आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

पेरिस ओलम्पिक : चर्को गर्मीका कारण हैरान खेलाडी

बुधबार, १६ साउन २०८१, १७ : ४१
बुधबार, १६ साउन २०८१

काठमाडौँ । गृष्मकालीन ओलम्पिक खेलकुदको ३३ औँ संस्करण अहिले फ्रान्सको राजधानी सहर पेरिसमा जारी छ । पेरिस ओलम्पिकमा पाँचौँ दिनको खेल समाप्त भइसकेको छ । विश्वभरका नामुद खेलाडीहरू आफ्नो उत्कृष्ट सिद्ध गर्न मैदानमा तछाड–मछाड गर्न व्यस्त छन् ।

तर, पेरिसको मौसमले यतिबेला खेलाडीदेखि दर्शकसम्मलाई हैरान पारेको छ । प्रतिकुल मौसमका कारण स्थानीय आयोजक पनि समस्यामा परेका छन् । मौसमले साथ नदिएपछि ट्रायथलनको त स्पर्धा नै स्थगित गर्नुपरेको छ । जारी ओलम्पिकको उद्घाटन समारोहदेखि नै मौसले सास्ती दिन थालेको थियो । शुक्रबार उद्घाटन समारोह चलिरहँदा पेरिसमा भारी वर्षा भएको थियो । वर्षाका कारण उद्घाटन समारोहसमेत प्रभावित हुन पुगेको थियो ।

तर, अहिले चर्को गर्मीका कारण खेलाडीदेखि दर्शकसम्म समस्यामा परेका छन् । मंगलबारदेखि त गर्मी झनै बढेको छ । मंगलबार पेरिसको तापमान ३६ डिग्री सेल्सियससम्म पुगेको थियो । अघिल्लो महिना नै मौसमविदहरुले पेरिसमा चर्को गर्मी हुने चेतावनी जारी गरेका थिए ।

अत्यधिक गर्मीका कारण खासगरी खेलाडीहरू बढी प्रभावित भएका छन् । जर्मनीका हकी खेलाडी क्रिस्टोफर रुहरले चर्को गर्मीका कारण आफूहरू आत्तिएको बताएका छन् । ‘निकै गर्मी छ । खेलाडीहरू आत्तिएका छन् । पानीमा बरफ मिसाएर नुहाउँदा पनि गर्मी कम हुँदैन,’ उनले भनेका छन् ।

Paris Olympic Heat 2

खेलाडीले चर्को गर्मीबाट राहत पाउन बरफ राखिएको स–साना बट्टा र चिसो पानीले भिजाएको तौलिया प्रयोग गरिरहेका छन् । बेलायती हर्स राइडर कार्ल हेस्टर पनि चर्को गर्मीका कारण आहत छन् । ‘चर्को गर्मी हाम्रो सबैभन्दा ठुलो समस्या हो । म भन्दा पनि मेरो घोडा अझ बढी अप्ठ्यारोमा छ । यसले मेरो खेलमै प्रभाव पार्ने हो कि भन्ने चिन्ता पनि थपेको छ,’ उनले भनेका छन् ।

यसैगरी, अमेरिकी जिमन्याष्टिक खेलाडी सिमोन बिल्सले पनि आफू चर्को गर्मीबाट हैरान भएको बताएकी छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गरेकी हुन् । ‘एयरकन्डिसनले पनि नथेग्ने अवस्था छ । अझ बसमा त एसी नै छैन । लाग्छ म नौ हजार डिग्री सेल्सियस तापक्रममा उसिनिएकी छु,’ उनले भनेकी छन् ।

बीच भलिबलका खेलहरू एफिल टावर नजिकै भइरहेको छ । तर, चर्को गर्मीका कारण बीच भलिबलका खेलाडी पनि हैरान छन् । दर्शकको अवस्था पनि खेलाडीको भन्दा फरक छैन । स्वयंसेवकहरू पनि दर्शकलाई चिसो पानी छर्कनमा व्यस्त देखिन्छन् ।

‘धेरै नै गर्मी छ तर, इजिप्टको जस्तो होइन,’ हिजाब लगाएर बीच भलिबल खेलेपछि असिन–पसिन भएकी इजिप्टकी खेलाडी डोआ एल्घोबेसीले भनिन् । न्युजिल्यान्डको महिला रग्बी खेलाडीले पनि आफूहरू चर्को गर्मीका कारण आत्तिएको बताएका छन् ।

‘हामीले प्रयोग गर्न केही बाँकी राखेका छैनौ । चिसो पानी, बरफ, एयरकन्डिसन, आइसक्रिसजस्ता हरेक कुरा प्रयोग गरिरहेका छौँ तर, अवस्था उस्तै छ,’ न्युजिल्यान्डको महिला रग्बी टोलीकी कप्तान सराह हिरिनीले भनेकी छन् ।

फ्रान्सका प्रधानमन्त्री गेब्रियल एटलले पनि सर्वसाधारणलाई सम्बोधन गर्दै अत्यावश्यक काम नपरेसम्म दिउँसोको समयमा घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन् । फ्रान्सको जल तथा मौसम विज्ञान विभागले अझ केही दिन गर्मी बढ्ने चेतावनी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप