शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय
समिति बैठक

विगतमा आफू बसेका जेलहरूको अवस्था नसुध्रिएकोमा पाका सांसदहरूको चिन्ता

बुधबार, १६ साउन २०८१, १९ : २२
बुधबार, १६ साउन २०८१

काठमाडौँ । नेपालको विभिन्न राजनीतिक आन्दोलनमा सहभागी हुँदा जेल पुगेका पाका सांसदहरूले अहिले पनि जेलमा क्षमताभन्दा बढी कैदी बन्दी रहेको बताएका छन् । 

सांसदहरूले जेलको भौतिक संरचना राम्रो नभएको, सुत्नका लागि कैदीहरूले पालो गर्नुपर्ने अवस्था रहेको थाहा पाएपछि चिन्ता व्यक्त गरेका हुन् । 

बुधबार प्रतिनिधि सभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिमा देशका कारागारहरूको अवस्थाका बारेमा भएको छलफलमा उनीहरुले कारागार सुधार गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । गृहमन्त्री रमेश लेखक, गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, कारागार व्यवस्थापन विभागका प्रमुख जयनारायण  आचार्यसहित राखिएको बैठकमा कारागारको हालको अवस्था र सुधार गर्नुपर्ने विभिन्न पक्षहरूका बारेमा छलफल भएको थियो । 

विभिन्न दलबाट प्रतिनिधित्व गर्ने पाका सांसदहरूले आफूहरू पहिला प्रजातन्त्र, लोकतन्त्र ल्याउनका लागि बसेका जेलहरू अहिले देशमा परिवर्तन आउँदा समेत उस्तै कोचिएर बस्नुपर्ने अवस्था थाहा पाउँदा चिन्ता व्यक्त गरेका हुन । जेलमा बसेका कैदीको स्वास्थ्य उपचारका लागि उनीहरुले त्यहाँ रहेका स्वास्थ्य चौकीमा स्वास्थ्यका कर्मचारीहरू पठाउन मात्र माग गरेनन्, बेला–बेला स्वास्थ्य शिविर सञ्चालन गर्न पनि आग्रह गरे ।

राज्य व्यवस्था तथा सुशासन समितिका सबैभन्दा पाका सांसद राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले लोकतन्त्र, गणतन्त्र ल्याउनका लागि जेल बसेर आएको र अहिले माथि पुगेपछि त्यही जेललाई वास्ता नगर्ने परिपाटी रहेको बताए । 

उनले भने,‘हामी लोकतन्त्र गणतन्त्र ल्याउनका लागि जेल बसेर आयौँ तर त्यही जेललाई अहिले हामीले वास्ता गरेनौँ । अहिलेको समयमा पनि जेलमा पालैपालो सुत्नुपर्ने अवस्था ठिक होइन ।’ उनले जघन्य घटनाका अपराधीलाई कैद मिनाहा गरी सुनपानी छर्किने काम भएको र त्यस्ता मान्छेलाई सांसद मन्त्री बनाउन मिल्छ भन्दै प्रश्न गरे । उनले प्रहरीले समातेका मोटरसाइकलहरू प्रहरी चौकी अगाडि बिजोग अवस्थामा राखिएको बताउँदै त्यसलाई लिलाम गर्न वा प्रहरीले तजबिज प्रयोग गर्न दिनुपर्ने बताए । 

सांसद केसीले प्रहरीले उजुरी सुन्ने काम नगर्ने गरेको बताउँदै खोलामा बगेर आएको मान्छेलाई समेत माथिको आदेश आएको छैन भनेर उद्धारमा नलागेको बताए । 

यस्तै सांसद कृष्णगोपाल श्रेष्ठले पनि आफू विगतमा आन्दोलनका क्रममा हनुमान ढोकामा थुनामा बसेको, त्यहाँ बस्ने ठाउँ र ट्वाईलेटसँगै बिजोगको अवस्थामा रहेको स्मरण गरे । उनले कुनै जेलको नाम नलिई त्यहाँ बस्ने कैदीले खाटमा सुत्नका लागि ३ जनाले पालो कुर्नुपरेको बताएको सुनाए । उनले यस्ता विषयमा चिन्तित हुन गृह मन्त्रीलाई ध्यानाकर्षण गराए । 

उनले स्वास्थ्य मन्त्रालयसँग भनेर जेलमा रहेका स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीहरू पठाउन र बन्दी गृहलाई मानवीय संवेदना कायम राख्न आग्रह गरे । 

यस्तै सांसद सरिता प्रसाईँले पनि आफू विगतमा जेल बसेर आएको स्मरण गर्दै ज्यान मार्ने अपराधी र राजनीतिक आन्दोलनबाट जेल गएको पनि सँगै राख्ने प्रचलन रहेकोले अपराधको प्रकृति अनुसार जेलमा राख्न आग्रह गरिन् । 

सांसद प्रकाश अधिकारीले २०३६ सालदेखि २०४६ सालसम्म धेरै पटक जेलमा र थुनामा बसेको बताए । उनले पञ्चायत कालमा भन्दा पनि अहिलेको गणतन्त्रमा जेलको अवस्था खराब रहेको बताउँदै जेललाई सुधार गृह बनाउन आग्रह गरे । 

अर्का सांसद वासुदेव घिमिरेले नेपालको कारागारको व्यवस्था राम्रो नभएको बताउँदै कैदीले पाउनुपर्ने मानवोचित व्यवहार नपाएको र उनीहरूको मानव अधिकार हननको अवस्था रहेको बताए । कारागारमा कैदी र थुनुवा कक्ष व्यवस्थित नहुँदा उनीहरू मानसिक समस्यामा रहेकोले त्यसले अर्को अपराध सिर्जना हुने खतरा रहेको बताए । उनले जेलमा आवश्यक ट्वाइलेट, खानेपानी, खाने बस्ने प्रबन्ध गर्न आग्रह गरे । 

सांसद राजेन्द्र पाण्डेले १६ हजार क्षमता भएका देशका कारागारमा क्षमता भन्दा बढी २८ हजार कैदी बन्दी राख्दा सुरक्षा संवेदनशीलता गम्भीर रहेको बताए । आफू बागमती प्रदेशको मुख्यमन्त्री भएका बेलामा प्रदेशभित्र प्रहरीसँग समन्वय गरेर प्रहरी चौकी निर्माणमा सहयोग गरेको बताउँदै अरू प्रदेशहरूले पनि यसमा ध्यान दिनुपर्ने बताए । 

सांसदहरूको भनाई सुनेपछि गृहमन्त्री रमेश लेखकले कारागारको भौतिक संरचना सुधारका लागि आर्थिक समस्या रहेको औँल्याए । उनले कारागारमा स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार तयार रहेको बताउँदै कैदी बन्दीको मानव अधिकार संरक्षणका लागि सरकारले उचित कदम चाल्ने जानकारी गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप