बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

ग्लोबल टी–२० क्यानडा लिग : बंगला टाइगर्ससँग दुई रनले हार्‍यो रोहितको टोली टोरन्टो

बुधबार, १६ साउन २०८१, ०९ : २१
बुधबार, १६ साउन २०८१

काठमाडौँ । फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘ग्लोबल टी–२० क्यानडा लिग’ मा नेपाली राष्ट्रिय टाेलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरन्टो नेशनल्सले लगातार दोस्रो हार ब्यहोरेको छ । क्यानडामा मंगलबार राति सम्पन्न खेलमा बंगला टाइगर्सले टोरन्टो नेशनल्समाथि दुई रनको रोमाञ्चक जित हासिल गर्यो ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको बंगला टाइगर्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ६८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको टोरन्टो नेशनल्सले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ६६ रनमात्र बनाउन सक्यो ।

टोरोन्टो नेशन्सका लागि निकोलस किर्तनले ७४ रनको योगदान गरे । उनले केवल ५४ बलमा चार छक्का र सात चौका पनि प्रहार गरे । रोमारियो सेफर्डले पनि अविजित २४ रन बनाए । कप्तान कोलिन मुनरो र रोस्टन चेसले १७–१७ रन बटुले ।

बंगला टाइगर्सका बलर अलि खानले दुई विकेट लिए । बंगला टाइगर्सविरुद्धको खेलमा रोहित पौडेल सहभागी थिएनन् । त्यसअघि पहिले ब्याटिङ गरेको बंगला टाइगर्सका लागि लागि डेबिड विसेले अविजित ३८ रन बनाएका थिए । उनले १७ बलमा तीन छक्का र तीन चौका पनि हिर्काए ।

ओपनर मोहम्मद वासिमले २७, कप्तान साकिब अल हसन र ओपनर रहमानुल्लाह गुर्बाजले २४–२४ रन बनाए । टोरोन्टोका बलर रोमारियो सेफर्ड र साद विन जाफरले दुई–दुई विकेट लिए । हालसम्म चार खेल खेलेको टोरन्टो नेशन्स चार अंकसहित तालिकाको दोस्रो स्थानमा आसीन छ ।

तीन खेलबाट चार अंक जोडेको बंगला टाइगर्स तेस्रो स्थानमा छ । तीन खेलबाट ६ अंक बटुलेको मोन्ट्रियल टाइगर्स तालिकाको पहिलो स्थानमा छ । ग्लोबल टी–२० क्यानडा लिगमा कुल ६ टोलीको सहभागिता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप