शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

काभा महिला भलिबलको फाइनलमा पुग्छौँ : कप्तान अरुणा शाही

बुधबार, १६ साउन २०८१, २३ : ०३
बुधबार, १६ साउन २०८१

काठमाडौँ । नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले  तयारी राम्रो भएकाले बिहीवार (भोलि) देखि शुरु हुने काभा महिला नेसन्स लिगको फाइनलमा पुग्ने बताएकी छन् ।

प्रतियोगिता अगाडि बुधवार भएको पत्रकार सम्मेलनमा अरुणाले सहभागी तीन टोली बलियो रहे पनि यस पटक तयारी राम्रो भएकाले फाइनल खेल्ने बताएकी हुन् । नेपालले बिहीबार श्रीलंकासँग खेल्दै पाँच टोली सहभागी भएको प्रतियोगिताको यात्रा शुरु गर्दैछ ।

आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन दिएमा नतिजा राम्रो आउने कप्तान अरुणाको विश्वास छ । उनले सहभागीमध्ये तीन टोली राम्रो रहेको बताइन् । रसियासँगको खेलपछि रिसिभ र डिफेन्समा सुधार भएको पनि उनले बताइन् । 

पाहुना टोली श्रीलंकाले पहिलो खेल नेपालसँग खेल्दैछ । श्रीलंकाकी कप्तान श्रीनिवासनाले नेपालसँग घरेलु समर्थकको राम्रो साथ हुने उल्लेख गर्दै राम्रो खेल्दै जित निकाल्ने बताइन् । यसपटक श्रीलंका राम्रो टोली रहेको र नतिजा पनि राम्रो हुने उनको आशा छ । 

प्रतियोगितामा सबैभन्दा बलियो टोली भारत हो । भारतले गत महिना मात्र एभिसी भलिबल च्यालेन्ज कपमा राम्रो प्रदर्शन गरेको छ । यसै प्रतियोगितामा सहभागीमध्ये एक इरानलाई हराउँदै भारत पाँचौं समेत भएको थियो ।

भारतीय महिला भलिबल टोलीकी कप्तान जिनी केएस पछिल्लो संस्करण पनि आफ्नो टोली च्याम्पियन रहेको र यस पटक पनि सोहीअनुरूप राम्रो तयारी गरिएको बताइन् । यद्यपि, उनले नेपाल र इरान पनि बलियो टोली रहेको उल्लेख गरिन् । नेपालसँग पछिल्लो भेट पनि राम्रो प्रतिष्पर्धा भएकाले यसपटक पनि सोहीअनुरूप प्रतिष्पर्धा हुने आशा व्यक्त गरिन् ।

माल्दिभ्सकी कप्तान जुजान जारिरले आफ्ना सिनियर खेलाडीहरूबिच भलिबल खेल्ने भएकाले त्यसको अभाव हुने बताइन् । यद्यपि, आफ्नो टोलीले राम्रो प्रतिस्पर्धा दिने उनको विश्वास छ ।

यस प्रतियोगितामा इरान सबैभन्दा माथिल्लो वरीयताको टोली हो । इरानलाई भारतजस्तै बलियो टोलीका रूपमा हेरिएको छ । यस पटक इरानको टोलीमा औसत २१ वर्ष उमेरका खेलाडी भएकाले यो टोली युवा छ । इरानकी कप्तान साघाएघ हासन खानीले तयारी राम्रो रहेको र यो युवा टोलीले नेपालमा राम्रो नतिजा ल्याउन इरानकी कप्तानले आशा व्यक्त गरिन् । 

यो उपाधि जित्नका लागि नेपालले झन्डै दुई महिनादेखि तयारीसमेत गरेको छ । प्रशिक्षणसँगै नेपालले विश्व भलिबलमा नै बलियो टोली रसियासँग दुई मैत्रीपूर्ण खेलसमेत खेलेको छ । यद्यपि ती मैत्रीपूर्ण खेलमा नेपालले एउटा सेट पनि आफ्नो पक्षमा पार्न सकेन । तर नेपाली टोली शारीरिक र प्राविधिक रूपमा बलियो रसियाविरुद्ध राम्रो चुनौती दिँदै सकरात्मक सन्देश दिएको छ । काभा महिला नेसन्स लिगको तयारीका लागि १४ सदस्यीय टोली घोषणा गरेको थियो । अरुणा शाहीको कप्तानीमा दुई नयाँ खेलाडी समेट्दै टोली घोषणा भएको हो । 

टोलीमा अनुभवी खेलाडी सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट र उषा भण्डारी छिन् । लिबेरो शान्तिकला तामाङ, मिडल ब्लकर कविता भट्ट, सेटर प्रगति नाथ पनि टोलीमा छिन् ।

मिडल ब्लकर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले पहिलोपटक नेपाली टोलीमा स्थान बनाएकी हुन् । यी दुईले रसियासँग प्रभाव छाडेका थिए । महत्वपूर्ण स्पाइकर प्रतिभा माली भने चोटका कारण टोलीमा छैनन् ।

नेपाली टोलीको मुख्य प्रशिक्षणमा जगदीश र सहायक प्रशिक्षकमा भरत यादव छन् । नेपालसहित पाँच राष्ट्र सहभागी हुने प्रतियोगिता साउन १७ देखि २३ गतेसम्म दशरथ रंगशालास्थित कभर्डहलमा चल्नेछ । नेपालसँगै इरान, भारत, श्रीलंका र माल्दिभ्सले प्रतियोगिता खेल्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप