बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

राष्ट्रिय परिचयपत्र वितरणलाई तीव्रता दिन गृहमन्त्री लेखकको निर्देशन

बुधबार, १६ साउन २०८१, १९ : ०२
बुधबार, १६ साउन २०८१

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । बुधबार सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निरीक्षण गर्दै गृहमन्त्री लेखकले राष्ट्रिय परिचयपत्र वितरण कार्य सुस्त भएको बताए ।

‘राष्ट्रिय परिचयपत्र बनाउन १ करोड ५१ लाखको विवरण संकलन भइसकेको छ । कार्ड छपाई ४३ लाख भइसकेको छ । ७६ लाख कार्ड छाप्न बाँकी छ,’ उनले भने, ‘वितरणको सङ्ख्या एक दम कम भयो । अरू सबै कुरा ठिक छ । ८ लाख ४७ हजार मात्र हामीले वितरण गरौँ । वितरणको पाटोलाई तीव्रता दिनुहोला ।’

गृहमन्त्री लेखकले राष्ट्रिय परिचयपत्र सरकारको सुशासन सम्बन्धित रहेको पनि बताए ।  ज्येष्ठ नागरिकलाई घर–घर गएर राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने गरी अगाडि बढ्न गृहमन्त्री लेखकले निर्देशन दिए ।

‘सामाजिक सुरक्षा भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य बनाउने कुरा व्यवहारिक थिएन । सामाजिक सुरक्षा भत्ताका लागि त्यो अनिवार्य नगर्ने निर्णय उचित हो भन्ने मलाई लाग्छ । तर, ज्येष्ठ नागरिक बाहेकका हकमा अनिवार्य गरौँ । ज्येष्ठ नागरिकलाई घर–घर गएर राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने नीति बनाऔँ,’ उनले भने ।

राष्ट्रिय परिचयपत्र बनाउने विषयलाई तीव्रता दिन पालिकाहरूले वित्तीय समानीकरण अनुदानसँग जोड्न सकिने गृहमन्त्री लेखकको भनाइ थियो । 

राष्ट्रिय परिचयपत्र बनाउने अभियानलाई अनुदानसँग जोड्ने गरी निर्णय गरेर ल्याउन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा महानिर्देशक युवराज कटेललाई गृहमन्त्री लेखकले निर्देशन दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप