सुदूरपश्चिममा सवारी दुर्घटनाबाट एक वर्षमा एक सय ७२ जनाको मृत्यु
अत्तरिया । गत आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाबाट एक वर्षमा एक सय ७२ जनाको मृत्यु भएको छ । सो अवधिमा सवारी दुर्घटनाबाट एक सय ३७ पुरुष, २३ महिला, सात बालक र पाँच बालिकाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिलकुमार उप्रेतीले जानकारी दिए ।
उनका अनुसार सवारी दुर्घटनामा परी गम्भीर र सामान्य गरी पाँच सय ३६ जना घाइते भएका छन् । जम्मा तीन सय नौवटा सवारी दुर्घटना भएका थिए । दुर्घटना भएका सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेको उनले जानकारी दिए ।
उनका अनुसार दुई सय सात मोटरसाइकल, ५० जिप र कार, ४० ट्र्याक्टर, २४ बस, १७ टेम्पो, १९ ट्रक र ट्याङ्कर, नौ टिप्पर, सात माइक्रो, तीनवटा डोजर र ३० अन्य सवारी साधन गरी चार सय छवटा सवारी साधन दुर्घटना भएका थिए ।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको उनको भनाइ छ । गत आवमा ६ हजार ६ सय २६ वटा जनचेतनामूलक कार्यक्रम गरेको तथा उक्त कार्यक्रमबाट तीन लाख ८९ हजार दुई सय ६६ जना लाभान्वित भएका छन् ।
गत आवमै ट्राफिक नियम उल्लङ्घन गर्ने ७३ हजार चार सय ७९ जना सवारी चालक कारबाहीमा परेको र उक्त कारबाहीबाट चार करोड ८९ लाख ८७ हजार राजस्व सङ्कलन भएको प्रवक्ता उप्रेतीले जानकारी दिए ।
“मादक पदार्थ सेवन गरी सवारी चलाउँदा, तीव्र गति, चालकको लापरबाहीलगायत कारणले बढी दुर्घटना हुने गरेको पाइएको छ”, उनले भने, “अघिल्लो वर्षको तुलनामा नियम उल्लङ्घन गर्नेको सङ्ख्या घटेको छ । दुर्घटनाको सङ्ख्या भने घट्न सकेको छैन । ज्यान गुमाउनेको सङ्ख्या घटेको छ ।”
आर्थिक वर्ष २०७९/८० मा दुई सय ५५ सवारी दुर्घटना हुँदा एक सय ७७ जनाको मृत्यु भएको थियो । सो आवमा सामान्य र गम्भीर गरी चार सय ७३ जना घाइते भएका थिए । ट्राफिक नियम उल्लङ्घन गर्ने एक लाख १२ हजार छ सय ५५ सवारी चालक कारबाहीमा परेका थिए । उक्त कारबाहीबाट छ करोड ४३ लाख ७२ हजार राजस्व सङ्कलन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियालाई हराउन नेपालले १४० रन बनाउनुपर्ने
-
सिमेन्टको तीन महिना अघिकै मूल्य कायम गरिनुपर्छ : ज्वाला साह
-
तनहुँको डुम्रे बजारमा आगलागी
-
कर्णालीमा युवा महोत्सव हुँदै, ५ हजार युवाहरूको सहभागिता रहने
-
मूल्य बढ्नुमा नियत खराब छ : योगेश भट्टराई
-
कांग्रेस स्वास्थ्य विभाग प्रमुख थापाद्वारा दलित बालबालिकालाई ब्याग वितरण