बागमती प्रदेशसभा: एउटा विधेयक पारित, प्रतिपक्षको उपस्थिति न्यून
मकवानपुर । बागमती प्रदेशसभा बैठकले विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बुधबार बसेको प्रदेशसभा बैठकले उक्त विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो ।
प्रदेशसभामा सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले पेस गरेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई सभामुख भुवन कुमार पाठकले निर्माणार्थ पेस गरेका थिए । सभामुख पाठकले निर्णयार्थ पेस गरेको उक्त विधेयकलाई बैठकमा उपस्थित सांसदहरूले सर्वसम्मतले स्वीकृत गरेका थिए । सो विधेयक संसद्बाट पारित भएसँगै ऐनको रूप प्रदान गर्न प्रदेश प्रमुख समक्ष प्रमाणीकरणका लागि पठाउने संसद् सचिवालयले तयारी गरेको छ ।
त्यसअघि प्रदेशसभा बैठकले उक्त विधेयक माथि छलफल गरी शिक्षा स्वास्थ्य तथा कृषि समितिले तयार पारेको निर्णयसहितको प्रतिवेदन पेस भएको थियो भने सो उपर छलफल भएको थियो । संसद् बैठकमा मन्त्री खड्गीले पेस गरेको उक्त विधेयकको निर्णयसहितको प्रतिवेदन माथि कुनै पनि सांसदहरूले छलफलमा भाग लिएनन् । सभामुख पाठकले ३ मिनेटको समय निर्धारण गरी छलफलमा सहभागी हुन रुलिङ गरे पनि प्रदेशसभाका कुनै सांसदले छलफल गर्न चाहेनन् ।
सांसदहरूले छलफलमा भाग नलिएपछि सभामुख पाठकले विधेयकलाई पारित गर्ने प्रक्रियामा अघि बढाएका थिए ।
- प्रतिपक्ष उपस्थिति न्यून
दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठक एक घण्टा ढिलो गरी सुरु भएको थियो । प्रदेशसभा बैठकमा सत्तापक्षको बेन्च भरिभराउ थिए भने प्रतिपक्षको उपस्थिति न्यून रहेको थियो ।
बुधबारको बैठकमा प्रतिपक्षको बेञ्चमा रहेको माओवादीका २१ सांसद मध्ये ८ जनाको उपस्थिति रहेको थियो । बैठकमा दलका प्रमुख सचेतक रत्न ढकाल, भुवन केशरी श्रेष्ठ, मातृका भट्टराई, ठाकुर प्रसाद ढकाल, उर्मिला लामा, रुकु चौलागाई, देवेन्द्र श्रेष्ठ र ईश्वर सापकोटा उपस्थित भएका थिए ।
यता राप्रपाका १३ सदस्यमध्ये दलको नेता उद्धव थापा, आशा लामा, नुरज बज्राचार्य, डम्बर तामाङ, लक्ष्मी घिमिरे र धनेश्वरी प्रजापति उपस्थित थिए । अन्य ६ जना सांसद भने संसद् बैठकमा उपस्थित थिएनन् ।
उता प्रतिपक्ष दल एकीकृत समाजवादीबाट एक जना उपस्थित भएका थिए । सो दलबाट रमा आले मगर उपस्थित थिइन् भने नेमकिपा र हाम्रो नेपाली पार्टीबाट संसद् बैठकमा कुनै पनि सांसद देखिएनन् ।
बैठकमा एमालेका २७ र कांग्रेसका ३६ सांसद उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य घटाएपछि तीन महासंघको संयुक्त विज्ञप्ति, के छ प्रतिक्रिया ?
-
बागमती लोकसेवा सदस्यमा खड्का नियुक्त
-
प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन प्रतिबद्ध छौँ : प्रचण्ड
-
रविलाई बुद्ध एयरको विमानमार्फत काठमाडौँ ल्याइँदै
-
पूर्व मुख्यसचिव जोडिएको अन्तःशुल्क भ्रष्टाचारमा सजाय निर्धारण
-
एनपीएल खेल्न आइपुगे न्युजिल्याण्डका प्रभावशाली खेलाडी मार्टिन गप्टिल