बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

मर्स्याङ्दी कोरिडोरका १४ पालिका एकै ठाउँमा, एकीकृत विकासका लागि साझा कार्यक्रम गरिने

बुधबार, १६ साउन २०८१, १९ : ३४
बुधबार, १६ साउन २०८१

पोखरा । जलविद्युतका लागि महत्त्वपूर्ण मर्स्याङ्दी जलाधार क्षेत्रको एकीकृत विकास गर्न स्थानीय सरकारहरू एकै ठाउँमा जुटेका छन् । गोरखा, लमजुङ, तनहुँ र मनाङका १४ स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूको बैठकले एकीकृत विकासका लागि साझा धारणा सार्वजनिक गरेका हुन् । 

लमजुङको मर्स्याङ्दी गाउँपालिकास्थित खानीगाउँमा बसेको बैठकले ५ बुँदे निर्णय गरी सम्बन्धित निकायमा दबाबको घोषणा गरेका छन् ।

‘पालिकाले गर्न सक्ने काम यतै गर्छौं । नसकेका काममा संघ र प्रदेशसँग अनुरोध गर्ने भन्ने छ । खासगरी शिक्षा र कोरिडोर क्षेत्रमा औद्योगिक ग्राम निर्माणका लागि हाम्रो ध्यान केन्द्रित भएको छ,’ बैठकका अध्यक्ष तथा भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीले भने, ‘प्राविधिक शिक्षामार्फत गाउँको बसाइँलाई फलदायी बनाउने र उत्पादनमा आधारित कार्यक्रम लागू गर्ने हाम्रो साझा विषय हो ।’ बैठकले भदौभित्रै सुन्दर बजारमा शैक्षिक गोष्ठी आयोजना गर्ने, वर्षाका कारण भएको धनजनको क्षतिको तत्काल राहत उपलब्ध गराउने, भदौमा काठमाडौँमा पूर्वप्रधानमन्त्री र मन्त्री, सांसद, स्थानीय जनप्रतिनिधि, विज्ञहरूको उपस्थितिमा स्कुल अफ म्यानेजमेण्टको बैठक बस्ने निर्णय गरिएको त्रिपाठीले जानकारी दिए ।

यसअघिको बैठकले सुन्दरबजार नगरपालिकाका मेयर कृष्ण कोइरालाको अध्यक्षतामा शिक्षा उपसमिति गठन गरेकोमा समितिले कोरिडोर क्षेत्रका विद्यालयको अवस्था र स्थायित्वका लागि आवश्यक सुझाव सहितको प्रतिवेदन पेस गरेको छ । यस्तै, करिडोरका पालिकाहरूबिचको सहकार्यलाई मजवुद बनाउँदै लैजाने निर्णय गरिएको मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले सुनाए । ‘धेरै पालिकाहरू मिलेर कुन क्षेत्रमा लगानी गर्न सकिन्छ र कसरी एकीकृत विकास गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित छ,’ उनले भने, ‘यसबाट अन्तरपालिका असल अभ्यासको आदानप्रदान र कमजोरी सुधार्न पनि सहयोग पुगेको छ ।’

खासगरी फोहोरमैला व्यवस्थापन, एम्बुलेन्स र दमकल सञ्चालन, उद्योग स्थापना र सञ्चालन जस्ता क्षेत्रमा पालिकाहरूले एकीकृत रूपमा काम गर्न सकिने छलफलका सहभागीहरूले सुझाएका छन् । समितिमा १४ पालिकाका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत सदस्य छन् । गोरखाको पालुङटार, गोरखा नगरपालिका र शहिद लखन गाउँपालिका, तनहुँको भानु नगरपालिका, बन्दिपुर र आँबुखैरेनी गाउँपालिका, लमजुङको राइनास, सुन्दरबजार र बेंशीसहर नगरपालिका तथा दोर्दी र मर्स्याङ्दी गाउँपालिका, मनाङको नासों, चामे र मनाङ ङिस्याङ गाउँपालिका सदस्य छन् । समितिको अर्को बैठक कात्तिकको ९, १० र ११ गते चामेमा बस्ने निर्णय भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप