मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय
वैदेशिक रोजगारी

केयरगिभरका लागि आवेदन दिन नक्कली सर्टिफिकेट

शङ्कास्पद आवेदनलाई विभागले विभिन्न कोणबाट भेरिफाइ गर्दै
बुधबार, १६ साउन २०८१, १८ : ५२
बुधबार, १६ साउन २०८१

काठमाडौँ । इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा स्वास्थ्य सहायक (केयरगिभर) को रूपमा कामदार पठाउन वैदेशिक रोजगार विभागले छनोट प्रक्रिया अगाडि बढाएको छ । 

विभागले गत असार ११ गते सूचना निकालेर आवेदन आह्वान गरेको थियो । त्यसका लागि दुई हजार २०९ जना पुरूष र एक हजार ८१५ जना महिला गरी जम्मा चार हजार २४ जनाले अनलाइन मार्फत आवेदन भरेका छन् ।

आवेदन दिनेहरूमा केहीले नक्कली प्रमाणपत्र (सर्टिफिकेट) बनाएको आशङ्का गरिएको छ । केही आवेदन अस्वीकृत भएका छन् । त्यसरी अस्वीकृत हुनेहरूको हकमा केयरगिभरका लागि चाहिने तीन महिने कोर्षको प्रमाणपत्र नक्कली रहेको आशङ्का गरिएको छ ।

विभाग स्रोतका अनुसार आवेदन दिनेहरूमध्ये २० देखि ३० प्रतिशतले नक्कली प्रमाणपत्र बनाएका हुन सक्छन् । विभागले हरेक आवेदनमाथि गम्भीर रूपमा छानबिन गरिरहेको छ ।

विभागले आवेदन आह्वान गरेपछि केयरगिभरको तालिम प्रदान गर्न इजाजतपत्र प्राप्त तालिम प्रदायक संस्थाहरू तथा सीटीईभीटीद्वारा मान्यता प्राप्त संस्थालाई संस्था स्थापना भएदेखि हालसम्म केयरगिभरको तालिम लिएका प्रशिक्षार्थीहरूको विवरण माग गरेको थियो ।

त्यो बेला त्यस्ता संस्थाले थोरैको मात्रै विवरण पठाएका थिए । तर, पछि अनेकन बहाना बनाएर उनीहरूले थप विवरण पेस गरेको विभाग स्रोतको दाबी छ ।

‘क–कसलाई केयरगिभरको तालिम दिनुभएको छ भनेर विवरण मागेका थियौँ । माग्दा थोरैको पठाएका थिए । तर, पछि भर्दा धेरैले भरे,’ विभाग स्रोतले भन्यो, ‘अहिले पठाउन बिर्सिएछौँ, हाम्रोबाट छुट्यो भनेर विवरण पठाए । समयभित्र मागेकोभन्दा पछि थपिएर आएका छन् । ती शङ्कास्पद हुन सक्छन् ।’

विभागले इजरायल सरकारको प्रस्ताव अनुसार दुई हजार जनाका लागि आवेदन आह्वान गरेको थियो । विभागले आवेदन आह्वान गरेको सुरूमा थोरैको सङ्ख्यामा आवेदन परेको थियो । सुरूमा ८०० जनाका लागि आवेदन माग गरिएको थियो । जसमा ५०० जनामात्रै मुख्य उम्मेदवार थिए भने ३०० जना वैकल्पिक भनिएको थियो । पछि इजरायलले कोटा बढाएर दुई हजार पु¥याएको थियो ।

कम आवेदन परेपछि विभागले म्याद थप गरेको थियो । त्यसपछि भने आवेदन दिनेहरूको सङ्ख्या बढेको थियो । आवेदन दिनका लागि अनलाइन मार्फत आठ हजार ५१२ जनाले युजर आईडी बनाएका थिए । तर, त्यसमध्ये चार हजार २४ जनाले मात्रै आवेदन दिएको विभागले जनाएको छ ।

विभागको इजरायल÷जापान शाखाका निर्देशक गिरिराज ज्ञवालीले परेका आवेदनहरू भेरिफाइ गर्ने काम भइरहेको बताए । ‘शङ्कास्पद आवेदनहरू विभिन्न कोणबाट भेरिफाइ गर्दैछौँ । अहिलेसम्म दुई हजारभन्दा बढीको स्वीकृत भएको छ । तोकिएको समयभित्र सक्नेगरी लागिरहेका छौँ,’ ज्ञवालीले भने ।

नक्कली आवेदन परेको हुन सक्ने विषयमा विभाग गम्भीर छ । त्यसका लागि हरेक आवेदनमाथि भेरिफाइ गरेरमात्रै स्वीकृत गर्दै आएको उनको भनाइ छ । विभागले मागेका आवश्यक कागजात नपुगेका आवेदनहरू सुरूमै अस्वीकृत हुने उनले बताए ।

प्रमाणपत्र नै गलत भयो भनेर भेरिफाइ गरेपछि मात्रै रिजेक्ट हुने ज्ञवालीले बताए । हाल तोकिएको मापदण्ड अनुसारका आवश्यक कागजात नभएको मात्रै अस्वीकृत भइरहेको उनले बताए ।

‘एकेडेमिक सर्टिफिकेटमा कसैको १५ महिने तालिम लिएर ओजीटी नपुगेको हुन्छ, त्यो हाल्नुहुन्छ । त्यसपछि मात्रै आवेदन स्वीकृत हुन्छ । नपुगेको खण्डमा अस्वीकृत हुन्छ,’ उनले भने ।

त्यो बाहेक केयरगिभरको प्रमाणपत्रका विषयमा तालिम दिने संस्थाहरूसँग यसअघि नै विवरण माग गरिएको उनले बताए ।

त्यस्ता केस निमिट्यान्न पार्छौं : महानिर्देशक घिमिरे

विभागका महानिर्देशक डण्डुराज घिमिरेले नक्कली/सक्कली सबै छुट्ट्याउने बताए । त्यसका लागि विभिन्न विधि तथा प्रक्रिया अपनाएर अघि बढिरहेको उनको भनाइ छ ।

‘हामीले देख्ने जति छुट्ट्याउँछौँ । सीटीईभीटीसँग पनि सूची मागेका थियौँ । केयरगिभरको तालिम दिने संस्थासँग पनि विवरण मागेका थियौँ । हामीले अगाडि नै त्यत्रो लिष्ट मागेका छौँ,’ घिमिरेले भने, ‘कतिलाई तालिम दिएका छौ भनेर पहिला नै लिष्ट मागेका थियौँ । धेरै कडाइ गरेका छौँ । त्यति गर्दा पनि अलिकति परेका होलान् । एक पनि नपरेको भन्न सकिने अवस्था छैन ।’

विभागले माग गरेको सूची बाहेकमा आएका आवेदनहरूको हकमा सीटीईभीटीलाई सोधेको उनको भनाइ छ । त्यस्तो केस भेटिएको खण्डमा वा शङ्कास्पद लागेमा छानबिन हुने उनले बताए ।

‘त्यस्ता केस निमिट्यान्न पार्छौं । त्यस्तो शङ्का लाग्ने बित्तिकै छानबिनका लागि पठाइहाल्छौँ । अहिले झण्डै एक हजारको भेरिफाइ गरिसकेका छौँ । त्यसमध्ये २ वटा शङ्कास्पद देखियो,’ घिमिरेले भने ।  

अङ्ग्रेजी भाषाको अर्को झन्झट

आवेदन दिन विभिन्न मापदण्ड तोकिएका छन् । २५ वर्ष पूरा भइ ४५ वर्ष ननाघेको, कम्तीमा १.५ मिटर उचाइ र ४५ किलोग्राम तौल भएको, कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा प्लस टु वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभर सम्बन्धी तीन महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने भन्ने छ ।

त्यसका साथै अङ्ग्रेजी भाषा समेत अनिवार्य छ । त्यसका लागि अङ्ग्रेजी भाषा परीक्षणको प्रमाण–पत्रका रूपमा ब्रिटिस काउन्सिलबाट लिइएको फाउण्डेशन इंगिल टेष्ट (फेइटी) को कम्तीमा ए–२ लेभलको प्रमाणपत्र पेस गर्नुपर्ने हुन्छ ।

विगतमा सामान्यतया अङ्ग्रेजी भाषा जानेको र ब्रिटिस काउन्सिल मात्रै नभइ जुनसुकै निकायबाट समेत प्रमाणपत्र लिनुपर्ने व्यवस्था थियो । यो पटक भने ब्रिटिस काउन्सिलबाटै ए–२ लेभलको अङ्ग्रेजी भाषा पास गरेको हुनुपर्ने मापदण्ड तय गरिएको हो ।

यसअघि २०७८ सालमा एक हजार जनाको लागि आवेदन माग गरिएको थियो । त्यो बेला इजरायली भाषा (हिब्रु) अनिवार्य थियो । यो पटक भने हिब्रु अनिवार्य छैन । ए–२ लेभलको अङ्ग्रेजी भाषाको प्रमाणपत्र अनिवार्य गरिएको हो । त्यो पनि ब्रिटिस काउन्सिलबाट लिनुपर्ने भनेपछि धेरैले सास्ती खेप्नुपरेको थियो । विभागले यसअघि नै अङ्ग्रेजी भाषा परीक्षाको जाँच दिइसकेपछि परिणाम प्राप्त गर्न समय लाग्ने भएकाले ब्रिटिस काउन्सिलबाट लिइने फाउण्डेशन इंग्लिस टेष्ट (एफईटी) का लागि साउन १ गतेसम्म आफ्नो नाम र विवरणसहित उक्त दर्ता प्रणालीमा रजिष्ट्रेशन गरी परीक्षामा सामेल हुने प्रक्रिया पूरा गर्न भनेको थियो ।

निकै झन्झटिलो प्रक्रियाका कारण केयरगिभरको तालिम लिएकाहरूले समेत अङ्ग्रेजी भाषाको प्रमाणपत्रका कारण आवेदन दिन नपाएको कतिपयको गुनासो छ । महानिर्देशक घिमिरेले भने इजरायलमा काम गर्ने क्रममा भाषागत समस्या देखिएकाले अङ्ग्रेजी भाषा अनिवार्य गरिएको बताए ।

‘हिब्रु भाषा कहिले काहीँमात्रै बोलिने देखियो । तर, कामदारले अङ्ग्रेजी भाषा राम्रोसँग जानेको हुनुपर्ने देखिएपछि ए–२ लेभलको भाषा अनिवार्य गरिएको हो । यो इजरायलकै अनुरोधमा गरिएको हो,’ घिमिरेले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप