काठमाडौँ । वरिष्ठ गायक दीप श्रेष्ठको स्वरमा रहेको गीत ‘एक्लो भएछु’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गीतमा डा. बिनुबाबा अर्यालको शब्द र योगेन्द्र उपाध्यायको संगीत छ ।
बुढेसकालमा एक्लो जीवन जिउन बाध्य व्यक्तिको कथा भनिएको गीतको भिडियोमा वरिष्ठ नायक शिव श्रेष्ठको अभिनय छ । सुरज तामाङको निर्देशन रहेको भिडियोमा श्रेष्ठसँगै नायिका अनु शाह र बालकलाकार देवासिस निरौलाको अभिनय देख्न सकिन्छ । विशाल थापाको छायाङ्कन र ज्वाला राईको सम्पादन भिडियोमा छ ।
कार्यक्रममा गीतमा आबद्ध स्रष्टा तथा कलाकार सहित रोयल्टी सङ्कलन समाज नेपालका कार्यवाहक अध्यक्ष चन्द्र शर्मा, संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटा, चलचित्र पत्रकार संघका उपाध्यक्ष कुवेर गिरी, पीम नेपालका उपाध्यक्ष शंकर थापा स्माइल लगायतका अतिथिहरूले संयुक्त रूपमा गीत विमोचन गरेका हुन् ।
संगीतकार योगेन्द्र उपाध्यायले शब्दको भाव अनुरूपकै संगीत तयार पार्ने आफ्नो इमानदार प्रयास रहेको जनाए । निकै छानेर मात्र गीत गाउने वरिष्ठ गायक श्रेष्ठले आफ्नो कम्पोजलाई स्विकारेर गीत गाइदिँदा राम्रै काम गरेछु भनेर आत्मसन्तुष्टि मिलेको बताए ।
गीतकार डा. अर्यालको भावनालाई मर्न नदिन आफूले सोही अनुरूप अडियो र भिडियोमा काम गरेको उनको तर्क छ । कार्यक्रममा बोल्दै वरिष्ठ गायक श्रेष्ठले गीतको शब्द र संगीतले आफूलाई छोएका कारण गीत गाउन तयार भएको बताए । उनले संगीतकार उपाध्यायले आफूलाई फरक शैलीमा गाउन सिकाएको समेत बताए ।
यस्तै वरिष्ठ नायक शिव श्रेष्ठले सुरुमा आफू दीप श्रेष्ठको गीत भनेर अभिनय गर्न तयार भए पनि गीत सुनिसकेपछि भने साँच्चिकै मन छोएको बताए ।
अभिनेत्री शाहले वरिष्ठ गायक श्रेष्ठको स्वर रहेको गीतमा वरिष्ठ नायक श्रेष्ठसँग स्क्रिन सेयर गर्न पाउनु आफ्ना लागि खुसीको कुरा भएको बताइन । गीतको अडियो निकै बलियो लागेरै भिडियोमा काम गरेको उनको भनाई थियो ।
प्रतिक्रिया