१० बजे, १० समाचार
आज २०८१ साउन १६ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- काठमाडौँमा बाढी
अविरल वर्षाका कारण आएको बाढीले बगाएर काठमाडौँको बल्खुमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके घर भएका ४५ वर्षीय राम सरूप महतो छन् । उनी बल्खुस्थित सुकुम्वासी बस्तीमा बस्थे । नदीले बगाएर अड्केको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । उनले भने,‘उनको बाढीले बगाएर मृत्यु भएको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।’
- राजदूत सिफारिस
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान उल्लङ्घन गर्दै ‘सूचना लुकाएको’ अभियोगमा दोषी ठहर भएर १५ हजार जरिबाना भएको एक व्यक्तिलाई राजदूतमा सिफारिस गरेको खुलासा भएको छ । सरकारले सोमबार १८ देशका लागि राजदूत सिफारिस गरेको थियो ।
- जेलहरूको अवस्था
नेपालको विभिन्न राजनीतिक आन्दोलनमा सहभागी हुँदा जेल पुगेका पाका सांसदहरूले अहिले पनि जेलमा क्षमताभन्दा बढी कैदी बन्दी रहेको बताएका छन् । सांसदहरूले जेलको भौतिक संरचना राम्रो नभएको, सुत्नका लागि कैदीहरूले पालो गर्नुपर्ने अवस्था रहेको थाहा पाएपछि चिन्ता व्यक्त गरेका हुन् ।
- वैदेशिक रोजगार
इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा स्वास्थ्य सहायक (केयरगिभर) को रूपमा कामदार पठाउन वैदेशिक रोजगार विभागले छनोट प्रक्रिया अगाडि बढाएको छ । विभागले गत असार ११ गते सूचना निकालेर आवेदन आह्वान गरेको थियो । त्यसका लागि दुई हजार २०९ जना पुरूष र एक हजार ८१५ जना महिला गरी जम्मा चार हजार २४ जनाले अनलाइन मार्फत आवेदन भरेका छन् ।
- खेलकुद
ओलम्पिक प्रतियोगिता आयोजना गर्ने काम कुनै ख्यालठट्टा होइन । यो प्रतियोगिताको गरिमा र महत्त्व निकै बृहत् हुन्छ । आयोजना गर्ने सहर वा देशको मूल्याङ्कन पनि उच्च हुन्छ । एकपटक ओलम्पिक आयोजना गर्दा त्यस सहरमै र क्षेत्रफलका दृष्टिले देश सानो भए सम्पूर्ण देशमै आर्थिक प्रभाव पर्छ । ओलम्पिक प्रतियोगिता करिब दुई हप्तासम्म चल्छ, यद्यपि आयोजक देशले दशौँ वर्ष तयारी गर्नुपर्ने हुन्छ । अर्थात् आर्थिक लगानी पनि ठुलै हुन्छ ।
- प्रदर्शन
नेपालस्थित बङ्गलादेशी दूतावास अगाडि बुधबार प्रदर्शन भएको छ । नागरिक समाज र मानव अधिकार समाजको अगुवाइमा बसुन्धारास्थित दूतावास अगाडि विभिन्न प्लेकार्डसहित प्रदर्शन भएको हो ।
- अर्थ–वार्ता
आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिप्रति ‘नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल’ले असहमति जनाएको छ । समग्र आर्थिक क्षेत्र खासगरी निजी व्यावसायिक क्षेत्रले सकारात्मक र अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीति आएको बताइरहेका बेला अटोमोबाइल क्षेत्रको छाता संगठन नाडाले भने चित्त दुखाएको छ ।
- कामु सेनापतिमा सिग्देल
प्रधान सेनापति प्रभुराम शर्मा साउन २५ बाट बिदामा बस्दैछन् । तीन वर्षको कार्यकाल भदौ २४ मा पुरा हुनुभन्दा १ महिनाअघि उनी बिदामा बस्न लागेका हुन् । साउन २४ मा बुझ बुझारथ गरेर शर्मा बिदामा बस्न लागेको सैनिक प्रवक्ता (सहायकरथी) गौरवकुमार केसीले बताए ।
- अनुगमन
परराष्ट्र मन्त्री आरजु राणा देउवाले अहिलेको सरकारलाई स्टन्टबाजी गर्न आवश्यक नभएको बताएकी छन् । बुधबार पासपोर्ट विभाग र कन्सुलर विभागको निरीक्षण गर्दै उनले वर्तमान सरकारमा भएका पार्टीले धेरै कामहरू गरेर देखाइ सकेको भन्दै देशको लागि केही गर्न सक्छौँ भनेर देखावटी गर्न जरुरी नभएको बताएकी हुन् ।
- अपराध
काठमाडौँको मिनभवनस्थित नेपाल कमर्श क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न रञ्जन खड्कालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । २०६४ असार २६ मा ललितपुर महानगरपालिका–२२ स्थित शंखमुलमा प्राध्यापकको हत्यामा संलग्न खड्का १७ वर्षपछि पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट म्याचमा भारत विजयी
-
पुसमा म्याद सकिने ग्वार्को फ्लाई ओभरको ‘ड्रोनभ्यू’
-
प्रधानमन्त्री ओलीको प्रस्टोक्ति : चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन
-
गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा दलका भन्दा स्वतन्त्र उम्मेदवार धेरै, कसको चुनाव चिह्न के ?
-
प्रधानमन्त्रीलाई लोहनीको सुझाव : बीआरआई लिन्न भनेर निर्णय नगर्नुस्
-
पेप्सीको बिक्रीमा कर छल्ने वरुण वेभरेजलाई जरिवाना र बिगो, अमित गुप्तालाई एक वर्ष कैद