बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
उपत्यकामा बाढीको वितण्डा

काठमाडौँमा बाढीले बगाएर एक जनाको मृत्यु, उपत्यकाबाट ७० जनाको उद्धार

बुधबार, १६ साउन २०८१, २० : २४
बुधबार, १६ साउन २०८१

काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढीले बगाएर काठमाडौँको बल्खुमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके घर भएका ४५ वर्षीय राम सरूप महतो छन् । उनी बल्खुस्थित सुकुम्वासी बस्तीमा बस्थे ।

नदीले बगाएर अड्केको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । उनले भने,‘उनको बाढीले बगाएर मृत्यु भएको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।’

साउन १६ मा काठमाडौँ, भक्तपुर र ललितपुरबाट ७० जनाको उद्धार गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । बागमती, विष्णुमती, धोबिखोला, हनुमन्ते र ब्रम्हायणी नदी किनारबाट प्रभावितहरुको उद्धार गरिएको उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश मैनालीले जानकारी दिए ।

सुरक्षाकर्मीहरूले काठमाडौँबाट १८ जना, ललितपुरका २४ जना र भक्तपुरबाट २८ जनाको उद्धार गरेका हुन् । बाढीको कारण ९ जना बालबालिका प्रभावित भएका छन् ।

ललितपुर र भक्तपुरको कुखुरा फर्ममा बाढी पसेर ७ सय कुखुरा मरेका छन् ।

अविरल वर्षाका कारण ललितपुरमा ७ ठाउँमा डुबान भएको छ । ललितपुरको युएन पार्कबाट दुईजना, सुन्दरीघाटबाट ८ जना, बालकुमारी पुलबाट १ जना र महालक्ष्मी नगरपालिका–७ स्थित चागाँथलीबाट ७ जनाको उद्धार गरिएको छ । सानेपा राममन्दिरबाट ६ जना मानिस र ८ वटा खसीबाख्राको उद्धार गरिएको छ ।

अविरल वर्षाको कारण च्यासलस्थित एमालेको पार्टी कार्यालय र फुटबल मैदान जलमग्न भयो । ललितपुर महानगरपालिका–२ स्थित सानेपा हुँदै शंखमुल करिडोर जलमग्न भएको थियो । इमाडोलस्थित किष्ट अस्पताल र पवन प्रकृति स्कुल आसपासको क्षेत्र डुबानमा परेको छ । पहिरो खसेर कान्ति लोकपथको ललितपुर खण्ड अवरुद्ध भयो । बागमती गाउँपालिका–३ स्थित पाङ्दुर डोल र टाकुर्चेमा खड्क पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।

भक्तपुरमा मनोहरा खोला र महादेव खोला बस्तीमा पस्दा लाखौँको क्षति भएको छ ।  बाढीका कारण सूर्यबिनायक नगरपालिका वडा नम्बर–२ र ४ तथा मध्यपुर थिमी नगरपालिका वडा नम्बर–१ का बासिन्दा प्रभावित भएका हुन् । भक्तपुरको सूर्यबिनायक नगरपालिका–८ पुरानो जगाते स्थित कपास उद्योगमा बाढी पसेर क्षति पुगेको छ । बाढीका कारण उद्योगमा रहेको कपास, सिरक र डस्ना डुब्दा करिब १० लाखको क्षति भएको भक्तपुरका इन्स्पेक्टर टेकेन्द्र पौडेलले बताए ।

भक्तपुरका चाँगुनारायण नगरपालिका–८ स्थित साइन उडन फर्निचर उद्योगमा ब्रह्मायणी खोलामा आएको बाढी पस्दा १० लाखको क्षति भएको प्रहरीले जनाएको छ । सो उद्योग ५२ वर्षीय लक्ष्मीप्रसाद प्रजापतिले सञ्चालन गरेका हुन् । बढीका कारण उद्योगमा रहेको प्लाई र मेशिनमा क्षति पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप