सधैँ बाढी–पहिरोको जोखिम किन हुन्छ ?
युरोप–अमेरिकातिर भन्दा हामीकहाँ एक वर्षमा पर्ने पानीको मात्रा बढी छ । हामीकहाँ पानी पर्नुमा हिन्द महासागरबाट आउने इन्डियन मनसुन जिम्मेवार छ । इन्डियन मनसुनले सबैभन्दा बढी पानी आसाममा पार्छ, त्यसपछि हाम्रो पूर्वी भेग (मेचीतिर) बाट पानी पर्न थाल्छ । पोखरासम्म अलि बढी नै पानी पर्छ, मनसुन क्रमशः पश्चिमतिर जाँदा पानी कम पर्न थाल्छ । मनसुनी बादल पूर्वतिरबाट पश्चिमसम्म पुग्दा पानी पार्ने क्षमता कम भइसकेको हुन्छ ।
हिउँदे झरीको कुरा गर्दा— हामीकहाँ पश्चिमी वायुले पानी ल्याउँछ । त्यसले गर्दा हिउँदमा पश्चिमी भागमै बढी पानी पर्छ । हिउँदमा ठाउँ हेरी हिउँकै रूपमा वर्षा हुन्छ । यसले गर्दा हामीकहाँ अन्यत्रभन्दा वर्षामा विविधता छ ।
हामीकहाँ वर्षभरि जति पानी पर्ने हो, त्यसको करिब ८० प्रतिशत पानी चार महिना (बर्खामास)मा पर्छ । त्यसैले बाढी आउनु स्वाभाविकै हो । यहाँनेर के बुझ्नुपर्छ भने बाढी–पहिरोले जनधनको क्षति गर्यो भने त्यो विपत् हुन्छ, गरेन भने त्यो प्राकृतिक प्रकोप मात्रै बन्छ ।
हामीकहाँ वार्षिक रूपमा औसत १६ सय मिलिलिटर जति पानी पर्छ । लुम्लेमा त वर्षभरि तीन–चार मिलिमिटर पानी परेको रेकर्ड छ । यस्तै मुस्ताङमा वार्षिक दुई–तीन सय मिलिलिटर पानी पर्छ । क्षेत्रगत हिसाबले हामीकहाँ वर्षामा विविधता छ ।
हामीकहाँ वर्षभरि जति पानी पर्ने हो, त्यसको करिब ८० प्रतिशत पानी चार महिना (बर्खामास)मा पर्छ । बाँकी आठ महिनामा २० प्रतिशत जति पानी पर्छ । युरोपतिर हामीकहाँ जति पानी पर्दैन । त्यहाँ वार्षिक रूपमा औसत आठ सय वा हजार मिलिलिटरजति पर्ला । तर त्यहाँ बाह्रैमासजसो पानी परेको हुन्छ, हामीकहाँझैँ चार महिनामा बढी पानी पर्दैन ।
सामान्यतः हामीकहाँ जुनको १५ देखि सेप्टेम्बरको अन्त्यतिरसम्म मनसुन रहने हो । त्यसैले जुलाई (करिब असार १५ देखि साउन १५)मा बढी पानी पर्छ । यस्तै अगस्त (करिब साउन १५ देखि भदौ १५) मा खोलामा पानी बढी हुन्छ । अहिले हामीकहाँ मनसुनको सुरुवाती चरणमै बाढी–पहिरो आउन थालेको छ । यसका विभिन्न कारण छन् ।
- बाढी–पहिरोको कारण
८० प्रतिशत पानी पर्ने बर्खामासमा खोलानालामा बाढी आउनु स्वाभाविकै हो । यहाँनेर के बुझ्नुपर्छ भने बाढी–पहिरोले जनधनको क्षति गर्यो भने त्यो विपत् हुन्छ, गरेन भने त्यो प्राकृतिक प्रकोप मात्रै बन्छ ।
बाढी–पहिरोको जोखिम हुनुमा प्राकृतिक रूपमा पनि हामी कठिन ठाउँमै छौँ । पहिलो कुरा यहाँ चार महिनामा बढी पानी पर्छ, अर्को कुरा हाम्रो भूभाग नयाँ छ । हाम्रा पहाड र चट्टानहरू युरोप–अमेरिकातिरको भन्दा नयाँ हुन् । किनभने यहाँ इन्डियन र तिब्बतीयन दुई प्लेटको घर्षणले हिमाल बनेको भनिन्छ, जुन प्रक्रिया अन्य भूभागको तुलनामा पछि सुरु भएको हो ।
नयाँ भूगर्भका कारण हामीकहाँ भेल–बाढीले थिग्य्रानहरू बढी ल्याउँछन्, जसलाई अंग्रेजीमा ‘रिभर मोर्फोलजी’ भनिन्छ, यसले खोलाको धार परिवर्तन गर्न पनि भूमिका खेल्छ ।
बाढी क्षेत्र (फ्लोट प्लेन)लाई प्राकृतिक रूपमै छाड्ने हो भने समस्या आउँदैन । नदीलाई साँगुरो पार्दा, नदी किनारामा बस्ती बसाउँदा वा विकास निर्माण गर्दा समस्या आउने हुन् । हाम्रो वागमती नदीमा पहिले जहाँ–जहाँ घाटहरू बनाइएको थियो, त्यसलाई मासेर अहिले सडक बनाइएको छ । यस्तै प्रकारले अधिकांश ठाउँमा नदी किनारामा सडक बनाइएका छन्, यसले यातायातमा सुविधा त भयो तर नदीको बहावलाई के गर्छ भन्ने प्रश्न छ ।
अहिले कतिपय सहर–बजारमा बस्ती बढेसँगै जमिन कंक्रिटमा बदलिएको छ । पानी कम वा बेसी जति परेपछि त्यो स्वाट्टै नदीमा आउँछ, जसले सधैँ बाढीको सम्भावना बढाएको छ ।
विपत् आउनुको पछाडि मानवीय वा राज्यको योजना तथा कार्यक्रममा कमजोरी पनि हुन सक्छ । कतिपय पूर्वाधार बनाइँदा हामीकहाँ बाढीका कारण हुने विपतलाई नजरअन्दाज गरिएको छ । नदीलाई साँगुरो पार्दा बाढीबाट विपत् बढ्ने सम्भावना प्रबल रहन्छ । विनाअध्ययन, अनुसन्धान र योजनामै हामीकहाँ यस्ता संरचना बनिरहेका छन्, जुन गलत भइरहेको छ ।
खोला वा नदीहरूमा बाढीका लागि कति ठाउँ छाड्नुपर्छ भन्ने प्राविधिक रूपमा हिसाब गरेर निकाल्न सकिन्छ । अर्कोतिर इन्जिनियरिङका हिसाबले जे पनि बनाउन सकिन्छ, एउटा कंक्रिट वाल लगाएर पनि बाढी क्षेत्रमा भौतिक पूर्वाधार निर्माण गर्न सकिन्छ ।
अहिले कतिपय सहर–बजारमा बस्ती बढेसँगै जमिन कंक्रिटमा बदलिएको छ । पानी कम वा बेसी जति परेपछि त्यो स्वाट्टै नदीमा आउँछ, जसले सधैँ बाढीको सम्भावना बढाएको छ ।
हुन त मेरो अध्ययन र कामको क्षेत्र जलस्रोत व्यवस्थापन हो, तर यो विषय भूगर्भसँग पनि जोडिएको छ । मुुग्लिन–नारायणघाट सडकखण्डमा सडक विस्तार गर्ने नाममा अहिले पहाड काटिएका छन्, त्यहाँ त्यो खालको विकास निर्माण गर्न हुन्थ्यो वा हुँदैनथ्यो भन्नेमा भूगर्भ विषयका विज्ञहरू बोलिरहनुभएकै छ ।
हामीकहाँ पानी कम पर्ने भएको भए यस्ता विकास निर्माणले भौगोलिक अवस्थामा त्यति असर पार्ने थिएन ।
हामीकहाँ बर्खामासमा खोलानालामा बढी पानी हुने तर हिउँदमा सुक्खा हुने समस्या छ । पानी हिउँदमा पनि आवश्यक हुन्छ ।
भनिन्छ, जलवायु परिवर्तनका कारण पछिल्लो समय वर्षाको भर छैन । सन् १९९३ मा टिस्टुङमा २४ घन्टाभित्र ५४० मिलिलिटर पानी परेको रेकर्ड छ । वार्षिक १६०० मिलिलिटर औसत वर्षा हुने ठाउँमा एक दिनमै ५४० मिलिलिटर अर्थात् कुल वर्षाको ३० प्रतिशत पानी पर्नु सामान्य होइन । अस्ति भर्खर कञ्चनपुरको दोधारा चाँदनीमा २४ घण्टामा पाँच सय ७३ मिलिमिटर वर्षा मापन गरियो । यद्यपि हाम्रो मापन प्रविधि वा तरिकामा प्रश्न त छ ।
जेहोस्, हामीकहाँ एकैचोटि वर्ष बढी हुँदा सहरी क्षेत्रका सडकहरू डुबानमा पर्न थालेका छन् । त्यसैले एकैपटक कति पानी पर्दासम्म त्यस सडकले धान्न सक्छ, सोही अनुसार ढलको व्यवस्थापन गरिनुपर्छ ।
- जलस्रोत व्यवस्थापन
आकाश, जमिनमुनि, खोला–नदी, हिमाल वा हिमनदीबाट जति पानी उपलब्ध हुन्छ, त्यसको अधिकतम सदुपयोग नै सामान्य भाषामा जलस्रोत व्यवस्थापन हो ।
हामीकहाँ बर्खामासमा खोलानालामा बढी पानी हुने तर हिउँदमा सुक्खा हुने समस्या छ । पानी हिउँदमा पनि आवश्यक हुन्छ ।
सधैँ एकनाशले पानीको व्यवस्था गर्नका लागि विकसित देशले ध्यान दिएका हुन्छन् । वातावरणीय र मानवीय आवश्यकता हेरेर हरेक खोला वा नदीमा वर्षभरि कति पानी बग्नुपर्ने हो, पहिले यसको पहिचान गरिन्छ र सोही बमोजिम उक्त खोला तथा नदीमा पानीको व्यवस्था गरिन्छ ।
विकसित देशमा खोलानदीमा अग्लो र बलियो बाँध बाँधेर तीन–चार वर्षसम्मका लागि पुग्ने जल भण्डारण गरिन्छ ।
अमेरिकामा चार वर्षसम्मका लागि आवश्यक जल भण्डारण गर्न सक्ने क्षमताका ड्याम निर्माण गरिएका छन् । अर्थात् चार वर्षसम्म निश्चित मात्रामा बग्न सक्ने पानी त्यहाँ भण्डारण हुन्छ । किनभने त्यहाँ वार्षिक औसत रूपमा ६००–७०० मिलिलिटर मात्रै पानी पर्छ र कुनै वर्ष खडेरी लाग्न पनि सक्छ । अर्कोतिर त्यहाँ कृषि लगायत क्षेत्रमा पानीको उपयोग बढी छ, त्यसैले उनीहरूले बाँध बाँधेरै पानीको भण्डारण गरेका छन् । बाँध बाँधेर पानी भण्डारण गर्दा वातावरणीय प्रभावलाई भने ध्यान दिनुपर्ने हुन्छ ।
नेपालको हकमा बाँध बाँधेर पानी भण्डारण गर्न भौगोलिक विकटताका कारण केही असहज होला । किनभने पहाडी भेगमा नदीहरू ठाडो भएर बग्छन् । हामीकहाँ दुई सय मिटर अग्लो ड्याम बनाए पनि त्यहाँ भण्डारण हुने पानीको परिमाण त्यति धेरै हुँदैन ।
हामीकहाँ कुलेखानीमा बाँधको अभ्यास गरेका छौँ, जलविद्युत्का लागि । सिँचाइका लागि साना–साना बाँध भए पनि ठुला आयोजना सम्पन्न भएका छैनन् । बर्खाको पानीलाई जम्मा गरेर हिउँदमा प्रयोग गर्न हामीले बाँधको अभ्यास गर्न सक्छौँ ।
बाँधका काम भइरहेका पनि छन् । पश्चिम राप्तीमा नौमुरे बाँध बनाइँदै छ । अर्कोतिर नदी पथान्तरण पनि हामीकहाँ आयोजना र मुद्दा बनिरहेका छन् । अहिले भेरीबाट बबईमा पानी ल्याउनका लागि काम भइरहेको छ । वातावरणीय अनुकूलताका हिसाबले बाँधभन्दा नदी पथान्तरण उचित हो । यसमा टनेलको प्रयोग हुन्छ । विकासका हिसाबले हामी टनेल युगमा जानुपर्ने हुन्छ ।
नेपालको हकमा बाँध बाँधेर पानी भण्डारण गर्न भौगोलिक विकटताका कारण केही असहज होला । किनभने पहाडी भेगमा नदीहरू ठाडो भएर बग्छन् । हामीकहाँ दुई सय मिटर अग्लो ड्याम बनाए पनि त्यहाँ भण्डारण हुने पानीको परिमाण त्यति धेरै हुँदैन । तर अमेरिकामा सम्म भूभाग धेरै भएकाले धेरै पानी रहन्छ ।
- पुनर्भरण
मैले सतहको पानीको व्यवस्थापनमा काम गर्छु । जमिनमुनिको पानीको अवस्था हेर्ने एक विज्ञलाई मैले केही वर्षअघि सोधेको थिएँ— काठमाडौँमा जमिनमुनिको पानीको अवस्था के छ ?
यहाँ बग्ने नदीको उदाहरण दिएर उनले भनेका थिए— त्यो त यहाँ हिउँदमा बग्ने नदीले जनाउँछन् । जमिनमुनि पानी भए न नदी–नालाबाट निस्कने हो ।
अकासेपानी जमिनभित्र गई सञ्चित भए पनि त्यस्तो पानी अन्ततः खोलानालाबाटै बाहिर निस्कने हो । जमिनको निकै मुनि पानी पुगेको छ भने त्यस्तो पानी वर्षौंसम्म भण्डारण हुन्छ । पछिल्लो समय काठमाडौँको हकमा जमिनमुनि पानी जाने क्रम पहिलेको जस्तो छैन, किनभने सबैतिर कंक्रिट छ । अर्कोतिर जमिनबाट पानी निकाल्ने क्रम बढ्दै आयो । यसले गर्दा काठमाडौँको जमिनमुनिको पानी घटेको अनुमान गर्न सकिन्छ ।
जहाँ जमिनमुनि पानी सकिँदै जान्छ, त्यहाँ पुनर्भरण गर्नुपर्ने हुन्छ । काठमाडौँमा जमिनमुनि पानी पुनर्भरण गर्ने एक–दुईवटा पाइलेटिङ प्रोजेक्ट कोसिस भएको हो । पुनर्भरणका लागि जसरी पम्पबाट पानी तानिन्छ, त्यसरी नै भित्र पानी भर्नुपर्ने हुन्छ । यसमा प्रविधिको विकास भइसकेको छ ।
- नदी कटान र डुबान
हामीकहाँ नदी कटान र डुबानको समस्या उत्तिकै छ । मुख्य कटान र डुबान साना–साना खोलाका कारण भइरहेका छन् । खासगरी चुरे क्षेत्रमा यस्ता समस्या देखिन्छन् । यहाँ वर्षाको पानीले आउने अचानक बाढीका कारण कटान र डुबानको समस्या ल्याउँछ । नदी कटान एक त बाढीका कारण हुन्छ, अर्को बालुवा आदि थिग्रेर खोला–नदीले दिशा बदल्ने कारण सिर्जना हुन्छ ।
नदी कटानबाट जोगिन सर्वप्रथम नदी बग्ने क्षेत्र छुट्ट्याइनुपर्छ । कहिलेकाहीँ थिग्य्रानका कारण नदी एकातिर बग्न थाल्छ, थिग्य्रान भएको क्षेत्रमा मानिसले खेती गर्न थाल्छन् र कटानको समस्या आउँछ । यस्ता ठाउँमा पछिल्लो समय ‘रिभर ट्रेनिङ वर्क’ भनेर ‘स्पर’ बनाइन्छ र नदीलाई अर्कोतिर पठाइन्छ । यसमा प्राविधिक व्यवस्थापन विभिन्न किसिमबाट गरिन्छ ।
कहाँ–कहाँ बाढी–पहिरोको जोखिम छ भनेर राज्यले नक्साङ्कन गर्नुपर्छ, ताकि बाढी–पहिरोको सम्भावना भएका क्षेत्रदेखि जोगिन सकियोस् र जनधनको क्षति नहोस् ।
जलस्रोत तथा सिँचाइ विभाग लगाायत निकायले नदी कटान रोक्नका लागि काम गरिरहेका छन् । यद्यपि नदी कटान रोक्नुपर्ने माग धेरै छन्, बजेट कम छ ।
जलस्रोतको व्यवस्थापन भौतिक रूपमा मात्रै गरेर हुँदैन, वातावरणलाई पनि ध्यान दिनुपर्छ । अहिले पारिस्थिकीय प्रणालीको व्यवस्थापनको कुरा उठेको छ । यसमा जलाधार क्षेत्रलाई संरक्षण गर्नुपर्ने हुन्छ । अर्थात् पहिरो रोक्ने गरी वनको संरक्षण गरिनुपर्छ । यस्तै, भू–सतहमा असर पार्ने वा बाढी–पहिरो आउने गरी वा माटो बग्ने गरी भौतिक निर्माण गरिनुहुँदैन । बाढी–पहिरोले थिग्य्रान ल्याएर नदीको दिशालाई प्रभावित गर्छ ।
- नक्साङ्कन
बाढी आउँछ, तर बाढी आउँदा नोक्सानी कम हुने हिसाबले बस्ती, खेती वा निर्माण कार्य गरिनुपर्छ । कहाँ–कहाँ बाढी–पहिरोको जोखिम छ भनेर राज्यले नक्साङ्कन गर्नुपर्छ, ताकि बाढी–पहिरोको सम्भावना भएका क्षेत्रदेखि जोगिन सकियोस् र जनधनको क्षति नहोस् ।
२०, ३० वा ५० वर्षमा बाढी आएका ठाउँमा कुनै पनि विकास निर्माणका कार्य गरिनुहुँदैन । अर्थात् कुनै खोला वा नदीमा हिजोका दिनमा कहाँसम्म बाढीले भेटेको थियो भन्ने ख्याल गरिनुपर्छ । जल तथा मौसम विभागले झन्डै दुई सय खोला–नदीमा जलको मात्रा मापन गर्ने गर्छ । सामान्यतः कुनै विकास योजना थालनी गर्नुअघि त्यस ठाउँको करिब ३० वर्षको तथ्याङ्क हेरिन्छ । तथ्याङ्क नभएको अवस्थामा स्थानीयसँग सोधपुछ गर्नेदेखि खोला वा नदी बगेको वरपरको सतहको परीक्षण गरिनुपर्छ ।
हामीकहाँ प्रदेश वा पालिकाहरूले जोखिम नक्साङ्कन गरिरहेका छन् तर जति हुनुपर्ने हो त्यति हुन सकिरहेको छैन । जोखिम नक्साङ्कन हामीकहाँ व्यापक रूपमा हुनुपर्छ । नक्साङ्कनमा हिमताल फुट्नेदेखि नदी थुनिने ठाउँको पहिचान गर्नुपर्छ ।
पछिल्लो समय जलवायु परिवर्तनका कारण वर्षाको स्वभावमा परिवर्तन देखिएले भविष्यमा कतिसम्म पानी पर्न सक्छ भन्ने यसै भन्न सकिँदैन, यो एउटा समस्याको विषय बनेको छ ।
- समतामूलक वितरण
पानीको वितरण गर्दा वातावरणीय लाभ र सामाजिक रूपमा समतालाई पनि हेरिन्छ । अर्थात् वनका प्राणीदेखि सबै मानिसले आवश्यक पानी पाउनुपर्छ ।
पछिल्लो समय एकीकृत जलस्रोत व्यवस्थापनका तीन खम्बाको अवधारणा छ— १) आर्थिक दक्षता, २) वातावरणीय दिगोपन, ३) सामाजिक हिसाबले समतामूलक वितरण ।
हामीकहाँ बग्ने नदीको जलाधार क्षेत्र तिब्बतसम्म पर्छ । कोसीको आधाभन्दा बढी जलाधार क्षेत्र चीनमा छ । त्यहाँ पानी कम पर्छ । भनेपछि सबै जलाधार क्षेत्रलाई एउटा एकाइको रूपमा लिने हो भने, हामीकहाँ वार्षिक १४ सय मिलिलिटर मात्रै पानी परेको मान्नुपर्छ ।
हामीकहाँ मनसुन राम्रो (समयमा मनसुन सुरु भई समयमै अन्त्य हुनु) भयो भने कुल ग्राहस्थ्र्य उत्पादन (जीडीपी) नै राम्रो हुन्छ । मनसुन कमजोर (कम पानी पर्ने, समयमा नपर्ने हुँदा) भएका बेला हाम्रो जीडीपीलाई पनि असर गर्छ ।
मनसुनमा आधारित हाम्रो जीडीपी छ । हाम्रो अधिकांश उत्पादन अकासे पानीमै निर्भर छ । सिँचाइको कमी हुँदा हामीकहाँ उत्पादनमा असर परेको छ । त्यसैले हामीले जलस्रोत व्यवस्थापनमा विशेष ध्यान दिन आवश्यक छ ।
जलाधार क्षेत्रलाई एउटा एकाइको रूपमा लिएर त्यसलाई हेर्ने सरकारी निकाय खडा गरिनुपर्छ । जसले जलस्रोतको व्यवस्थापन गर्नेदेखि सम्भावित प्रकोप रोक्ने कार्य गर्न सकोस् । अर्कोतिर केन्द्रदेखि पालिकासम्म संयन्त्रहरू आवश्यक छन्, जसले जलस्रोतको उचित व्यवस्थापनमा काम गर्न सकून् ।
(रातोपाटीकर्मी ध्रुवसत्य परियारसँगको कुराकानीमा आधारित । जलस्रोत इन्जिनियरिङ र व्यवस्थापनमा विद्यावारिधि, जलस्रोत विकासमा स्नातकोत्तर गरेका बस्न्यात ‘नेपाल विकास अनुसन्धान प्रतिष्ठान’को ‘जलस्रोत तथा जलवायु संकाय’मा संयोजक छन् ।)