डोल्पाबाट बिरामी लिएर आएको हेलिकप्टर आकस्मिक अवतरण
बुधबार, १६ साउन २०८१, १५ : ०५

सुर्खेत । डोल्पाबाट बिरामी ल्याएर आएको हेलिकप्टर सुर्खेतको एक धान खेतमा आकस्मिक अवतरण गरेको छ । नेपालगन्जका लागि डोल्पाबाट उडेको उक्त हेलिकप्टर मौसम खराबीका कारण सुर्खेतको लेकबेशी नगरपालिका–६, को रामघाट नजिकैको धान खेतमा अवतरण भएको हो ।
प्रहरीका अनुसार सशस्त्र प्रहरी सहायक निरीक्षक नरबहादुर बिसी बिरामी भएपछि हेलिकप्टर नेपालगन्ज लिन लागिएको थियो । यद्यपि हेलिकप्टर सहज रूपमा अवतरण गरेको र ठुलो दुर्घटना हुनबाट बचेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रवीर विश्वकर्माले रातोपाटीलाई जानकारी दिए ।
हेलिकप्टर अवतरण गरेपछि बिरामीलाई एम्बुलेन्समार्फत कर्णाली प्रदेश अस्पताल कालागाउँ ल्याइएको छ । यस्तै मौसम सुधार आएसँगै हेलिकप्टर वीरेन्द्रनगरस्थित विमानस्थलमा ल्याइएको छ ।