आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

पेरिस ओलम्पिक : सात महिनाकी गर्भवती भन्छिन्, ‘मेरी छोरी पनि मसँगै खेलिरहेकी थिइन्’

बुधबार, १६ साउन २०८१, १५ : ३३
बुधबार, १६ साउन २०८१

काठमाडौँ । ओलम्पिकजस्ता ठुला अन्तर्राष्ट्रिय प्रतियोगितामा विश्वभरका हजारौँ खेलाडीको सहभागिता रहने गर्छ । यस्ता प्रतियोगितामा सहभागी हुने हरेक खेलाडीसँग आ–आफ्नै कथा–व्यथा जोडिएको हुन्छ ।

हाल पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिकमा पनि विभिन्न समस्यासँग जुध्दै देशका लागि पदक जित्ने लालसा बोक्ने खेलाडीको कुनै कमी छैन । त्यसैमध्ये एक हुन्, इजिप्टकी फेन्सिङ खेलाडी नाडा हाफिज ।

जारी ओलम्पिकमा नाडाको पहिलो भिडन्त बेलायती खेलाडीसँग परेको थियो । त्यो खेलमा उनी विजयी भएकी थिइन् । उनको प्रदर्शन उत्कृष्ट थियो । त्यसपछि प्रि–क्वार्टरफाइनल खेलमा उनको भिडन्त दक्षिण कोरियाकी खेलाडीसँग परेको थियो ।

तर, त्यो खेलमा भने उनी पराजित हुन पुगिन् । त्यति बेलासम्म उनी खासै चर्चामा थिइनन् । तर, अहिले उनी एकाएक पेरिस ओलम्पिककी चर्चित खेलाडी बन्न पुगेकी छन् । सामाजिक सञ्जालमा भाइरल बनिरहेकी छन् ।  

महिलातर्फको व्यक्तिगत सेबर स्पर्धाको प्रि–क्वार्टरफाइनल खेलमा दक्षिण कोरियाली खेलाडीसँग पराजित भएपछि इजिप्टकी फेन्सर नाडा हाफिजले इन्स्टाग्राममा एउटा पोस्ट सेयर गरिन् । त्यो पोस्टमा उनले एउटा रमाइलो रहस्य खोलेकी थिइन् ।

खासमा, पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गरिरहँदा उनी सात महिनाको गर्भवती थिइन् । उनले त्यही कुरा इन्स्टाग्राममा सेयर गरेकी थिइन् । ‘वास्तवमा त्यहाँ दुईजना होइन्, हामी तीनजना खेलाडी प्रतिस्पर्धा गरिरहेका थियौँ । म अहिले सात महिनाको गर्भवती छु । मेरी छोरी पनि मसँगै थिइन्,’ उनले आफ्नो पोस्टमा लेखेकी छन् ।

उनले जन्मअघि नै आफ्नो छोरीले ओलम्पिकजस्तो वृहत् प्रतियोगिताको अनुभव बटुलेको पनि उल्लेख गरेकी छन् । ‘मसँगै मेरो छोरीले पनि शारीरिक र मानसिक रूपमा ओलम्पिकको अनुभव बटुलेकी छन् । यसले मेरो जीवनमा पनि रोमाञ्च थपेको छ,’ उनले भनेकी छन् ।

नाडा हाफिजले आफ्नो पति र परिवारका सदस्यप्रति पनि आभार व्यक्त गरेकी छन् । ‘यस्तो स्थितिमा पनि मेरो पति र परिवारका सदस्यले मलाई ओलम्पिक खेल्ने अनुमति दिनुभयो । यसका लागि म उहाँहरूप्रति आभारी छु । म र मेरी छोरी ओलम्पिकको प्रि–क्वार्टरफाइनलसम्म पुग्न सफल भयौँ । मेरा लागि यो अविस्मरणीय क्षण हो,’ उनको कथन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप