पेरिस ओलम्पिक : पदक तालिकामा एसियाली राष्ट्रहरूको दबदबा, जापानको अग्रता कायमै
काठमाडौँ । फ्रान्सको राजधानी पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा पाँचौँ दिनको खेल सकिँदासम्म १६ राष्ट्रका खेलाडीले स्वर्ण पदक जितिसकेका छन् । पदक तालिकाकामा कुल ३५ राष्ट्रले आफ्नो उपस्थिति जनाएका छन् ।
पाँचौँ दिनको खेल सकिँदासम्म एसियाली राष्ट्र जापान पदक तालिकाको पहिलो स्थानमा छ । जापानले सात स्वर्ण, दुई रजत र चार कांस्यसहित कुल १३ पदक जितिसकेको छ । तालिकाको दोस्रो स्थानमा पनि अर्को एसियाली राष्ट्र चीनले पकड जमाएको छ ।
चीनले ६ स्वर्ण, ६ रजत र दुई कांस्य गरी कुल १४ वटा पदक जितिसकेको छ । तेस्रो स्थानमा आसीन अस्ट्रेलियाले ६ स्वर्ण, चार रजत र एक कांस्यसहित कुल ११ पदक कुम्ल्याएको छ । आयोजक राष्ट्र फ्रान्स पदक तालिकाको चौथो स्थानमा छ । फ्रान्सले पाँच स्वर्ण, नौ रजत र चार कांस्य जितेको छ ।
यसैगरी, एसियाली राष्ट्र दक्षिण कोरिया पाँच स्वर्ण, तीन रजत र तीन कांस्य पदक जित्दै तालिकाको पाँचौँ स्थानमा छ । छैटौँ स्थानमा आसीन अमेरिकाले चार स्वर्ण, ११ रजत र ११ कांस्य गरी कुल २६ पदक हात पारेको छ ।
चार स्वर्ण, पाँच रजत र तीन कांस्य पदक जितेको बेलायत सातौँ स्थानमा छ । आठौँ स्थानमा आसीन इटालीले तीन स्वर्ण, चार रजत र चार कांस्य पदक जितेको छ । नवौँ स्थानमा रहेको क्यानडाले दुई स्वर्ण, दुई रजत र दुई कांस्य तथा १०औँ स्थानमा आसीन हङ्कङले दुई स्वर्ण र एक कांस्य पदक हात पारेका छन् ।
यसैगरी, तालिकाको ११औँ स्थानमा आसीन जर्मनीले पनि दुई स्वर्ण पदक चुमेको छ । कजाकस्तान, दक्षिण अफ्रिका, बेल्जियम, आयरल्यान्ड, अजरबैजान, न्युजिल्यान्ड, रोमानिया, सर्बिया, स्लोभेनिया र उज्बेकिस्तानले पनि एक–एक स्वर्ण पदक जितेका छन् ।
दक्षिण एसियाली राष्ट्र भारतले पनि हालसम्म दुईवटा कांस्य पदक जितेको छ । कोसोभो, युक्रेन, फिजी, मंगोलिया, ग्वाटेमाला लगायतका राष्ट्रले पनि पदक तालिकामा उपस्थिति जनाएका छन् ।