श्रममन्त्री भण्डारीसँग दुई देशका राजदूतको शिष्टाचार भेट
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डेनियल मेउलीले शिष्टाचार भेट गरेका छन्।
मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा आप्रवासनका सवाल र रोजगार सेवा केन्द्रको सबलीकरण गर्ने सम्बन्धमा छलफल भएको थियो । त्यस अवसरमा मन्त्री भण्डारीले नेपालले रोजगार सेवा केन्द्रलाई रोजगारीको केन्द्रका रूपमा विकास गर्नका लागि सम्बन्धित विकास साझेदारसँगको सामूहिक छलफलबाट निष्कर्षमा पुग्नुपर्ने र आप्रवासनका सवालको सम्बोधन सरोकारवाला सबैसँगको सहकार्यमा गर्न चाहेको बताए।
त्यस्तै स्वीस सम्पर्क नेपालका देशीय निर्देशक सञ्जय कार्कीसहितको टोलीसँग आन्तरिक रोजगारी प्रवर्द्धनका लागि गर्न सकिने सहकार्यका विभिन्न विषयमा छलफल भएको थियो ।
त्यस्तै मन्त्री भण्डारीसँग नेपालस्थित गणतन्त्र कोरियाका राजदूत पार्क, ताई यंगले शिष्टाचार भेट गरे। भेटका अवसरमा गणतन्त्र कोरिया र नेपालबिच भएको इपिएस कोरियासम्बन्धी द्विपक्षीय समझदारी र कोरिया रिटर्नीको सीप क्षमता सदुपयोगलगायतका विषयमा छलफल भएको छ ।
भेटमा इपिएस कोरियाका सम्बन्धमा भएको द्विपक्षीय श्रम समझदारी अद्यावधिक गरी समसामयिक बनाउने, इपिएस कोरियासँग सम्बन्धित विषयवस्तुका बारेमा छलफल गरी सुझाव दिने गरी मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन भएको मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी दिए।
'प्राप्त सुझावका आधारमा अघि बढ्ने विषय र कोरियामा रहेका नेपाली कामदारलाई कोरियन कामदार सरह सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन आवश्यक पहल गर्ने विषयमा समेत छलफल भएको थियो', उनले भने । यसका साथै कोरिया जाने कामदारलाई आवश्यक सीप सिकाउने तालिम केन्द्र स्थापना र सुहढीकरणमा सहयोगको अपेक्षासहित नेपाल फर्किएका कामदारले आफूले सिकेका सीपको उपयोग गर्ने वातावरण निर्माण गर्ने सम्बन्धमा सहकार्यका लागि छलफल भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती विधेयकप्रति विज्ञको चर्को आपत्ति, भन्छन्– ‘कर्मचारी खुसी पार्ने कि जनताको पक्षबाट सोच्ने ?’
-
क्रिसमसको एक दिनअघि अमेरिकाकै ठुलो एयरलाइन्सको उडान रोकिएपछि...
-
प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे झन् अन्योल
-
वाइडबडीमा नेपाललाई घुस दिने कम्पनीलाई ५५ मिलियन अमेरिकी डलर जरिवाना
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
-
पोखरामा लगाइएको निषेधित क्षेत्र हटाउन रास्वपाको आग्रह