सर्वोच्चभित्रको ट्युसन सेन्टरमा कर्मचारीले लगाए ताला
काठमाडौँ । लोक सेवा आयोगले लिने परीक्षाको तयारीका लागि सर्वोच्च अदालतभित्रै ट्युसन सेन्टर सञ्चालन गरेपछि त्यसको विरोधमा तालाबन्दी गरिएको छ ।
नेपाल न्याय सेवा समूहअन्तर्गत लोक सेवा आयोगले लिने उपसचिव तहको परीक्षाको तयारीका लागि प्रतिव्यक्ति १३ हजार ५ सय रुपैयाँ उठाएर ट्युसन सेन्टर चलाएपछि नेपाल राष्ट्रिय कर्मचारी संगठनले तालाबन्दी गरेको हो ।
सर्वोच्च अदालतभित्रै शुल्क लिएर ट्युसन कक्षा सुरु गरिएपछि चर्को विरोध सुरु भएको छ । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन, सर्वोच्च अदालत विभागीय कार्यसमितिले मंगलबारदेखि सञ्चालन गरेको लोक सेवाको तयारी कक्षालाई लिएर विवाद भएको हो ।
सर्वोच्चको एनेक्स भवनको सभाहलमा बिहान साढे ६ देखि साढे ८ बजेसम्म न्याय सेवाको लोक सेवा तयारी कक्षा सञ्चालन गरिएको थियो । संगठनले ५० जनाको सिट सङ्ख्या नै निर्धारण गरेर कक्षामा सहभागी हुन साढे १३ हजार रुपैयाँ शुल्क तोकेको थियो । तयारी कक्षाको नाममा संगठनले अदालतभित्र ट्युसन सेन्टर खोल्नु ‘ठगी’ भएको भन्दै अदालतकै कर्मचारी युनियनहरूले विरोध गरेका हुन् ।