर्डनकी आमाले उनलाई एडिडास वा कन्भर्स जस्ता खेलकुद कम्पनीहरूसँग कुनै पनि सम्झौता गर्नुअघि नाइकीको कुरा सुन्न सल्लाह दिएकी थिइन् । पछि यो सम्झौता खेलकुद इतिहासमा सबैभन्दा ठुलो सम्झौता साबित भयो । निःसन्देह, यी कथामा यस्ता केही क्षण छन्, जसमा स–साना घटनाहरूले यी अर्बपतिहरूको जीवन र भाग्यलाई परिवर्तन गरेको छ । तर जब अवसरको ढोका खुल्छ, सबै कुरालाई समेटेर हिँड्न जान्नु पर्छ ।
यी सबैमा एउटै कुरा समान छ भने त्यो ऊर्जा, प्रेरणा र प्रतिबद्धता हो, जुन ती व्यक्तिले आ–आफ्नो क्षेत्रमा लिएर आएका छन् । अनि उनीहरू सबैमा अगाडि बढ्ने इच्छा पनि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सालको पात बेचेर खर्च जुटाउँदै महिला
-
तनहुँको सयपत्री कतार निर्यात
-
सरसफाइमा सक्रिय महिला कामदार
-
पूर्वाधार र प्रचार अभावमा ओझेल परेको गन्तव्य ‘कोटथुम्का’
-
किसानले पाल्न छोडे हल गोरु, आधुनिक हलोले जोत्छन् खेतबारी
-
१२ बजे, १२ समाचार : 'बंगलादेशसँग हारेपछि प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी' देखि 'धनराज गुरूङमाथि अनुसन्धान गर्ने गृहमन्त्रीको भनाइ'सम्म