पेरिस ओलम्पिक : इतिहास रचे उत्तरी आयरल्यान्डका पौडीबाज ड्यानियलले

काठमाडौँ । फ्रान्सको पेरिसमा जारी ३३ औँ गृष्मकालीन ओलम्पिक खेलकुदमा उत्तरी आयरल्यान्डका पौडीबाज ड्यानियल विफेनले इतिहास रचेका छन् । उनी विगत ३६ वर्षयता ओलम्पिक खेलकुदमा स्वर्ण पदक जित्ने उत्तरी आयरल्यान्डको पहिलो खेलाडी बनेका छन् ।
२३ वर्षीय ड्यानियलले पौडीको पुरुष आठ सय मिटर फ्रिस्टायल स्पर्धामा स्वर्ण पदक जितेका हुन् । उनले निर्धारित दुरी सात मिनेट ३८.१९ सेकेन्डमा पार गर्दै देशका लागि ऐतिहासिक स्वर्ण पदक चुमेका हुन् ।
ड्यानियल ओलम्पिक खेलकुदमा स्वर्ण पदक जित्ने उत्तरी आयरल्यान्डका पहिलो पौडी खेलाडी पनि बनेका छन् । ड्यानियलले फाइनल चरणको स्पर्धामा प्रभावशाली अमेरिकी प्रतिद्वन्द्वी रोबर्ट फिन्क (बबी फिन्क) लाई ०.५६ सेकेन्डले पछि पारेका थिए ।
जारी ओलम्पिकमा स्वर्ण पदकको बलियो दाबेदारका रुपमा हेरिएको अमेरिकी पौडीबाज बबी फिन्क अन्ततः रजत पदकमा चित्त बुझाउन बाध्य भए । उनले निर्धारित दुरी सात मिनेट ३८.७५ सेकेन्डमा पार गरेका थिए ।
उक्त स्पर्धामा इटालीका ग्रेगोरियो पाल्ट्रिनेरीले कांश्य पदक हात पारे । उनले निर्धारित दुरी सात मिनेट ३९.३८ सेकेन्डमा पार गरेका थिए । आयरल्यान्डका ड्यानियलले स्वर्ण पदकसँगै ओलम्पिक खेलकुदमा कीर्तिमान पनि बनाए ।
ओलम्पिक खेलकुदको इतिहासमा यसअघि कुनै पनि पौडीबाजले आठ सय मिटर दुरी यति कम समयमा पार गर्न सकेको थिएन । उनले विगतको तुलनामा निर्धारित दुरी ३८.१९ सेकेन्ड चाँडो पार गर्दै ओलम्पिक कीर्तिमान बनाएका हुन् ।
‘अन्ततः मैले इतिहासमा आफ्नो नाम दर्ता गराएको छु । मेरो सपना साकार भएको छ,’ कीर्तिमानी स्वर्ण पदक जितेपछि ड्यानिलले भने । स्वर्ण जितेपछि उनी निकै भावुक बनेका थिए र उनको आँखाबाट आँसु खसेको थियो । उनले युरोपियन पौडीको कीर्तिमान पनि आफ्नो नाममा पारेका छन् ।
यसअघि सन् १९८८ मा उत्तरी आयरल्यान्डका स्टेफन मार्टिन र जिम्मी किर्कउडले बेलायतका लागि गृष्मकालीन ओलम्पिकमा स्वर्ण पदक जितेका थिए । त्यो ओलम्पिकमा उनीहरु बेलायतको हकी टोलीमा सहभागी थिए ।
ओलम्पिकको एकल स्पर्धामा स्वर्ण पदक जित्ने उत्तरी आयरल्यान्डका पहिलो खेलाडी भने लेडी मेरी पिटर्स हुन् । उनले सन् १९७२ को ओलम्पिकमा पेन्थालन स्पर्धामा स्वर्ण पदक जितेकी थिइन् । ड्यानियलले यसै वर्ष कतारको दोहामा सम्पन्न वल्र्ड च्याम्पियनसिपमा पनि आठ सय मिटर र १५ सय मिटर स्पर्धामा स्वर्ण पदक जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते