बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

लेबनानमा हिजबुल्लाहका शीर्ष कमान्डर मारिएको इजरायलको दाबी

बुधबार, १६ साउन २०८१, ०९ : ३१
बुधबार, १६ साउन २०८१

बेरुत । लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा गरिएको आक्रमणमा चरमपन्थी संगठन हिजबुल्लाहका शीर्ष कमान्डर मारिएको इजरायलले दाबी गरेको छ । लेबनानी सशस्त्र बलको गढ रहेको दहियाहमा भएको आक्रमणमा परी कम्तीमा एक जनाको मृत्यु भएको तथा कैयौँ घाइते भएको बताइएको हो ।

इजरायली सेनाले गुप्तचर सूचनाको आधारमा हिजबुल्लाहका शीर्ष कमान्डर फौद शुकरमाथि लडाकु विमानबाट आक्रमण गरेको बताएको छ । इजरायली अधिकारीहरूले इजरायली नियन्त्रित गोलान हाइट्समा शनिबार भएको आक्रमणमा फौद जिम्मेवार रहेको आरोप लगाएका छन्।

शनिबार भएको सो आक्रमणमा १२ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा अधिकांश बालबालिका थिए । हिजबुल्लाहले इजरायलको दाबीको खण्डन गरेको थियो । 

लेबनानी प्रधानमन्त्री नजिब मिकातीले इजरायलको यो आक्रमणको निन्दा गरेका छन् । उनले यो अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घन भएको भन्दै यसलाई आपराधिक कार्य भनेका छन् ।

आक्रमणपछि इजरायलका रक्षामन्त्री योभ गालान्टले सामाजिक सञ्जालमा हिजबुल्लाहले सबै सीमा नाघेको बताए ।

यता आक्रमणमा फौदको मृत्यु भएको हो वा होइन भन्ने अझै स्पष्ट भने भएको छैन । बेरुतका सुरक्षा स्रोतहरूका अनुसार आक्रमणको समयमा फौद भवनमा उपस्थित थिएनन्। यसबारे हिजबुल्लाहले अहिलेसम्म कुनै वक्तव्य जारी गरेको छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप